लुम्बिनीमा कोरोना वाट ज्यान गुमाएका परिवारलाई ३ बर्षपछि राहत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमण भई ज्यान गुमाएका परिवारलाई राहत रकम तीन वर्षपछि बाँकी रकम निकासा दिएको छ ।राहत दिन बाँकी रहेका दाङसहित प्रदेशका १२ जिल्लाका छ सय ३६ मृतकको परिवारलाई छ करोड ३६ लाख रुपैयाँ निकासा दिएको हो ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले कोरोना संक्रमित मृतकका परिवारलाई रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार लुम्बिनीका १२ जिल्लामा रकम निकासा दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

‘जिल्ला प्रशासन कार्यालयमा नजिकको हकदार खुल्ने सिफारिस, निवेदन, कोभिड–१९ पुष्टि गर्ने प्रयोगशालाको प्रतिवेदन, कोभिड–१९ का कारण मृत्यु भएको प्रमाण खुल्ने कागजपत्रसहित उपस्थित भएमा राहत रकम उपलब्ध हुन्छ’– डा. पौडेलले भन्नुभयो– ‘अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट राहत रकम उपलब्ध गराउने काम भइरहेको छ ।

कहिले कोषमा रकम नहुने, कहिले चुनाव हुने, कहिले सरकार परिवर्तन हुने कारणले रकम निकासा समयमा दिन सकिएन । अब हामीले रुपन्देही जिल्लामा मात्रै रकम पठाउन बाँकी छ । अन्य सबै ११ जिल्लामा राहत रकम गइसकेको छ ।’

सरकारले निर्णय गरे पनि बाँकी राहत रकम उपलब्ध हुन नसकेको अवस्थामा वर्तमान सरकारले प्राथमिकतामा राखेर रकम निकासा गरेको स्वास्थ्यमन्त्री विष्णु पन्थीले जानकारी दिनुभयो । ‘कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सरकारले राहत दिने भनेर निर्णय ग¥यो तर दिन सकिएको थिएन । हामीले सरकारको नेतृत्व गरेपछि रोकिएको राहत रकम उपलब्ध गराएका छौं’– स्वास्थ्यमन्त्री पन्थीले भन्नुभयो– ‘कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारमा थोरै भए पनि सरकारले मल्हम लगाउने काम गरेको हो ।’

लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण तीन हजार चार सय सातजनाको मृत्यु भएको सरकारी तथ्यांक छ । जसमध्ये अहिलेसम्म तीन हजार ७९ मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ । अब रुपन्देही जिल्लाका तीन सय २८ जनाको नाममा रकम निकासा गराउन बाँकी देखिन्छ ।

मंगलबार मात्रै स्वास्थ्य मन्त्रालयले रकम निकासा दिन अर्थमन्त्रालयमा पत्राचार गरिसकेको छ । लामो समयसम्म रकम निकासा नहुँदा कोरोना संक्रमित मृतकका परिवारका सदस्य स्थानीय तह र जिल्लामा धाउँदा–धाउदा थाकिसकेका थिए ।

तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले २०७७ साल जेठ २० गते कोरोना संक्रमणका कारण मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

सो निर्णयको आधारमा पहिलो चरणमा दुई हजार चार सय ४३ परिवारलाई रकम उपलब्ध गराइसकिएको थियो । दोस्रो चरणमा छ सय ६३ परिवारका सदस्यलाई छ करोड ३६ लाख रकम निकासा दिइएको हो । दाङ जिल्लामा एक सय २९ परिवारका लागि एक करोड २९ लाख रुपैयाँ निकासा भएको छ ।

त्यस्तै अर्घाखाँचीमा ४७ परिवारलाई ४७ लाख, कपिलवस्तुमा १९ परिवारलाई १९ लाख, गुल्मी जिल्लामा एक सय २६ परिवारको लागि एक करोड २६ लाख, नवलपरासी जिल्लामा ४७ परिवारलाई ४७ लाख, पाल्पामा ४० परिवारलाई ४० लाख, प्युठानमा ३२ परिवारलाई ३२ लाख, बर्दियामा ६२ परिवारलाई ६२ लाख, बाँकेमा ३९ परिवारलाई ३९ लाख, रुकुमपूर्वका दुई परिवारलाई दुई लाख, रुपन्देहीमा ७० परिवारलाई ७० लाख, रोल्पामा २३ परिवारलाई २३ लाख रुपैयाँ निकासा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरी पठाइसकिएको छ । कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लामा मानवीय क्षति भएको थियो । रुपन्देहीमा नौ सय ८६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । त्यसपछि दाङ जिल्लामा चार सय ११ जनाको ज्यान गएको अभिलेख प्रदेश सरकारले राखेको छ ।

यद्यपि मृतकको संख्या पाँच सय बढी छ । यस्तै अर्घाखाँचीमा एक सय ५४, कपिलवस्तुमा दुई सय २३, गुल्मीमा दुईसय ९३, नवलपरामी पश्चिममा दुई सय १०, पाल्पामा दुई सय ७९, प्युठानमा एक सय २५, बर्दियामा दुई सय ५५, बाँकेमा तीन सय ९१, रुकुम पूर्वमा १३, रोल्पामा ५६ जनाले ज्यान गुमाएको तथ्यांक प्रदेश सरकारसँग छ ।

यसअघि पहिलो चरणमा दाङमा दुई सय ८२ जनालाई एक लाखका दरले राहत रकम वितरण गरिएको थियो । अर्घाखाँचीमा एक सय सात, कपिलवस्तुमा दुई सय १५, गुल्मीमा एक सय ६७, नवलपरासी पश्चिम एक सय ६३, पाल्पा दुई सय ३९, प्युठानमा ९३, बर्दियामा एक सय ९३, बाँकेमा तीन सय ५२, रुकुमपूर्वमा ११, रुपन्देहीमा पाँच सय ८८, रोल्पामा ३३ गरी दुई हजार चार सय ४३ जनालाई राहत रकम वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :