नर्स र स्वास्थ्यकर्मीको आन्दोलनप्रति नेपाल विद्यार्थी संघको ऐक्यबद्धता

स्वास्थ्यसमाचार/ देशभर आन्दोलनरत सेवामूलक नर्स र स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा, श्रमको उचित सम्मान र तलब वृद्धि मागप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ऐक्यबद्धता जनाएको छ।

नेविसंघले  विज्ञप्ति जारी गर्दै नर्स तथा स्वास्थ्यकर्मीहरूले उठाएका माग न्यायोचित भएको बताउँदै सरकारलाई छिटो सम्बोधन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालका शिक्षित युवाहरू बेरोजगारी, न्यून पारिश्रमिक र असमानताका कारण विदेशिन बाध्य छन्। यस्तो अवस्थामा नर्स र स्वास्थ्यकर्मीहरूले उचित तलब, सम्मान र सुविधा माग्नु स्वाभाविक हो।”

संघका अध्यक्ष दुर्गा श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा हाल नर्सहरूको न्यूनतम पारिश्रमिक १७ हजार रुपैयाँ मात्र भएको उल्लेख गर्दै उक्त दर जीवनयापनका लागि अपुरो भएको उल्लेख छ। संघले स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरूको न्यूनतम तलब २५ हजारदेखि ३० हजार रुपैयाँ निर्धारण गर्न माग गरेको छ।

विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूको आन्दोलनप्रति सहानुभूति व्यक्त गर्दै नेविसंघले सरकारलाई स्वास्थ्य क्षेत्रका श्रमिकहरूको पेशागत सुरक्षा, जीवन बीमा र कार्यस्थलमा गरिमामय वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।

संघले नर्स तथा स्वास्थ्यकर्मीहरूको माग सम्बोधन नगरे सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी गर्ने चेतावनीसमेत दिएको छ।

 

 

सम्बन्धित शिर्षक :