पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा स्वास्थ्य मन्त्री सिफारिस, आजै सपथ ग्रहण हुने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा शर्मासहित थप तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीबाट मन्त्रीका लागि सिफारिस भएका चार जनाको सपथ साढे २ बजेलाई तय भएको छ।प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीमण्डल विस्तार गर्नका लागि राष्ट्रपतिकहाँ नाम सिफारिस गरेकी हुन्।

आइतबार थपिने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। यसअघि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको थियो।

डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व सचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।

उनी २०६२/०६३ को जनआन्दोलनमा अध्यक्ष भएकी हुन् उनी । उनले चिकित्सकलगायत प्रोफेसनलहरुको संस्था ‘पापड’को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी हुन्।

स्वास्थ्य सचिवका रुपमा उनले पूरा कार्यकाल बिताइनन् । तत्कालीन स्वास्थ्य मन्त्रीहरु उमाकान्त चौधरी र राजेन्द्र महतोको अनुचित हस्तक्षेपको विरोध गरिरहिन् । सचिवका रुपमा राजनीतिक नेतृत्वसँग लामो समय द्वन्द्व गर्न उचित नदेखेपछि राजीनामा गरेकी हुन्। उनले यी विषयमा ‘सिंहदरबारको घुम्ने मेच’नामक आफ्नो संस्मरणमा संघर्षहरु सविस्तार प्रस्तुत गरेकी छिन्।

सम्बन्धित शिर्षक :