स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेको छ । यो अत्याधुनिक स्वास्थ्य सेवा सुरु भएपछि मस्तिष्क आघात (ब्रेन स्ट्रोक), मस्तिष्क ट्युमर तथा विभिन्न स्नायु सम्बन्धी रोगहरूको उपचार र निदानमा नयाँ आयाम थपिएको छ ।
न्यूरो इन्टरभेन्सन भन्नाले मस्तिष्क, मेरुदण्ड तथा तिनसँग सम्बन्धित रक्तनलीहरूमा उत्पन्न हुने समस्याको औषधि र शल्यक्रिया बीचको आधुनिक उपचार पद्धति हो । यही प्रविधि प्रयोग गर्दै शनिबार न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वमा दुई बिरामीको एन्युरिज्म (रगतनली फुल्ने समस्या) सफलतापूर्वक उपचार गरिएको अस्पतालले जनाएको छ ।
डा. भण्डारीका अनुसार यो सफलता लुम्बिनी प्रादेशिक अस्पतालमा आधुनिक स्नायु उपचारको क्षेत्रमा ऐतिहासिक कदम हो । उपचारमा साथ र सहयोग प्रदान गर्ने डा. करुणा ताम्राकार, डा. स्मृति आचार्य, डा. सन्तोष भट्टराई, डा. मनिष पराजुली, नर्सिङ टोली, क्याथ ल्याब स्टाफ, आइसियू र एनेस्थेसिया टिम तथा अस्पताल प्रशासनलाई उनले धन्यवाद व्यक्त गरे ।
यो प्रविधि अन्तर्गत रगतको नलीमार्फत सुईजस्तो उपकरण प्रयोग गरी रोगग्रस्त भागसम्म पुगेर समस्या समाधान गरिन्छ । यस प्रविधिबाट मस्तिष्कको रक्तनली फुट्ने वा अवरुद्ध हुने, स्ट्रोक, क्यारोटिड आर्टरीमा ब्लकेज, इंट्राक्रानियल हेमोरेज, रगत आपूर्तिबाट निर्भर ट्युमरजस्ता जटिल समस्या प्रभावकारी रूपमा उपचार गर्न सकिने डा. भण्डारीले बताए ।
उनले थपे — “यस प्रविधिबाट फुट्न लागेको वा फुटेको रक्तनलीमा सानो धातुको तार राख्ने, अवरुद्ध धमनी खोल्ने, स्ट्रोकमा जमेको रगत निकाल्ने तथा असामान्य रक्तनली बन्द गर्ने कार्य सम्भव हुन्छ ।”
यो उपचार शल्यक्रियाको तुलनामा कम जोखिमपूर्ण, रक्तस्राव र संक्रमणको न्यून सम्भावना भएको र बिरामी छिटो निको हुने चिकित्सकहरूको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पताललाई विशिष्टिकृत सेवा केन्द्रको रूपमा विकास गर्ने क्रममा निरन्तर सफलता मिलिरहेको बताए । उनले भने, “हामीले नयाँ प्रविधिहरूको प्रयोग, जनशक्ति परिचालन र सेवा विस्तारमा प्राथमिकता दिइरहेका छौं । न्यूरो इन्टरभेन्सनको सफल सुरुवात यसै प्रयासको प्रतिफल हो ।”

प्रतिकया दिनुहोस्