खोप नलगाएकै कारण नेपालगञ्जमा दादुराको प्रकोप फैलिएको पुष्टि

त्रुटि खोज्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/ बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरमा गत साता खोप छुटेकै कारण दादुराको प्रकोप फैलियो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले आइतबारसम्म ७८ बालबालिकामा दादुराको संक्रमण पुष्टि भइसकेको जनाएको छ भने एक जनाको मृत्यु भएको छ ।

गत वर्ष पनि जाजरकोट र धादिङमा दादुराको संक्रमण पुष्टि भएको थियो । उसो त, सरकारले दादुराको खोपलाई नियमित खोपमै समावेश गर्दै आएको छ । दादुराको खोप ९ महिनामा पहिलो र १५ महिनाका बालबालिकालाई दोस्रो मात्रा दिइँदै आएको छ ।

सरकारले यो वर्षको अन्त्यसम्ममा दादुरालाई जनस्वास्थ्य समस्याका रूपमा नरहने गरी निवारण गर्ने लक्ष्य लिएको छ । तर, गत सातादेखि बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप फैलिएसँगै लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।

पछिल्ला विभिन्न समयमा देखिँदै आएको दादुराका कारण सन् २०२३ मा निवारण गरिने लक्ष्यमाथि चुनौती देखिएको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । उनले भने, ‘अहिलेकै स्थितिले लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिएको छ । सरकारले नियमित निःशुल्क खोप दिइरहेको छ । तर, खोप दिँदादिँदै पनि उपमहानगरपालिकामा रहेका वडामा छुटेर दादुरा फैलिनु चिन्ताको विषय बनेको छ ।’

तर, अहिले नेपालगञ्जमा देखिएको प्रकोपलाई विश्लेषण गरेपछि मात्र रोग फैलिनुको कारण र खोपको प्रभावबारे थाहा हुुने खोप शाखाका प्रमुख सागर दाहाल बताउँछन् । उनी भन्छन्, ‘दादुराका लागि रणनीति हामीले अपनाउँदै आइरहेको छौँ । अहिलेको प्रकोपलाई लिएर अब अर्को छलफल गरेर विश्लेषण गरेपछि मात्र भन्न सकिन्छ ।’

महाशाखाका अनुसार, बाँके जिल्लाले ‘पूर्ण खोप’ घोषणा गरिसकेको छ । बालबालिकालाई दिइने नियमित खोपहरू पूर्ण रूपमा लगाएको भन्दै देशका ७० जिल्लाले ‘पूर्ण खोप’ घोषणा गरिसकेका छन् । यो घोषणा प्रत्येक वर्षको वैशाख महिनामा हुनेगर्छ ।

बाँके जिल्लाले यो वर्ष पूर्ण खोपको घोषणा गरेको थियो । पूर्ण खोपको घोषणा गरेको जिल्लाको उपमहानगरपालिकामा दादुराको प्रकोप कसरी फैलियो भन्ने विषयमा अनुगमन तथा अनुसान्धान भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए । उनले भने, ‘पूर्ण खोप भनिए पनि दादुराको प्रकोप फैलिएसँगै कहाँ त्रुटि भयो भनेर हामीले अनुगमन तथा अनुसन्धान सुरु गरिसकेका छौँ ।’

पूर्ण खोप घोषणा कसरी गरिन्छ ?

सरकारले खोप लगाउनबाट कुनै बालबालिका छुटेको छ या छैन भन्ने कुरा अनुसन्धान गर्न हरेक वर्ष वैशाख महिनामा ‘पूर्ण खोप’ घोषणा गर्ने कार्यक्रम गर्दै आएको छ । जसका लागि प्रत्येक वडाले घरघरमा स्वयम्‌सेवीकाहरू खटाउँछन् । उक्त वडामा खोप लगाउन बाँकी भए नभएको उनीहरूले तथ्याङ्क संकलन गर्छन् । तथ्याङ्क वडालाई दिन्छन् ।

वडाले आफ्नो वडा पूर्ण खोप भएको घोषणा गर्दै स्थानीय सरकारलाई जानकारी गराउँछ । समग्र तथ्याङ्क पाएपछि स्थानीय तहले पूूर्ण खोप घोषणा गर्दै जिल्लालाई जनकारी गराउने डा। विवेकले बताए । उनले भने, ‘जिल्लाको समन्वय समितिले त्यही तथ्याङ्कको आधारमा पूर्ण खोपको घोषणा गर्छ । हरेक वर्ष जन्मिएका बच्चाहरू छुटेका हुन सक्छन् भन्ने हिसाबले यो प्रत्येक वर्ष गरिन्छ ।’

यो नियमित प्रक्रियाअन्तर्गत पर्ने भएका कारण खोप छुटेको छ वा छैन भन्ने तथ्याङ्कसहित आउने गरेको उनी बताउँछन् । ‘खोप आधारभूत स्वास्थ्यभित्रै पर्छ । हामी स्थानीय तहलाई खोप पनि दिन्छौँ, बजेट पनि दिन्छौँ, तालिम पनि दिन्छौँ । उहाँहरूलाई अन्य प्रविधिक सहयोग पनि दिन्छौँ ।

उहाँहरूले आफ्नो जिम्मवारीभित्रको खोप लगाउनुपर्ने हुन्छ’, उनले भने,‘वडा, स्थानीय तह हुँदै जिल्लासम्म तथ्याङ्क पुुगेपछि मात्र पूर्ण खोप घोषणा गर्ने भन्ने छ । यो प्रक्रियाका लागि बजेट निर्देशिकासहित कार्यक्रम नियमित रूपमै छ । यो रहँदारहँदै पनि छुट्न गएको हो भने यो गम्भीर लापरबाही हो ।’

हालसम्म दादुराको संक्रमण पुष्टि भएका ७८ बालबालिका नमुना मात्र हुनसक्ने उल्लेख गर्दै डा। विवेक अन्य बालबालिकालाई समेत परीक्षण गर्दा यो संख्या बढ्न सक्ने बताउँछन् । सरुवा रोगमध्ये सबैभन्दा संक्रामक मानिन्छ, दादुरा । यो रोग एक जनाबाट १८ जनासम्ममा सर्न सक्ने विज्ञहरूले बताएका छन् ।

समयमै यसको उपचार नहुँदा अरु जटिलतासँगै बालबालिकाको मृत्युसमेत हुन्छ । त्यसले सरकारले यसलाई नियमित खोपका रूपमा सञ्चालन गर्दै आइरहेको उनले बताए ।

नेपालगञ्जमा खोप अभियान

नेपालगञ्जमा फैलिएको दादुरा नियन्त्रणका लागि सरकारले अहिले दादुराविरुद्धको खोप दिन सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुुसार, आइतबारसम्म १ हजार ७ सय २० जना ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइएको छ ।

दादुरा नियन्त्रणका लागि केन्द्रबाट गएको बालरोग विशेषज्ञसहितको टोलीसँगै स्थानीय सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफलगायतले पनि काम गरिरहेका छन् । खोप शाखाका प्रमुख दाहालका अनुसार, जसलाई दादुरा देखिएको छ, उनीहरूलाई लक्षण अनुसार उपचार भइरहेको छ भने ६ महिनादेखि १५ वर्षमुनिका सबैलाई समेट्ने गरी दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।

कहिले देखियो नेपालगञ्जमा ?

१३ पुसमा उपमहानगरपालिकाको वडा नम्बर ५ मा पहिलो केस पुष्टि भएको थियो । त्यसपछि स्वास्थ्य टोली उक्त स्थानमा पुगेको थियो । दादुराको लक्षण देखिएका १२(१५ बालबालिकामध्ये ५ जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरियो । परीक्षण गरिएकामध्ये एकै घरका ४ जनामा दादुरा पुष्टि भएको दाहालले बताए ।

उनले भने, ‘सरकारले खोजबिन सुरु गर्‍यो । खोपबाट जोगाउने खालको कुनै पनि महामारी भयो भने हाम्रो ‘एप्रोच’ लक्षण देखिएका बालबालिकाले खोप लगाएका थिए या थिएनन् भनेर हेर्ने हो । नेपालगञ्जको केसमा धेरै बच्चाहरूले खोप नलगाएको देखियो ।’

परिवार कल्याण महाशाखाका अनुसार, संक्रमण पुष्टि भएका २९ जनामध्ये २५ जनाले खोप नलगाएको पाइएको छ । हालसम्म उपमहानगरपालिकाका वडा नम्बर १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ वडा गरी ७६ जना संक्रमित फेला परेका छन् भने खजुरामा दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगञ्जमा ७८ जनामा दादुरा पुष्टि भएको हो ।

प्रकोप देखिएका वडाहरूमा लगाउन सुरु गरिएको खोप विस्तार गर्दै जोखिम क्षेत्रमा लगाइने डा। विवेकले बताए ।
उपमहानगरपालिकाका २३ वटा वडाका ६ महिनादेखि १५ वर्षमुनिका ११ हजार बालबालिकालाई खोप लगाइने मेयर विष्टले बताए । उनले भने, ‘पूर्ण खोपका लागि खोप लगाएका र नलगाएका ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिन सुरु गरेका छौँ ।’

के हो दादुुरा ?

दादुरा एउटा ‘भाइरल इन्पेक्सन’ ९संक्रामक रोग० हो । यो मिजल्स भाइरस हुने दादुरा रोग श्वासप्रश्वासको माध्यमबाट सर्छ । यो बालबालिकाहरूमा धेरै देखिने गरे पनि वयस्कहरूमा समेत देखिने गरेको सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए ।

उनले भने, ‘संक्रमण देखिएका ५ वर्षमुनिका र ३० वर्षमाथिका व्यक्तिमा यसले जटिलता निम्त्याउन सक्छ ।’ तर, ६ देखि ९ महिनासम्मका बालबालिकामा भने आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमताका कारण उनीहरूमा दादुरा नदेखिने जानकारहरू बताउँछन् ।

दादुराका लक्षण

दादुराको इन्क्यूवेसन पिरेड ९शरीरमा भाइरस प्रवेश गरेपछि रोग देखा पर्ने अवधि० ७ देखि १४ दिन हुने डा। विवेकले बताए । त्यस्तै, दादुरा भएका व्यक्तिमा ज्वरो आउने, खोकी लाग्ने, आँखा रसाएको जस्तो रातो देखिने, गालाको भित्री भागमा सेतो थोपा देखा पर्ने गरेको डा पुनले बताए ।

उनले भने, ‘यतिन्जेल धेरैलाई दादुरा भएको थाहा हुँदैन । जब शरीरभरी स(साना विविराहरू देखा पर्न थाल्छन्, त्यसपछि मात्र दादुरा भनेर थाहा हुन्छ ।’ यीबाहेक निमोनिया हुने मस्तिष्कमा सुनिनेजस्ता जटिल समस्याहरू देखिन सक्ने उनले बताए ।

जोगिन के गर्ने ?

चिकित्सकहरूका अनुसार, दादुराबाट जोगिनुको विकल्प भनेकै खोप हो । त्योबाहेक हाछ्युँ गर्दा र खोक्दा नाक, मुख सफा रुमालले छोप्नुपर्छ। योसँगै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने डा। पुन बताउँछन् । उनले भने, ‘भिडभाड भएका ठाउँमा सकेसम्म नजाने, स्कुल जानुपरे विशेष सावधानी अपनाउनुर्छ । प्रकोप फैलिएको अवस्थामा सकेसम्म घरबाहिर ननिस्किनु नै उत्तम हुन्छ ।’

दादुरा देखिएपछि बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । त्यसैले उनीहरूलाई ‘भिटामिन ए’ दिनुपर्छ । ‘भिटामिन ए’ यसको महत्त्वपूर्ण उपचार मानिन्छ । यो दुई मात्रा दिइन्छ । योसँगै बच्चाहरूलाई छुट्टै राखेर हेरचाह गर्न सकिन्छ । प्रतिभा चन्दले शिलापत्रमा लेखेकि छन ।

सम्बन्धित शिर्षक :