पोखरा यतिको विमान दुर्घटना: तीन चिकित्सक सहित ६८ यात्रुको मृत्यु

स्वास्थ्यसमाचार/ पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा डा सुशील श्रेष्ठका दम्पतीले ज्यान गुमाएका छन्। दुर्घटनामा परेका डा श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकरको शव सनाखत भएको छ।

उनीहरुसँगै दश महिने छोराको पनि विमान दुर्घटनामा मृत्यु भएको छ। परिवारका तर्फबाट उनका भिनाजु दिपेन्द्रमान श्रेष्ठले सनाखत गरेका छन्।न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए।

पोखरा स्थायी घर भएका डा श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्। उनी पोखराको गण्डकी बोर्डिङ स्कुल पढेका हुन्। उनकी श्रीमती डा सोना एमडीको तयारीमा थिइन्।राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा श्रेष्ठ र उनकी श्रीमती डा सोना नाबालक छोरासहित काठमाडौंबाट छुट्टी मनाउन पोखरा घर जाने क्रममा विमान दुर्घटनामा परेका हुन्।

विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ। पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा सुशील श्रेष्ठ, डा सोना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन्।

यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ।पोखरामा भएको विमान दुर्घटनामा अर्का एक चिकित्सकले पनि ज्यान गुमाएका छन्। गोरखा वेयलफेयर स्किम पोखरामा कार्यरत डा गणेश थापाको पनि यती एयरलाइन्सको विमान दुर्घटनामा आईतबार मृत्यु भएको हो।

ललितपुरको पाटन अस्पतालमा कार्यरत श्रीमतीलाई भेटेर आफ्नो कार्यक्षेत्र पोखरा फर्किने क्रममा डा थापाको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको उनका काका अजय सिंह थापाले जानकारी दिए।डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए। उनले अस्ट्रेलियाबाट एमपिएच अध्ययन पूरा गरेका थिए।

पोखरामा काम गर्नुअघि उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका थिए।डा गणेशको शव सनाखत भइसकेको उनका काका डा अजयसिंह थापाले जानकारी दिए। उनीसँगै उक्त दुर्घटनामा तीन जना चिकित्सकको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा डा सुशिल श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकरको मृत्यु भएको छ।सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ।

सम्बन्धित शिर्षक :