आयुर्वेद औषधि व्यवसायी संघद्वारा बाढीपीडितलाई २ लाख सहयोग

स्वास्थ्यमन्त्री निशा मेहतासँग भेट, व्यवसायीका समस्या समाधानबारे छलफल

काठमाडौं । नेपाल आयुर्वेद औषधि व्यवसायी संघले भोटेकोशीका बाढी प्रभावित समुदायका लागि २ लाख ५ हजार ८ सय ९२ रुपैयाँ राहत सहयोग गरेको छ। संघले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग भेट गरी राहत रकमको चेक हस्तान्तरण गरेको हो।

भेटका क्रममा आयुर्वेद औषधि व्यवसायीका विभिन्न महत्त्वपूर्ण विषय, समस्या र समाधानका उपायबारे छलफल भएको संघले जनाएको छ। संघले देशभरका आयुर्वेद औषधि व्यवसायीबाट सङ्कलन गरेको रकम बाढी प्रभावित समुदायको राहतका लागि उपलब्ध गराएको हो।

भेटमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डे, संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकी, महासचिव लेखनाथ भुसाल, पूर्वअध्यक्ष सुरेश थापा र लोकेन्द्र चापागाईं तथा बागमती प्रदेश अध्यक्ष सन्तोष ढुंगेल सहभागी थिए। भेटघाट तथा छलफलको समन्वय वरिष्ठ आयुर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले गरेका थिए।

यसअघि पनि संघले बाढी प्रभावित समुदायलाई सहयोग गरेको थियो। नेपाल आयुर्वेद औषधि उत्पादक संघ र नेपाल आयुर्वेद चिकित्सक संघसँगको सहकार्यमा दुई चरणमा नुवाकोट र धादिङका बाढी प्रभावित समुदायका लागि करिब २५ लाख रुपैयाँ बराबरका आयुर्वेद औषधि हस्तान्तरण गरिएको संघले जनाएको छ।

विपद् प्रभावितलाई नगद राहत तथा औषधि सहयोग गर्दै आएको संघले आयुर्वेद औषधि व्यवसायको विकास र व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य र छलफललाई समेत अघि बढाएको छ।

सम्बन्धित शिर्षक :