औषधिद्वारा सुरक्षित गर्भपतन सेवाका लागि पाँच नर्सलाई तालिम

स्वास्थ्यसमाचार/ औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पाँच जना नर्सिङ कर्मचारीलाई पाँचदिने तालिम प्रदान गरिएको छ।

स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी राप्ती उपत्यका दाङको आयोजनामा तथा आईपासको सहयोगमा सञ्चालित तालिममा औषधिद्वारा गरिने गर्भपतनको प्रक्रिया, सुरक्षित सेवा प्रदान गर्ने विधि, कानुनी व्यवस्था र सेवाग्राहीलाई दिनुपर्ने परामर्शका विषयमा प्रशिक्षण दिइएको हो।

तालिममा परिवार नियोजन संघ बुटवल शाखाकी प्रमुख सुष्मा श्रेष्ठ र नर्सिङ अधिकृत पदमा श्रेष्ठले सहजीकरण गरेका थिए। उनीहरूले सुरक्षित गर्भपतन सेवासम्बन्धी ज्ञान, व्यावहारिक सीप तथा स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता विकासका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत विवस राना र लेखा प्रमुख उपज ज्ञवालीले पनि मन्तव्य राखेका थिए। उनीहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवन कुँवरले सुरक्षित गर्भपतनको कानुनी आधार र लुम्बिनी प्रदेशमा सेवाको अवस्थाबारे चर्चा गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई कार्यक्षेत्रमा उपयोग गर्न सहभागीलाई निर्देशन दिएका थिए।

उनले सुरक्षित गर्भपतन सेवा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट लिनुपर्ने सन्देश समुदायसम्म पु¥याउन र सेवाग्राहीलाई सही सूचना तथा आवश्यक परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिए।

कुबरले सुरक्षित गर्भपतन सेवा प्रदान गर्दा निर्धारित स्वास्थ्य मापदण्ड पालना गर्नु, सेवाग्राहीको गोपनीयता कायम राख्नु तथा आवश्यक परामर्श र सेवा पछिको हेरचाह उपलब्ध गराउनु यो तालिम महत्वपुर्ण रहेको समेत बताए ।

उनले लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८२-८३ मा सुरक्षित गर्भपतन सेवा लिने कुल संख्या २१ ह्जार,४सय २७ रहेको समेत बताए।

 

 

 

सम्बन्धित शिर्षक :