आयुर्वेद सेवाको विकास सरकारको प्राथमिकतामा : स्वास्थ्य मन्त्री घिमिरे

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले आयुर्वेद स्वास्थ्य विज्ञानको महत्वपूर्ण क्षेत्र भएकाले यसको विकास र प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेकाे बताएका छन ।

नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनीकाे प्रथम अधिवेशनलाई दाङकाे लमहीमा शनिबार सम्बोधन गर्दै मन्त्री घिमिरेले आयुर्वेद उपचार पद्धतिलाई व्यवस्थित बनाउँदै यसको सेवा विस्तारमा सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

उनले स्वस्थ जीवनका लागि योग, ध्यान र आयुर्वेदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आयुर्वेदलाई नविनतम स्वास्थ्य सेवासँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे ।`आयुर्वेद स्वास्थ्य विज्ञानको महत्वपूर्ण आधार हो´उनले भने-`यस क्षेत्रका समस्या समाधान गर्दै सेवा प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गर्नेछ ।´

मन्त्री घिमिरेले आयुर्वेद सेवाको पहुँच विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र संस्थागत विकासका लागि सरकार सकारात्मक रहेको बताए । आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो आकर्षणलाई व्यवस्थित गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउन राज्य र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनकाे भनाइ थियो ।

उनले आयुर्वेदका नाममा हुने गलत प्रचार, भ्रम र दुरुपयोग नियन्त्रण गर्दै नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा समेत जोड दिए ।

नेपाल आयुर्वेद चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. शंकर गौतमले आधारभूत अस्पतालहरूमा समेत आयुर्वेद सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । आयुर्वेदका नाममा हुने भ्रमपूर्ण प्रचार, ठगी र दुरुपयोग रोक्न गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिँदै उहाँले गुणस्तरीय आयुर्वेद सेवाका लागि नियमन र व्यवस्थापन आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले आयुर्वेद वैकल्पिक उपचार प्रणालीको महत्वपूर्ण अंग भएको बताइन । उनले आयुर्वेद सेवाको प्रवर्द्धनका लागि सरकार, चिकित्सक र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखिन । अधिवेशनको अध्यक्षता लुम्बिनी प्रदेश आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. कैलास न्यौपानेले गरेका थिए ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदन बिसीले स्वागत गरेकाे कार्यक्रममा आयुर्वेद सेवाको विस्तार, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन, संस्थागत विकास र गुणस्तरीय सेवा प्रवाहका विषयमा छलफल गरिएको छ ।

 

सम्बन्धित शिर्षक :