स्वच्छ हात, सुरक्षित नवजात -संक्रमणमुक्त (NICU)को आधार

नवजात शिशुको जीवन अत्यन्त संवेदनशील हुन्छ। विशेषगरी समय नपुगी जन्मिएका, कम तौल भएका तथा विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका शिशुमा संक्रमणको जोखिम बढी हुन्छ।

नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा भर्ना भएका शिशुको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित नभइसकेको हुन सक्छ। त्यसैले सामान्य जीवाणुले समेत गम्भीर संक्रमण गराउन सक्छ।

यस्ता शिशुलाई सुरक्षित राख्न उपचार, हेरचाह र सरसफाइसँगै हातको स्वच्छता अत्यन्त महत्त्वपूर्ण हुन्छ। स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सहयोगी कर्मचारी तथा शिशुलाई भेट्न आउने अभिभावकले सही समयमा हात सफा गर्ने बानी अपनाएमा संक्रमण फैलिने जोखिम घटाउन सकिन्छ।
हातको स्वच्छता किन आवश्यक छ?

हात विभिन्न व्यक्ति, उपकरण र सतहको सम्पर्कमा आउने भएकाले त्यसमा आँखाले नदेखिने सूक्ष्म जीवाणु हुन सक्छन्। एनआईसीयूमा प्रयोग हुने वार्मर, मनिटर, ओछ्यान तथा उपचारका उपकरणबाट पनि हातमा जीवाणु सर्न सक्छन्। हात सफा नगरी शिशुलाई छुँदा वा उपचार प्रक्रिया सञ्चालन गर्दा ती जीवाणु शिशुको शरीरमा प्रवेश गर्न सक्छन्।

विशेषगरी कम तौल भएका र समय नपुगी जन्मिएका शिशु संक्रमणप्रति बढी संवेदनशील हुन्छन्। संक्रमणका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्ने, उपचार अवधि लम्बिने र ज्यानसमेत जोखिममा पर्ने सम्भावना हुन्छ। त्यसैले हातको स्वच्छता व्यक्तिगत सरसफाइ मात्र नभई नवजात शिशुको जीवन रक्षासँग जोडिएको महत्त्वपूर्ण अभ्यास हो।

हातको स्वच्छता कायम गर्नुपर्ने पाँच महत्त्वपूर्ण समय

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले स्वास्थ्य सेवामा हातको स्वच्छता कायम गर्न पाँच महत्त्वपूर्ण समय सिफारिस गरेको छ।
१. शिशुलाई छुनुअघि: शिशुलाई उठाउन, समात्न, जाँच गर्न वा सामान्य हेरचाह गर्नुअघि हात सफा गर्नुपर्छ।

२. सफा वा संक्रमणरहित प्रक्रिया गर्नुअघि: औषधि दिने, नशामा क्यानुला राख्ने, नाभीको हेरचाह गर्ने वा अन्य उपचार प्रक्रिया सञ्चालन गर्नुअघि हातको स्वच्छता कायम गर्नुपर्छ।

३. शरीरका तरल पदार्थसँग सम्पर्क हुने जोखिमपछि: पिसाब, दिसा, रगत वा अन्य शारीरिक स्रावसँग सम्पर्क भएपछि हात सफा गर्नुपर्छ। पञ्जा लगाएको भए पनि फुकालेपछि हातको स्वच्छता आवश्यक हुन्छ।

४. शिशुलाई छोएपछि: शिशुको जाँच, औषधि दिने वा अन्य हेरचाह गरेपछि हात सफा गर्नुपर्छ। एउटा शिशुको हेरचाहपछि अर्को शिशुको नजिक जानुअघि हात सफा गर्नु विशेष महत्त्वपूर्ण हुन्छ।

५. शिशुको वरिपरिको वातावरण छोएपछि: शिशुलाई प्रत्यक्ष नछोए पनि वार्मर, ओछ्यान, मनिटर तथा नजिकका उपकरण छोएपछि हातको स्वच्छता कायम गर्नुपर्छ।

हात सफा गर्ने सही तरिका

हातको स्वच्छता कायम गर्न अल्कोहलमा आधारित हात सफा गर्ने द्रव्य वा साबुनपानी प्रयोग गर्न सकिन्छ। हात स्पष्ट रूपमा फोहोर नभएको अवस्थामा उपयुक्त अल्कोहलमा आधारित ह्यान्ड रब प्रयोग गर्न सकिन्छ। दुवै हातका हत्केला, हातको पछाडिको भाग, औँलाबीच, औँलाका टुप्पा, बूढीऔँला र नङ वरिपरिको भागमा अल्कोहल ह्यान्ड रब ह्यान्ड  लगाएर हात सुक्दासम्म मिच्नुपर्छ।

यसका लागि सामान्यतया २० देखि ३० सेकेन्ड लाग्छ।हात देखिने गरी फोहोर भएको वा रगत तथा अन्य जैविक पदार्थ लागेको अवस्थामा साबुन र सफा बग्ने पानीले हात धुनुपर्छ। यस प्रक्रियामा सामान्यतया ४० देखि ६० सेकेन्ड लाग्छ। हातको कुनै भाग छुट्न नदिन विशेष ध्यान दिनुपर्छ।

पञ्जा र व्यक्तिगत सरसफाइमा ध्यान
पञ्जा लगाउनु हातको स्वच्छताको विकल्प होइन। पञ्जा च्यातिन, दूषित हुन वा फुकाल्ने क्रममा हातमा जीवाणु सर्न सक्छन्। त्यसैले आवश्यक तानुसार पञ्जा लगाउनुअघि र फुकालेपछि हात सफा गर्नुपर्छ। एउटै पञ्जा प्रयोग गरेर विभिन्न शिशुको हेरचाह गर्नु हुँदैन।

एनआईसीयूमा कार्यरत स्वास्थ्यकर्मीले नङ छोटो र सफा राख्नुपर्छ। कृत्रिम नङ प्रयोग नगर्ने तथा हात र नाडीमा गहना नलगाउनेसम्बन्धी संस्थागत नियम पालना गर्नुपर्छ। हातको छालामा घाउ वा चिरा भएमा उचित हेरचाह गर्नु पनि आवश्यक हुन्छ।

अभिभावक र स्वास्थ्य संस्थाको भूमिका
एनआईसीयूमा आउने अभिभावक तथा अन्य व्यक्तिले पनि शिशुलाई छुनुअघि हात सफा गर्नुपर्छ र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नुपर्छ। रुघाखोकी, ज्वरो वा अन्य संक्रमणका लक्षण देखिएमा शिशुको नजिक जानुअघि स्वास्थ्य संस्थासँग परामर्श लिनुपर्छ।

स्वास्थ्य संस्थाले हात धुने स्थानमा साबुन, सफा पानी र आवश्यकताअनुसार हात सफा गर्ने द्रव्य उपलब्ध गराउनुपर्छ। स्वास्थ्यकर्मीलाई नियमित तालिम दिने, हातको स्वच्छतासम्बन्धी अभ्यासको अनुगमन गर्ने र संक्रमण नियन्त्रणका नियम पालना गराउने व्यवस्था पनि आवश्यक छ।

निष्कर्ष
एनआईसीयूमा हातको स्वच्छता कायम गर्नु सामान्य सरसफाइ मात्र नभई नवजात शिशुको जीवन रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी हो। सही समयमा सही तरिकाले हात सफा गर्ने बानीले संक्रमणको जोखिम घटाउन र उपचारको गुणस्तर सुधार गर्न मद्दत गर्छ।

स्वच्छ हात, सुरक्षित नवजात र संक्रमणमुक्त एनआईसीयू निर्माणका लागि स्वास्थ्यकर्मी, अभिभावक र स्वास्थ्य संस्थाको साझा प्रतिबद्धता आवश्यक छ।लेखक पौडेल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत हुनुहन्छ।

सम्बन्धित शिर्षक :