मानव समाज, आधुनिक जीवनशैली र अबको स्वास्थ्य पत्रकारिताको दिशा

मानव जीवनको विभिन्न आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको मध्येको एक महत्त्वपूर्ण विषय हो-‘स्वास्थ्य’ ।

व्यक्तिकोशारीरिक, मानसिक तथा सामाजिक अवस्थादेखि परिवार, समाज, अर्थतन्त्र, उत्पादनशीलता र समग्र राष्ट्रको विकाससम्म स्वास्थ्यकोप्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहने गर्दछ । त्यसैले पनि स्वास्थ्यसम्बन्धी सूचना सामान्य सूचना मात्र होइन ।

यसले मानिसको जीवन, स्वास्थ्य व्यवहार र निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्ने संवेदनशील सार्वजनिक सरोकारको विषय समेत हो । यही कारण स्वास्थ्यसम्बन्धी सूचना कसरी उत्पादन, परीक्षण, व्याख्या र सम्प्रेषण गरिन्छ भन्ने प्रश्न आजको पत्रकारिता क्षेत्रमा झन् गहन रमहत्त्वपूर्ण बन्दै गएको छ ।

‘स्वास्थ्य’ मानव जीवनसँग प्रत्यक्ष जोडिएको सबैभन्दा संवेदनशील विषयमध्ये एक हो । व्यक्तिको स्वास्थ्य केवल उसको व्यक्तिगतविषय मात्र होइन; यसको प्रत्यक्ष सम्बन्ध परिवार, समुदाय, समाज हुँदै समग्र राष्ट्रसँग जोडिएको हुन्छ ।

कुनै संक्रामक रोग वामहामारीले सीमाना नाघेर विश्वव्यापी प्रभाव पार्न सक्ने भएकाले स्वास्थ्य क्षेत्रको महत्व अझ व्यापक छ । स्वस्थ नागरिकबिना स्वस्थसमाज र समुन्नत राष्ट्रको परिकल्पना गर्न सकिँदैन ।

त्यसैले स्वास्थ्यसँग सम्बन्धित सूचना, नीति, सेवा, उपचार र जनचेतनालाई सही, विश्वसनीय र जिम्मेवार ढंगले नागरिकसमक्ष पुर्‍याउनु अत्यन्त आवश्यक हुन्छ । यही आवश्यकतालाई पूरा गर्ने महत्वपूर्ण माध्यम हो-स्वास्थ्य पत्रकारिता ।

को हुन् स्वास्थ्य पत्रकार ?

स्वास्थ्य, चिकित्सा, जनस्वास्थ्य, रोग, उपचार, औषधि, स्वास्थ्य नीति तथा नागरिकको स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयमाअध्ययन, अनुसन्धान र विश्लेषण गरी सत्य, तथ्यपरक र उपयोगी सूचना जनसमक्ष पुर्‍याउने पत्रकारलाई सामान्य अर्थमा स्वास्थ्यपत्रकार भन्न सकिन्छ ।

स्वास्थ्य पत्रकारको जिम्मेवारी केवल स्वास्थ्यसम्बन्धी समाचार लेख्नुमा सीमित हुँदैन । उनीहरूले स्वास्थ्य सेवामा नागरिकको पहुँच, स्वास्थ्य संस्थाको अवस्था, सरकारी नीति तथा कार्यक्रम, औषधिको उपलब्धता र प्रयोग, रोगको रोकथाम, स्वास्थ्य सेवाको गुणस्तरतथा नागरिकका स्वास्थ्य अधिकारजस्ता विषयमा प्रश्न उठाउने, सूचना खोज्ने र सम्बन्धित पक्षलाई जवाफदेही बनाउन सहयोग गर्नेभूमिका निर्वाह गर्छन् ।

आजको युग अनि विश्वसनीय र गलत सूचनाबीचको भिन्नता

आजको यस युगमा सूचना प्रविधिको तीव्र विकाससँगै नागरिकले स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने माध्यम र स्रोतहरूमा व्यापकविस्तार भएको छ । परम्परागत पत्रपत्रिका, रेडियो र टेलिभिजनसँगै वेबसाइट, सामाजिक सञ्जाल, भिडियो प्लेटफर्म, ब्लग तथाविभिन्न डिजिटल माध्यमहरू स्वास्थ्य सूचनाका महत्त्वपूर्ण स्रोत बनेका छन् ।

जसले गर्दा एकातर्फ स्वास्थ्यसम्बन्धी ज्ञान र स्रोतमा पहुँचबढाएको छ भने अर्कोतर्फ अपुष्ट दाबी, भ्रामक सूचना, अतिरञ्जित उपचारका प्रचार र ‘चमत्कारी उपचार’ जस्ता सामग्री पनि तीव्रगतिमा फैलिने अवस्था सिर्जना गरेको छ ।

यस्तो परिवेशमा स्वास्थ्य पत्रकारिताको भूमिका समाचार प्रकाशनमा मात्र सीमित नरहीविश्वसनीय सूचना र गलत सूचनाबीचको भिन्नता छुट्याउने सार्वजनिक जिम्मेवारी समेत थपिन पुगेको छ ।

पत्रकारिताको मूल्य केवल समाचार कति छिटो प्रकाशित भयो भन्नेमा मात्र सीमित छैन

पत्रकारिता मूलतः सार्वजनिक महत्त्वका विषयमा सूचना सङ्कलन, व्याख्या र सम्प्रेषण गर्ने व्यावसायिक अभ्यास हो । तर यसकोसामाजिक भूमिका सूचना प्रवाहमा मात्र सीमित रहदैन । पत्रकारिताले नागरिकलाई सुसूचित बनाउने काममा मात्र सीमित रहदैन ।

यसको साथै सार्वजनिक संस्थालाई प्रश्न गर्ने, समस्यालाई सार्वजनिक रूपमा बहसमा ल्याउने र सत्तासहित विभिन्न संस्थालाईजवाफदेही बनाउने काम पनि गर्छ । यस दृष्टिले पत्रकारिता समाजले आफू वरिपरिको वास्तविकता बुझ्ने महत्त्वपूर्ण माध्यम हो ।

त्यसैलेपत्रकारिताको मूल्य केवल समाचार कति छिटो प्रकाशित भयो भन्नेमा होइन, त्यसमा समेटिएको सूचना कति सत्य, सन्तुलित, प्रमाणमाआधारित, सान्दर्भिक र जिम्मेवार छ भन्ने कुरामा समेत निर्भर रहन्छ ।

स्वास्थ्य पत्रकारितामा यो जिम्मेवारी अझ संवेदनशील हुन्छ। रोग, औषधि, उपचार, महामारी, स्वास्थ्य नीति, स्वास्थ्य सेवा, अनुसन्धान, पोषण वा स्वास्थ्य अधिकारसम्बन्धी समाचारले पाठकको धारणा मात्र निर्माण गर्दैन ।

यसले उपचार खोज्ने, औषधि प्रयोग गर्ने, स्वास्थ्यसंस्थामा जाने वा कुनै उपचारप्रति विश्वास गर्ने निर्णयलाई समेत प्रभावित गर्न सक्छ । त्यसैले स्वास्थ्यसम्बन्धी समाचारमा सामान्यसमाचार लेखनका मापदण्डसँगै वैज्ञानिक प्रमाण, हुनसक्ने जोखिम, लाभ, सीमितता, लागत, विकल्प र स्वार्थको सम्भावित प्रभावसमेतबुझेर प्रस्तुत गर्नुपर्ने आवश्यकता रहन्छ ।

विशेषतः चिकित्सा विज्ञान प्रमाणमा आधारित र निरन्तर परिवर्तनशील क्षेत्र भएकाले स्वास्थ्य पत्रकारले ‘कसैले भनेको कुरा’लाई मात्रसमाचारको अन्तिम सत्यका रूपमा प्रस्तुत गर्नु पर्याप्त नहुन सक्छ ।

कुनै नयाँ औषधि, उपचार विधि वा अनुसन्धानसम्बन्धी दाबी आएकोअवस्थामा त्यसको स्रोत, अध्ययनको प्रकृति, नमुना आकार, प्रमाणको स्तर, त्यसबाट पर्न सक्ने सम्भावित लाभ र जोखिम तथाअनुसन्धानमा रहेको आर्थिक वा संस्थागत स्वार्थबारे प्रश्न गर्न आवश्यक हुन्छ ।

यस सन्दर्भमा स्वास्थ्य पत्रकारितामा स्थापित केहीअभ्यासहरूले उपचारका लाभसँगै हानि, लागत, प्रमाणको गुणस्तर, उपलब्ध विकल्प र वास्तविक नवीनतालाई पनि समाचारमासमेट्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।

स्वास्थ्य पत्रकारिता केवल ‘स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारिता’ मात्र होइन !

स्वास्थ्य पत्रकारिता केवल ‘स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारिता’ मात्र होइन । यो विज्ञान र समाजबीचको जटिल सम्बन्धलाईसरल, स्पष्ट र जिम्मेवार भाषामा व्याख्या गर्ने पत्रकारिता पनि हो भनेर बुझ्नु जरूरी छ ।

वैज्ञानिक अनुसन्धानका जटिल तथ्यलाई आमपाठकले बुझ्ने भाषामा प्रस्तुत गर्नु पत्रकारको महत्त्वपूर्ण सीप हो । तर सरल बनाउने क्रममा तथ्यको अर्थ परिवर्तन हुनुभने हुदैन । त्यस्तैजोखिम लुकाउने वा अनुसन्धानको निष्कर्षलाई बढाइचढाइ नहोस् भन्ने जस्ता सावधानी उत्तिकै आवश्यक हुन्छ ।

स्वास्थ्य पत्रकारिताको अर्को महत्वपूर्ण पक्ष हो—सार्वजनिक उत्तरदायित्व । स्वास्थ्य सेवा, औषधि उपलब्धता, स्वास्थ्य बजेट, अस्पतालको अवस्था, स्वास्थ्य नीतिको कार्यान्वयन, स्वास्थ्य अधिकार र जनस्वास्थ्यका समस्याबारे पत्रकारले प्रश्न उठाउन सक्छ ।

यस अर्थमा स्वास्थ्य पत्रकार केवल सूचना सम्प्रेषक मात्र होइन, यो सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषयमा तथ्य खोज्ने र सम्बन्धितनिकायलाई जवाफदेही बनाउने माध्यम समेत हो ।

तर जवाफदेही बनाउने नाममा पत्रकारले आफैं निष्कर्ष वा फैसला सुनाउने होइन ।यसमा विभिन्न आधिकारिक माध्यमबाट उपलब्ध तथ्य, प्रमाण, त्यस्तै सम्बन्धित पक्षको धारणा र सन्दर्भलाई निष्पक्ष रूपमानागरिकसमक्ष प्रस्तुत गर्नु मूल दायित्व हो ।

नेपालको सन्दर्भमा स्वास्थ्य पत्रकारिताको यो जिम्मेवारी पत्रकार आचारसंहितासँग प्रत्यक्ष रूपमा जोडिन्छ ।

सत्य–तथ्य, सन्तुलित तथावस्तुनिष्ठ सूचना सम्प्रेषण, स्रोतको जिम्मेवार प्रयोग, व्यक्तिको गोपनीयताको सम्मान, समाचार र विज्ञापनबीचको स्पष्ट सीमा तथासंवेदनशील विषयमा मर्यादित प्रस्तुति जस्ता पत्रकारिताका आधारभूत मान्यताहरू स्वास्थ्य समाचारमा समेत विशेष महत्त्व राख्दर्छ ।

बिरामीको रोग, उपचार, परीक्षण रिपोर्ट, व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य अवस्था वा अन्य संवेदनशील विवरण सार्वजनिक गर्दासमाचारको सार्वजनिक हित र व्यक्तिको गोपनीयताबीच उचित सन्तुलन कायम गर्नुपर्ने हुन्छ ।

त्यसैगरी महामारी, संक्रमण, विपद् वा अन्य स्वास्थ्य संकटका समयमा पत्रकारिताको जिम्मेवारी अझ बढ्छ । यस्ता परिस्थितिमा अपुष्टतथ्य, डर पैदा गर्ने शीर्षक, अतिरञ्जित तथ्याङ्क वा अप्रमाणित उपचारसम्बन्धी दाबीले जनस्वास्थ्यमा थप असर पार्न सक्छ ।

त्यसैलेसंकटको समयमा पत्रकारिताले सूचना प्रवाहसँगै जोखिम सञ्चार, तथ्य परीक्षण र जनविश्वास कायम गर्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्नेहुन्छ ।

डिजिटल युग र स्वास्थ्य पत्रकारिता

डिजिटल युगले स्वास्थ्य पत्रकारितासामु अर्को चुनौती थपेको छ-‘इन्फोडेमिक’ अर्थात् स्वास्थ्य संकटको समयमा अत्यधिक मात्रामासूचना प्रवाह हुनु र त्यसमा गलत वा भ्रामक सूचना मिसिनु झन जटिल विषय हो ।

सामाजिक सञ्जालमा कुनै सामग्री छिटो फैलिनुत्यसको सत्यताको प्रमाण होइन । त्यसैले पत्रकारका लागि स्रोत परीक्षण, तथ्य जाँच, सन्दर्भ परीक्षण र वैज्ञानिक प्रमाणकोमूल्याङ्कन पहिलेभन्दा बढी आवश्यक भएको देखिन्छ ।

यस समग्र परिवेशमा स्वास्थ्य पत्रकारिताको मूल प्रश्न केवल ‘समाचार के हो?’ भन्ने होइन; ‘यो समाचार कति सत्य हो, यसको प्रमाणके हो, यसको प्रभाव कसलाई पर्छ, यसमा कसको स्वार्थ जोडिएको छ र यसलाई प्रकाशित गर्दा सार्वजनिक हित कसरी सुनिश्चितहुन्छ?’ भन्ने हो ।

यही प्रश्नहरूले स्वास्थ्य पत्रकारितालाई सामान्य समाचार लेखनबाट अझ जिम्मेवार, प्रमाणमा आधारित र सार्वजनिकउत्तरदायित्वसँग जोडिएको पत्रकारिताका रूपमा स्थापित गरेको छ ।

अतः स्वास्थ्य पत्रकारिता आजको सूचना–समाजमा केवल एउटा विषयगत पत्रकारिता विधा होइन । यो नागरिकको सूचना अधिकार, स्वास्थ्य अधिकार, वैज्ञानिक चेतना र सार्वजनिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण सञ्चार अभ्यास हो ।

स्वास्थ्य पत्रकारकोकलमले गलत सूचना फैलाउन पनि सक्छ र सही सूचना मार्फत नागरिकलाई सचेत, सुरक्षित र सुसूचित बनाउन पनि सक्छ । त्यसैलेस्वास्थ्य पत्रकारिताको वास्तविक शक्ति समाचारको पहुँचमा मात्र होइन, त्यो समाचारले बोकेको सत्य, प्रमाण, सन्दर्भ, संवेदनशीलता रसामाजिक उत्तरदायित्वमा निहित रहन्छ ।

 

किन संवेदनशील छ स्वास्थ्य पत्रकारिता ?

स्वास्थ्य पत्रकारिता अन्य धेरै विधाभन्दा बढी संवेदनशील मानिन्छ, किनकि स्वास्थ्यसम्बन्धी एउटा गलत वा अपुष्ट सूचना व्यक्तिकोस्वास्थ्य निर्णयमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

गलत उपचार विधि, औषधिको प्रयोग, रोगसम्बन्धी भ्रम वा महामारीबारे फैलाइएको अपुष्टसूचनाले व्यक्तिदेखि समुदायसम्म गम्भीर असर पार्न सक्छ ।

त्यसैले स्वास्थ्य पत्रकारले कुनै पनि विषयलाई सतही रूपमा प्रस्तुत गर्नु हुँदैन । सम्बन्धित विषयको वैज्ञानिक आधार, आधिकारिकतथ्य, विज्ञको धारणा र प्रभावित पक्षको अनुभवलाई समेटेर सन्तुलित ढंगले समाचार तथा सामग्री तयार गर्नुपर्छ ।

स्वास्थ्य पत्रकारिताको मूल आधार नै ‘सत्य सूचना, जिम्मेवार प्रस्तुति र नागरिकको हित’ हुनुपर्छ ।

 

स्वास्थ्य समाचार लेख्दा ध्यान दिनुपर्ने पक्ष

स्वास्थ्यसम्बन्धी समाचार लेख्दा पत्रकारले सामान्य समाचार लेखनका आधारभूत सिद्धान्तसँगै स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई समेतविशेष ध्यान दिनुपर्छ ।

१. तथ्यपरकता (Accuracy)

स्वास्थ्य समाचार प्रमाणित तथ्यमा आधारित हुनुपर्छ । अपुष्ट सूचना, अनुमान, हल्ला वा सामाजिक सञ्जालमा फैलिएको सामग्रीलाईतथ्य जाँच नगरी समाचारका रूपमा प्रस्तुत गर्नु हुँदैन । औषधि, रोग, उपचार र स्वास्थ्यसम्बन्धी तथ्यमा सानो त्रुटिले पनि ठूलो प्रभावपार्न सक्छ ।

२. निष्पक्षता (Objectivity)

समाचारमा पत्रकारको व्यक्तिगत धारणा, पूर्वाग्रह वा भावनालाई हाबी हुन दिनु हुँदैन । सम्बन्धित विषयका विभिन्न पक्षलाई तथ्यकाआधारमा प्रस्तुत गर्दै निष्पक्षता कायम गर्नुपर्छ ।

३. ५W र १H को प्रयोग

स्वास्थ्य समाचारमा पनि के (What), कहिले (When), कहाँ (Where), किन (Why), को (Who) र कसरी (How) भन्ने प्रश्नकोस्पष्ट उत्तर हुनुपर्छ। यसले समाचारलाई पूर्ण, स्पष्ट र बुझ्न सहज बनाउँछ ।

४. प्रभावकारी शीर्षक (Headline)

शीर्षक छोटो, स्पष्ट, तथ्यपरक र समाचारको मूल विषय झल्काउने हुनुपर्छ । पाठकलाई भ्रममा पार्ने, अतिरञ्जित वा दोहोरो अर्थ लाग्नेशीर्षकबाट बच्नुपर्छ ।

५. सशक्त लिड (Lead)

समाचारको पहिलो अनुच्छेद अर्थात् लिडले समाचारको मुख्य सार स्पष्ट रूपमा दिनुपर्छ । पाठकले सुरुमै समाचारको मूल विषय बुझ्नसक्ने गरी लिड तयार गर्नु प्रभावकारी समाचार लेखनको महत्त्वपूर्ण पक्ष हो ।

६. सरल र बुझ्ने भाषा

स्वास्थ्य क्षेत्रमा चिकित्सकीय तथा प्राविधिक शब्दावली धेरै हुन्छ । तर समाचार सर्वसाधारणका लागि लेखिने भएकाले जटिलप्राविधिक शब्दको अनावश्यक प्रयोग गर्नु हुँदैन । आवश्यक परे प्राविधिक शब्दको सरल अर्थसमेत स्पष्ट गर्नुपर्छ ।

७. सन्तुलन (Balance)

समाचार एकपक्षीय हुनु हुँदैन । विषयसँग सम्बन्धित व्यक्ति, संस्था, विज्ञ, सेवाग्राही तथा अन्य सरोकारवालाको धारणाआवश्यकताअनुसार समेटिनुपर्छ । यसले समाचारलाई सन्तुलित र विश्वसनीय बनाउँछ ।

८. विश्वसनीय स्रोत

स्वास्थ्यसम्बन्धी सूचना संकलन गर्दा आधिकारिक निकाय, वैज्ञानिक अध्ययन, सम्बन्धित विज्ञ तथा विश्वसनीय स्रोतलाई प्राथमिकतादिनुपर्छ । स्रोतको विश्वसनीयताले समाचारको विश्वसनीयता निर्धारण गर्छ ।

९. समय सान्दर्भिकता (Timeliness)

स्वास्थ्य समाचार समयमै सम्प्रेषण हुनु महत्त्वपूर्ण हुन्छ । महामारी, संक्रमण, औषधिको उपलब्धता वा स्वास्थ्यसम्बन्धी आकस्मिकघटनामा ढिलो भएको सूचना प्रभावहीन हुन सक्छ । पुराना विषयलाई पनि नयाँ तथ्य, तथ्याङ्क वा कोणका साथ पुनः प्रस्तुत गर्नसकिन्छ ।

१०. संरचना (Structure)

समाचार लेखनमा सामान्यतया ‘Inverted Pyramid’ शैली प्रभावकारी मानिन्छ । अर्थात् सबैभन्दा महत्वपूर्ण सूचना सुरुमै र त्यसपछिक्रमशः थप विवरण प्रस्तुत गरिन्छ । यसले पाठकलाई छोटो समयमै मुख्य सूचना प्राप्त गर्न सहयोग गर्छ ।

११. पत्रकारिता आचारसंहिता र नैतिकता

स्वास्थ्य पत्रकारितामा गोपनीयता, मानव मर्यादा र संवेदनशीलतालाई विशेष महत्व दिनुपर्छ । बिरामीको व्यक्तिगत विवरण, तस्बिर वास्वास्थ्य अवस्थासम्बन्धी जानकारी प्रकाशित गर्दा आवश्यक संवेदनशीलता अपनाउनुपर्छ । विशेषगरी बालबालिका, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, गम्भीर रोग र मृत्युजस्ता विषयमा थप सावधानी आवश्यक हुन्छ ।

१२. तथ्य जाँच र सम्पादन

समाचार प्रकाशनपूर्व नाम, पद, तथ्याङ्क, औषधिको नाम, रोगको नाम, मिति, स्थान तथा अन्य विवरण पुनः जाँच गर्नुपर्छ । भाषिकशुद्धता, व्याकरण र प्रस्तुतिको समेत सम्पादन आवश्यक हुन्छ । स्वास्थ्य पत्रकारितामा ‘पहिले सत्यता, त्यसपछि गति’ भन्ने मान्यतामहत्वपूर्ण हुन्छ ।

स्वास्थ्य पत्रकारिताका भूमिका

स्वास्थ्य पत्रकारिता सूचना प्रवाहको माध्यम मात्र होइन; यो नागरिक सशक्तीकरणको महत्त्वपूर्ण आधार पनि हो ।

सरकारले ल्याएका स्वास्थ्य नीति तथा कार्यक्रम, बजेट, ऐन–नियम, स्वास्थ्य बीमा, निःशुल्क उपचार, औषधि उपलब्धता, अस्पतालकासेवा तथा नागरिकका स्वास्थ्य अधिकारबारे जानकारी गराएर स्वास्थ्य पत्रकारले नागरिकलाई आफ्नो अधिकार र उपलब्ध सेवाबारेसचेत बनाउन सक्छन् ।

त्यसैगरी, स्वास्थ्य संस्थामा देखिएका समस्या, सेवाको गुणस्तर, औषधिको उपलब्धता, जनशक्ति अभाव तथा स्वास्थ्य प्रणालीकाकमजोरीबारे तथ्यमा आधारित रिपोर्टिङले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सक्छ । यस अर्थमा स्वास्थ्य पत्रकारिता सूचनादिने मात्र होइन, सार्वजनिक जवाफदेहिता र सुधारका लागि संवाद निर्माण गर्ने माध्यम पनि हो ।

रोग भन्दा रोकथाममा जोड

भनिन्छ, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो।’ यो भनाइ स्वास्थ्य पत्रकारिताको भूमिकासँग पनि गहिरोसँग जोडिन्छ । स्वस्थ जीवनशैली, व्यक्तिगत सरसफाइ, सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम, मानसिक स्वास्थ्य, नियमित स्वास्थ्य परीक्षण तथा रोगको प्रारम्भिक पहिचानबारे नागरिकलाई सही सूचनादिन सकेमा रोगको जोखिम घटाउन सहयोग पुग्न सक्छ ।

त्यसैले स्वास्थ्य पत्रकारिताले उपचारका समाचारसँगै रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई पनि प्राथमिकता दिन आवश्यक छ ।

महामारी अनि स्वास्थ्य पत्रकारीता

महामारी तथा स्वास्थ्य संकटका समयमा स्वास्थ्य पत्रकारिताको जिम्मेवारी अझ बढ्छ । यस्तो अवस्थामा नागरिकमा डर, अन्योल र भ्रमबढ्न सक्छ । सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना तीव्र गतिमा फैलिन सक्छ ।

कोभिड–१९ महामारीका क्रममा विश्वभर गलत सूचना र अफवाहले सिर्जना गरेको चुनौतीले पनि संकटको समयमा विश्वसनीय सूचनाकति महत्त्वपूर्ण हुन्छ भन्ने देखायो । यस्तो अवस्थामा स्वास्थ्य पत्रकारले आधिकारिक निकाय, वैज्ञानिक प्रमाण र विश्वसनीय विज्ञकाआधारमा सूचना सम्प्रेषण गर्नुपर्छ ।

महामारीका बेला पत्रकारले नागरिकलाई डराउनेभन्दा सचेत बनाउने, भ्रम फैलाउनेभन्दा तथ्य स्पष्ट गर्ने र सनसनी फैलाउनेभन्दासमाधानमुखी सूचना दिने प्रयास गर्नुपर्छ । यही कारण स्वास्थ्य संकटका बेला पत्रकारिता आफैँमा एउटा महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्यहस्तक्षेप बन्न सक्छ ।

स्वास्थ्य पत्रकारिता र त्यो समाज

स्वस्थ समाज निर्माण स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी होइन । नागरिक, सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम तथाअन्य सरोकारवालाको साझा प्रयास आवश्यक हुन्छ । यसमा स्वास्थ्य पत्रकारिताले सबै पक्षबीच सूचना र संवादको पुलको काम गर्नसक्छ ।

नागरिकले आफ्नो स्वास्थ्य अधिकार बुझ्ने, उपलब्ध सेवा र सुविधाबारे जानकारी प्राप्त गर्ने, रोगको जोखिमबारे सचेत हुने तथास्वास्थ्यसम्बन्धी सही निर्णय लिन सक्ने वातावरण निर्माणमा स्वास्थ्य पत्रकारिताको योगदान महत्त्वपूर्ण हुन्छ ।

स्वास्थ्य पत्रकारिताले नागरिकलाई केवल ‘रोगबारे जानकारी’ मात्र दिँदैन; उसलाई ‘स्वास्थ्यबारे सोच्ने र निर्णय गर्ने क्षमता’ विकास गर्नपनि सहयोग पुर्‍याउँछ। यही यसको दीर्घकालीन सामाजिक महत्व हो ।

स्वास्थ्य पत्रकारिताका चुनौतीहरू

स्वास्थ्य पत्रकारिताको आवश्यकता बढ्दै गएसँगै यस क्षेत्रमा चुनौती पनि थपिएका छन् । स्वास्थ्य विषय प्राविधिक र जटिल हुनु, विश्वसनीय स्रोतसम्म सहज पहुँच नहुनु, विज्ञको धारणा प्राप्त गर्न कठिन हुनु, अपुष्ट सूचना तथा सामाजिक सञ्जालमा फैलिने भ्रम, स्रोतको सीमितता र समयको दबाबजस्ता समस्या स्वास्थ्य पत्रकारले सामना गर्नुपर्छ ।

त्यसैगरी, स्वास्थ्यसम्बन्धी सामग्रीमा विज्ञापन र समाचारबीचको सीमारेखा स्पष्ट राख्नु, औषधि तथा उपचारसम्बन्धी अतिरञ्जितदाबीबाट जोगिनु र बिरामीको गोपनीयता कायम गर्नु पनि महत्त्वपूर्ण चुनौती हुन् ।

यसका लागि स्वास्थ्य पत्रकारमा निरन्तर अध्ययन, वैज्ञानिक साक्षरता, तथ्य जाँच गर्ने क्षमता, स्रोतको मूल्याङ्कन गर्ने सीप रपत्रकारिता आचारसंहिताको पालन आवश्यक हुन्छ ।

मर्यादित पत्रकारिताका आधार : संविधान, कानुन र आचारसंहिता

नेपालमा स्वास्थ्य पत्रकार हुन् वा अन्य पत्रकारले नेपालको संविधान, प्रचलित कानुन तथा प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकारआचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को पालना गर्दै आफ्नो व्यावसायिक पत्रकारिताको मर्यादा कायम गर्नुपर्ने दायित्व रहन्छ।

आचारसंहिताले सत्य, तथ्यपरक, वस्तुनिष्ठ र सन्तुलित सूचना सम्प्रेषण, स्रोतको विश्वसनीयता, सम्पादकीय स्वतन्त्रता, गोपनीयताको सम्मान, सामाजिक सद्भाव र मानवीय मर्यादाको संरक्षण, शिष्ट एवं जिम्मेवार भाषा प्रयोग तथा प्रकाशित सामग्रीमा कुनैत्रुटि भएका सच्याउने दायित्वलाई समेत जोड दिएको छ ।

त्यसको साथै, कुनै भ्रामक, अतिरञ्जित, घृणा वा सामाजिक सद्भावमाप्रतिकूल असर पार्ने सामग्रीबाट बच्दै पत्रकारले सार्वजनिक हित, सूचनाको हक र प्रेस स्वतन्त्रताको जिम्मेवारी पूर्वक प्रयोग गर्नुपर्छ ।

आचारसंहितासँगै काउन्सिलका विषयगत निर्देशिका तथा पत्रकार आचार संहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५ (तेस्रोसंशोधन, २०८१) समेत पत्रकारितालाई उत्तरदायी, मर्यादित र स्वनियमनमा आधारित बनाउन महत्त्वपूर्ण आधार हुन् ।

यी सबै कुरालाईध्यानमा राखी स्वास्थ्य पत्रकारिता एवम् अन्य पत्रकारिता गर्नुपर्दछ ।

 

निष्कर्ष

स्वास्थ्य पत्रकारिता आजको समयमा केवल पत्रकारिताको एउटा विधा मात्र रहेन; यो नागरिकको स्वास्थ्य अधिकार, जनचेतना, स्वास्थ्यप्रणालीको जवाफदेहिता र स्वस्थ समाज निर्माणसँग जोडिएको महत्त्वपूर्ण सार्वजनिक सरोकारको क्षेत्र बनेको छ ।

स्वास्थ्यसम्बन्धी सही सूचना नागरिकसम्म पुर्‍याउन सकियो भने त्यसले स्वास्थ्यप्रतिको सचेतना बढाउन, गलत सूचना र भ्रम कम गर्नतथा उपलब्ध स्वास्थ्य सेवा र अधिकारको उपयोग गर्न नागरिकलाई सक्षम बनाउन सक्छ । तर गलत, अपुष्ट वा अतिरञ्जित स्वास्थ्यसूचनाले उल्टै जोखिम निम्त्याउन सक्छ ।

त्यसैले स्वास्थ्य पत्रकारिताको मूल मन्त्र हुनुपर्छ—‘तथ्यमा आधारित सूचना, वैज्ञानिक दृष्टिकोण, मानवीय संवेदना र सार्वजनिक हित ।’

पत्रकारिताको शक्ति केवल सूचना सम्प्रेषणमा होइन, समाजलाई प्रश्न गर्न, सोच्न र सचेत निर्णय लिन सक्षम बनाउनुमा पनि निहित हुन्छ। स्वास्थ्य पत्रकारिताले यही जिम्मेवारीलाई अझ गम्भीरताका साथ आत्मसात् गर्न आवश्यक छ ।

महान् वैज्ञानिक थोमस एल्भा एडिसनसँग जोडिएको एउटा चर्चित भनाइ छ—पत्रकारिताले दैनिक हजारौँ मानिससम्म ज्ञान, सूचना रशिक्षा पुर्‍याउने सामर्थ्य राख्छ । स्वास्थ्य पत्रकारिताको सन्दर्भमा यो भूमिका अझ महत्वपूर्ण देखिन्छ, किनकि यहाँ प्रवाह हुने प्रत्येकसूचनाको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसको जीवनसँग जोडिएको हुन्छ ।

अन्ततः स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ राष्ट्र निर्माणको यात्रामा स्वास्थ्य पत्रकारिता सूचना र चेतनाको महत्त्वपूर्ण आधार हो ।

(विभिन मिडियामा उत्कृष्ट सम्पादकीय भूमिकामा रहँदै आएका लेखक पाठक डेढ दशकदेखि क्रियाशील वरिष्ठ स्वास्थ्य पत्रकार हुन् ।त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्यमा स्नातक र स्नातकोत्तर गरिसकेका उनी हाल स्वास्थ्यमै एमफिल अध्ययनरत छन् ।

यसअघि हाम्रोडक्टर न्यूजको चितवन व्यूरो प्रमुख रहिसकेका उनी हाल स्वास्थ्य डायरीको चितवन सम्पादक हुन् ।)

सम्बन्धित शिर्षक :