स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले नगरबासीलाई आवश्यक परेको बेला निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ। यसका लागि नगरपालिका र नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको रक्तसञ्चार केन्द्रबीच सम्झौता भएको हो।
सम्झौतामा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा जिल्ला सभापति रामचन्द्र उपाध्याय बीच हस्ताक्षर भएको छ।
सम्झौता कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले नगरबासीलाई बिरामी परेको अवस्थामा रगतका लागि आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरबासीलाई रगत आवश्यक परेको बेला निःशुल्क उपलब्ध गराउने गरी सम्झौता गरेका छौँ। रगतबापत लाग्ने रकम नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।”
नगरपालिकाका स्वास्थ्य अधिकृत रामप्रसाद ढकालका अनुसार तिलोत्तमा नगरबासीलाई वर्षमा २० पोका (युनिट) सम्म रगत निःशुल्क उपलब्ध गराउने गरी रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको हो।
ढकालका अनुसार यो व्यवस्था विगत केही वर्षदेखि नै सञ्चालनमा रहेको छ। नगरबासीले आवश्यकताअनुसार रगत लिएपछि त्यसको आधारमा नगरपालिकाले सम्बन्धित रक्तसञ्चार केन्द्रलाई रकम भुक्तानी गर्दै आएको उहाँले बताउनु भयो।


प्रतिकया दिनुहोस्