पाल्पामा निर्वाचन प्रहरी : रगतको अभाव परिपूर्तिमा सक्रिय

स्वास्थ्यसमाचार/ जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा पाल्पामा खटिएका निर्वाचन प्रहरीले सक्रियता देखाएका छन् । उनीहरुले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै यहाँ रगत अभाव हुन नदिने उद्देश्य राखेर रक्तदानमा सक्रियता देखाएका हुन् ।

निर्वाचनको सुरक्षाको जिम्मेवारीसँगै रक्तदानमार्फत बिरामीको ज्यान बचाउने पवित्र कार्यमा उनीहरु लागेका छन् । एक महिने जागिरमा भर्ना भएका उनीहरुले देखाएको मानव सेवा कार्य देशमै नमुना बनेको छ । विहानदेखी साँझसम्म निर्वाचन सुरक्षाको बारेमा तालिम तथा प्रशिक्षणमा खटिएका उनीहरुले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वय र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय परिसरमै आयोजना गरिएको रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरे ।

पाल्पामा लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र पाल्पा अस्पताल गरी तीनवटा ठूला अस्पतालहरू सञ्चालनमा छन् । यी अस्पतालहरूमा दैनिक हुने जटिल शल्यक्रिया, सुत्केरी व्यथा र विभिन्न सडक दुर्घटनाका घाइतेहरूको उपचारका लागि रगतको माग उच्च रहने र रगत अभाव हुने गरेको छ ।

त्यसलाई परिपूर्ति गर्न निर्वाचनको सुरक्षाको तालिममा सहभागी २५ जना निर्वाचन प्रहरीले स्वेच्छिक रक्तदान गरी सामाजिक सेवामा नमुना काम गरेका हुन् ।निर्वाचन सुरक्षामा खटिन पाउँदा गौरव लागेको र त्यसमाथि रक्तदान गरेर कसैको ज्यान बचाउन पाउँदा झनै खुसी लागेको रक्तदानमा सहभागी निर्वाचन प्रहरी कमल भट्टराई बताउनुभयो ।

उहाँले भन्नुभयो “निर्वाचन सुरक्षामा खटिन पाउँदा गौरव लागेको छ, त्यसमाथि पनि रक्तदान गरेर कसैको ज्यान बचाउन पाउँदा झनै खुसी छु ।”प्रहरीको मुख्य उद्देश्य निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो । नागरिकको सुरक्षासँगै नागरिकको जीवन बचाउनु प्रहरीको अर्को धर्म हो ।

निर्वाचन प्रहरीले देखाएको यो मानवीय भावनाले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । निर्वाचन प्रहरीले रक्तदानमा देखाएको सक्रियता समुदाय प्रहरीको आपसी सहकार्यबाटै शान्तिपुर्ण समाजको निर्माणको बाटो देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो ।

जिल्लामै रगत व्यबस्थापनको लागि रेडक्रस पाल्पाले गएको भदौ महिनादेखी तानसेनमा रक्तसञ्चार केन्द सञ्चालन गरेको छ । तथ्याङ्क अनुसार पाल्पामा दैनिक १० युनिट, मासिक ३ सय युनिट र वार्षिक रूपमा करिब ३ हजार ६ सय युनिट रगतको आवश्यकता पर्दछ । यस्तो अवस्थामा सुरक्षाकर्मीले गरेको यो योगदानले रगतको अभाव टार्न ठूलो सहयोग पुर्‍याएको जिल्ला रेडक्रस पाल्पाका कार्यालय प्रमुख विनोद भारतीले बताए ।

पाल्पाका निर्वाचन प्रहरीले रगतको अभावमा छटपटाइरहेका बिरामीहरूका लागि ‘जीवनदाता’ बनेर नयाँ पहिचान बनाएका छन् ।निर्वाचन प्रहरीले गरेको रगतको दान मात्र होइन, यो मानव सेवाको नमुना कार्य हो ।

निर्वाचनको सुरक्षा चुनौतीका बीच समय निकालेर समाजका लागि केही गरौं भन्ने भावना आफैंमा प्रशंसनीय रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा निर्वाचन प्रहरीले शान्ति सुरक्षा प्रदान त गर्ने नै छन् , त्यो भन्दा पनि उनीहरूले गरेको रगत दानले धेरैको जीवन बचाउने छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :