दसैँ-तिहारमा मासु, मिठाई र अन्य परिकारको सेवन बढ्ने गर्छ। परिवार तथा आफन्तसँग भेटघाट, भोजभतेर र रमाइलो गर्ने क्रममा खानपानको मात्रा र गुणस्तरमा ध्यान नदिँदा अपच, खाद्य विषाक्तता तथा दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढ्न सक्छ। त्यसैले मासु छनोटदेखि पकाउने, भण्डारण गर्ने र खाने तरिकासम्म सावधानी अपनाउनु आवश्यक छ।
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरीका अनुसार सन्तुलित भोजनमा कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन तथा खनिज पदार्थ उचित मात्रामा समावेश हुनुपर्छ। चाडपर्वमा पनि स्वच्छ खानेकुरा छनोट गर्ने, खानाको मात्रा मिलाउने र आफ्नो स्वास्थ्य अवस्थाअनुसार भोजन गर्नु स्वस्थ रहने आधार हो।
१. स्वस्थ पशु छनोट गरौँ: दसैँमा खसीबोका किनेर घरमै मासु तयार गर्ने चलन छ। पशु खरिद गर्दा सक्रिय, सामान्य रूपमा हिँडडुल गर्ने र बिरामी नदेखिने पशु छनोट गर्नुपर्छ। उभिन नसक्ने, झोक्राउने, असामान्य रूपमा टाउको झुकाउने, आँखामा कचेरा आउने वा नाकबाट सिँगान बग्ने पशु बिरामी हुन सक्छन्। यस्ता पशु खरिद गर्नु हुँदैन। पशु वध गर्नुअघि सम्भव भएसम्म पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्छ। पशुबाट मानिसमा सर्न सक्ने संक्रमण तथा परजीवीको जोखिम हुने भएकाले पशुको स्वास्थ्य र मासुको स्वच्छतालाई बेवास्ता गर्नु हुँदैन।
२. मासु खरिद गर्दा स्वच्छतामा ध्यान दिऔँ: बजारबाट मासु किन्दा सफा पसल र स्वच्छ अवस्थामा राखिएको मासु छनोट गर्नुपर्छ। मासुमा असामान्य रङ, चिप्लोपन वा अप्रिय गन्ध छ भने खरिद गर्नु हुँदैन। खुला ठाउँमा झिँगा भन्किरहेको, धुलो लागेको वा फोहोर सतहमा राखिएको मासुबाट टाढा रहनुपर्छ।मासु काट्ने चक्कु, पाटी र अन्य औजार सफा छन् कि छैनन् भन्नेमा पनि ध्यान दिनुपर्छ। शङ्कास्पद वा बिग्रिएको मासु पकाएर खाँदा सुरक्षित हुन्छ भन्ने हुँदैन।
३. मासु राम्ररी पकाएर खाऔँ: मासु काँचो वा भित्रसम्म नपाकेको अवस्थामा खाँदा संक्रमणको जोखिम रहन्छ। त्यसैले मासु भित्रसम्म राम्ररी पाक्ने गरी पकाउनुपर्छ। सकेसम्म कम तेल र बोसो प्रयोग गरी झोलिलो बनाएर खानु राम्रो हुन्छ।धेरै तापमा मासु डढाउने, आगोमा अत्यधिक पोल्ने वा लामो समय धुवाँमा सेक्ने गर्दा हानिकारक रासायनिक पदार्थ बन्न सक्छन्। त्यसैले डढेको मासु र अत्यधिक पोलेका परिकार नियमित रूपमा खाने बानी त्याग्नुपर्छ। सेकुवा, तास तथा छोइलाजस्ता परिकार खाँदा पनि मासु राम्ररी पाकेको र स्वच्छ अवस्थामा तयार गरिएको सुनिश्चित गर्नुपर्छ।
मासु पकाउनुअघि र पछि साबुनपानीले हात धुनुपर्छ। काँचो मासु काटेको चक्कु वा पाटी सफा नगरी पकाएको खाना, फलफूल वा तरकारी तयार गर्न प्रयोग गर्नु हुँदैन। काँचो र पकाएको मासु अलग राख्नुपर्छ।
४. पकाएको मासु सुरक्षित भण्डारण गरौँ: दसैँमा एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाने चलन छ। तर, पकाएको मासु लामो समय कोठाको तापक्रममा राख्दा हानिकारक सूक्ष्मजीव बढ्न सक्छन्।पकाएको खाना दुई घण्टाभित्र फ्रिजमा राख्नु उपयुक्त हुन्छ। अत्यधिक गर्मीमा यो समय अझ कम गर्नुपर्छ। फ्रिजको तापक्रम ४ डिग्री सेल्सियस वा त्यसभन्दा कम राख्नुपर्छ। काँचो मासुलाई छोपेर छुट्टै राख्नुपर्छ, ताकि त्यसको रस अन्य खानेकुरामा नपरोस्।
फ्रिजमा सुरक्षित रूपमा राखिएको मासु पुनः तताएर खान सकिन्छ। तर, लामो समय बाहिर राखिएको, अप्रिय गन्ध आएको वा बिग्रिएको शङ्कास्पद मासु पुनः तताएर खानु हुँदैन।
५. रातो मासु कम खाऔँ, सागसब्जी र सलाद बढाऔँ: मासु प्रोटिन तथा अन्य पोषक तत्त्वको स्रोत भए पनि धेरै खानु स्वास्थ्यका लागि राम्रो होइन। विशेषगरी रातो मासु र बोसोयुक्त परिकारको अत्यधिक सेवनले शरीरमा संतृप्त बोसोको मात्रा बढाउन सक्छ, जसले मुटुरोगको जोखिम बढाउँछ।
उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा रगतमा कोलेस्टेरोल बढी भएका व्यक्तिले रातो मासु सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ। यस्ता व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार मासुको प्रकार र मात्रा निर्धारण गर्नु उचित हुन्छ।
मासुसँगै हरियो सागसब्जी, ताजा सलाद, फलफूल तथा रेसायुक्त खानेकुरा पनि पर्याप्त मात्रामा खानुपर्छ। काँक्रो, गाजर, मुला, टमाटर र अन्य ताजा तरकारीको सलाद भोजनमा समावेश गर्दा खानामा विविधता र पोषक तत्त्व थपिन्छन्। माछा वा छालारहित कुखुराको मासुजस्ता विकल्प रोज्न सकिन्छ। एकैपटक धेरै मासु खाने र दिनभरि लगातार मासुका परिकार खाइरहने बानी त्याग्नुपर्छ।
६. दीर्घरोगीले खानपानमा विशेष ध्यान दिऔँ: उच्च रक्तचाप, मधुमेह, रगतमा कोलेस्टेरोल बढी हुने तथा मुटु, मिर्गौला वा कलेजोसम्बन्धी समस्या भएका व्यक्तिले चाडपर्वमा खानपानमा विशेष ध्यान दिनुपर्छ। यस्ता व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार मासु, नुन, चिल्लो तथा अन्य खानेकुराको मात्रा मिलाउनुपर्छ।युरिक एसिड बढ्ने समस्या भएका व्यक्तिले रातो मासु र भित्री अङ्गको मासु कम गर्नुपर्ने हुन सक्छ। मदिराले युरिक एसिडको समस्या बढाउन सक्ने भएकाले यसबाट टाढा रहनु राम्रो हुन्छ। मधुमेह भएका व्यक्तिले मिठाई र चिनी हालेका पेय पदार्थको सेवन पनि सीमित गर्नुपर्छ।
७. मदिरा र सुर्तीजन्य पदार्थबाट टाढा रहौँ: दसैँमा मासुसँगै मदिरा, चुरोट तथा सुर्ती सेवन गर्ने चलन देखिन्छ। मदिरा सेवनले निर्णय क्षमता र शरीरको सन्तुलनमा असर पार्छ भने सुर्तीजन्य पदार्थले विभिन्न प्रकारका क्यान्सर तथा मुटुरोगको जोखिम बढाउँछन्। मदिरा सेवन नगर्नु नै स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित विकल्प हो। मदिरा सेवन गरेपछि सवारीसाधन चलाउनु हुँदैन।मिठाई र गुलियो पेय पदार्थको सेवन पनि सीमित गर्नुपर्छ। चाडपर्वमा स्वादका लागि धेरै गुलियो खाने, नियमित भोजन छाड्ने वा एकैपटक धेरै खाने बानीले स्वास्थ्यमा असर पार्न सक्छ।
स्वस्थ खानपान नै चाडपर्वको खुसी
चाडपर्वमा मासु खानै हुँदैन भन्ने होइन। मुख्य कुरा स्वस्थ पशुको मासु छनोट गर्ने, स्वच्छ तरिकाले तयार गर्ने, राम्ररी पकाउने, सुरक्षित भण्डारण गर्ने र उचित मात्रामा सेवन गर्ने हो। विशेषगरी नसर्ने रोग भएका व्यक्तिले रातो मासु र बोसोयुक्त परिकारको मात्रा घटाउँदै सागसब्जी, ताजा सलाद र फलफूललाई भोजनमा प्राथमिकता दिनुपर्छ।
सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि र स्वास्थ्य अवस्थाअनुसारको भोजनले चाडपर्वको रमाइलोसँगै स्वास्थ्य पनि जोगाउन मद्दत गर्छ। त्यसैले दसैँ–तिहारमा स्वादसँगै स्वास्थ्यलाई प्राथमिकता दिऔँ र चाडपर्वलाई सुरक्षित तथा स्वस्थ बनाऔँ।



प्रतिकया दिनुहोस्