तिलोत्तमाको सामाजिक उत्तरदायित्व : निःशुल्क रक्तसेवा प्रभावकारी

१२ लाख रुपैयाँभन्दा बढी भुक्तानी, १,२३६ युनिट रगत वितरण : ९५५ जना सेवाग्राही लाभान्वित

तिलोत्तमा / रुपन्देही तिलोत्तमा नगरपालिकामा सञ्चालनमा रहेको निःशुल्क रक्त सेवा कार्यक्रमले सयौं बिरामीलाई राहत दिएको छ । आकस्मिक र नियमित उपचारका क्रममा आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम प्रभावकारी देखिए पनि मागअनुसार आपूर्ति मिलाउन भने अझै चुनौती छ ।

नगरपालिकाले २०७८ सालदेखि सुरु गरेको यस कार्यक्रमअन्तर्गत हालसम्म करिब १२ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ । पालिकाको आर्थिक प्रशासन शाखाका अनुसार एक युनिट रगतका लागि ९५० रुपैयाँका दरले भुक्तानी हुँदै आएको छ । हालसम्म १ हजार २ सय ३६ पोका रगत ९५५ जनाले लिएको तथ्यांक नगरपालिकासँग छ ।

नगरपालिकाले सरकारी वा निजी जुनसुकै अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक परेमा रगत उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसले विशेष गरी आकस्मिक दुर्घटना, दीर्घ रोगी, शल्यक्रिया तथा प्रसूति सेवामा परेका बिरामीलाई प्रत्यक्ष सहयोग पुगेको छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टराईका अनुसार पछिल्लो समय रगतको माग उल्लेख्य रूपमा बढ्दै गएको छ ।

“माग बढ्दो छ, तर त्यसअनुसार आपूर्ति मिलाउन गाह्रो भइरहेको छ । ” उहाले भन्नु भयोे । उहाँका अनुसार रगत आफैं निःशुल्क भए पनि संकलन, परीक्षण र भण्डारणका लागि लाग्ने खर्च भने नगरपालिकाले व्यहोर्दै आएको बताउनुभयो ।

नगरपालिकाले रगतको शुल्क भुक्तानीमा कुनै सीमा तोकेको छैन । पालिकामा आएको विवरणका आधारमा आवश्यकताअनुसार भुक्तानी गरिँदै आएको छ । तर, नियमित रक्तदाता अभावका कारण कहिलेकाहीँ आवश्यक समयमा रगत जुटाउन कठिन हुने गरेको स्वास्थ्य शाखाको भनाइ छ ।

भट्टराईका अनुसार समाजमा अझै पनि रक्तदानप्रति भ्रम कायमै छ । “रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने गलत धारणा छ ।” उहाले भन्नुभयोे, “यसलाई चिर्न विद्यालय र समुदायस्तरमै जनचेतना फैलाउन आवश्यक छ ।”

सेवाग्राहीलाई राहत

यस कार्यक्रमबाट लाभ लिएका स्थानीयबासीले भने यसलाई जीवनरक्षक सेवा भएको बताउनु भएको छ । पार्वती घिमिरेले आकस्मिक अवस्थामा रगत आवश्यक पर्दा रेडक्रमले सहजै उपलब्ध गराएको बताउनु भयो । बिरामी लिएर अस्पताल जादाँ डाक्टरले तुरुन्त रगत लिएर आउनु भन्नुहुन्छ “रगत कहाँबाट ल्याउने भन्ने चिन्ता थियो, तर नगरपालिकाबाट रगतको भुक्तानी दिने भएपछि काम छिटो छरितो भएको र धेरै राहत मिलेको,” उहाको भनाई छ ।

त्यस्तै अर्काे स्थानिय बिन्दु पन्थी भन्नुहुन्छ परिवारका सदस्यको उपचारका क्रममा रगत अभाव सबैभन्दा ठूलो समस्या थियो। “यो सेवा नगरपालिकाको सहयोगमा नभएको भए धेरै गाह्रो पथ्र्यो,” नगरपालिकाले यस्ता पुन्य काम गरेको छ हामी यसवाट धेरै खुसी छौ उहाले भन्नु भन्नु भयो ।

अर्काे तिलोत्तकामा स्थानिय ललिता थापाले पनि नगरपालिका र रेडक्रसको समन्यमा समयमै रगत पाएपछि ठूलो राहत मिलेको बताउनु भयो्। “यस्तो सेवा साँच्चिकै जीवन बचाउने काम हो,” स्थानिय सरकार घरदैलोको सरकार भन्ने सच्चै प्रमाणित गरेको छ उहाले भन्नु भयो ।

नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन

स्थानीय सरकारले जनताको अपेक्षा आवश्यकता र माग अनुसार काम गर्ने गरेको छ । यसमा तिलोत्तमा नगरपालिकाले पनि त्यहीँ अनुसार यस सेवामा प्राथमिकता दिएको छ ।

नागरिकता वा अन्य परिचयपत्रका आधारमा सेवाग्राहीलाई रगतको सेवा भुक्तानी उपलब्ध गराउने गरिएको छ । रगत नगरपालिकाबाट होइन, रक्त सञ्चार सेवा केन्द्रबाट पाइन्छ । तर केन्द्रमा दिनुपर्ने सेवा शुल्को भुक्तानी नगरपालिकाले उपलब्ध गराउँदै आएको छ । नगर प्रमुख रामकृष्ण खाँणलेले रगत अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले आर्थिक अभावका कारण उपचार प्रभावित नहोस् भनेर नगरपालिकाले आवश्यक शुल्कसमेत व्यहोरेको जानकारी गराउनुभयो । नगरप्रमुख खाणँले यो कार्यमा चुनौती रहेको स्वीकार्नुहुन्छ । “माग बढ्दै गएको छ, आपूर्ति व्यवस्थापनमा थप सुधार गर्नुपर्ने देखिएको छ ।” सडक पुर्वाधार भन्दा पनि स्वास्थ्यलाई बढी प्राथामिकता दिएर काम गरेको उहाँको भनाइ छ ।

“नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु पालिकाको दायित्व हो ।” खाँणले भन्नु भयो । कार्यक्रम प्रभावकारी भए पनि दीर्घकालीन रूपमा सफल बनाउन नियमित रक्तदान संस्कृतिको विकास अपरिहार्य देखिएको छ । मागअनुसार आपूर्ति सुनिश्चित गर्न समुदायस्तरमै जनचेतना अभिवृद्धि र दाता व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :