स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल को ११६औँ वार्षिकोत्सवका अवसरमा अस्पताल विकास र सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने तीन जना व्यक्तित्वलाई विशेष सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, लेखा अधिकृत मित्रलाल त्रिपाठी तथा नर्सिङ प्रमुख प्रभा ज्ञाबली रहेका छन्। उहाँहरूले लामो समयसम्म अस्पतालमा रही स्वास्थ्य सेवा, प्रशासनिक व्यवस्थापन र नर्सिङ सेवाको गुणस्तर सुधारमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य मन्त्री खेमबहादुर सारु लगायत उच्च पदाधिकारीहरूले उहाँहरूलाई कदरपत्र तथा सम्मानद्वारा अभिनन्दन गर्नुभएको थियो।
पूर्व मेसु डा. खनालले आफ्नो कार्यकालमा अस्पतालको सेवा विस्तार, व्यवस्थापन सुधार तथा स्वास्थ्य सेवामा विश्वास बढाउने काममा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, लेखा अधिकृत त्रिपाठीले आर्थिक अनुशासन कायम गर्दै संस्थागत पारदर्शिता र प्रभावकारी वित्तीय व्यवस्थापनमा योगदान पुर्याएका थिए।
नर्सिङ प्रमुख ज्ञाबलीले नर्सिङ सेवाको सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा बिरामीमैत्री सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्दै अस्पतालको सेवास्तर उकास्न महत्वपूर्ण योगदान दिएको बताइएको छ।
अस्पताललाई आजको अवस्थामा ल्याउन यस्ता समर्पित व्यक्तित्वहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्मानले उनीहरूको योगदानलाई संस्थागत रूपमा स्मरण गर्ने काम गरेको उच्च मूल्याङ्कन गर्दै सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ।

प्रतिकया दिनुहोस्