स्वास्थ्यसमाचार/ बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रादेशिक अस्पताल ले सुसाशनसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभएको छ।
मन्त्री सारुले अस्पतालको ११६औँ वार्षिकोत्सवको अवसरमा वताउनुभयो, “अस्पतालले दीर्घकालीन प्रयास र समर्पित स्वास्थ्यकर्मीको योगदानमार्फत सेवा विस्तार गर्दै आएको छ।”
उहाँले अस्पतालको भौतिक पूर्वाधारमा १२०० सैयाको नयाँ भवन निर्माण भइरहेको उल्लेख गर्दै भन्नुभयो कि यसले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी सेवा विस्तारमा ठूलो भूमिका खेल्नेछ।
जनशक्ति र आधुनिक उपकरणहरू पनि थप भइरहेको र लामो समयदेखि निर्माणमा रहेका अवरोधका बाबजुद एमआरआई सेवा सुरु गरिएको छ, जसले बिरामीहरूलाई गोरखपुर वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गरेको मन्त्रीले वताउनुभयो।
मन्त्री मगरले रुपन्देही जिल्लालाई आर्थिक समृद्धिको आधार बनाउने प्रयासमा स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिइएको र बजेटको करिब ६० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च भएको जानकारी दिनुभयो।
उहाँले अस्पतालको ११६ वर्ष लामो इतिहासमा आएको प्रगति र भविष्यका योजनाको चर्चा गर्दै सेवाग्राहीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले निरन्तर काम गर्दै आएको स्पष्ट गर्नुभयो।
कार्यक्रममा प्रदेश सरकारका अन्य प्रतिनिधि, अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूको उपस्थिती रहेको थियो। यस अवसरमा दीर्घकालीन सेवा पुरा गरेका कर्मचारीहरूलाई सम्मान र अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो। साथै, अस्पतालको सेवा विस्तार, व्यवस्थापन सुधार र नर्सिङ सेवाको गुणस्तरमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई विशेष सम्मान दिइएको थियो।

प्रतिकया दिनुहोस्