स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ३०० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्प्रेरणामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
अस्पतालको ११६औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्यक्षमता वृद्धि तथा सेवाप्रति थप प्रतिबद्धता अभिव्यक्त गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्वास्थ्य सेवा केवल भौतिक पूर्वाधार र आधुनिक उपकरणले मात्र पूर्ण नहुने उल्लेख गर्दै सेवा दिने जनशक्तिको इमान्दारिता, लगनशीलता र व्यवहार नै अस्पतालको वास्तविक पहिचान हुने बताए।
“हामीले ठूला भवन बनायौं, आधुनिक उपकरण भित्र्यायौं, तर ती सबैको प्रभावकारी उपयोग स्वास्थ्यकर्मी र कर्मचारीकै हातमा हुन्छ,” उनले भने, “तपाईंहरूको मेहनत र पसिनाले नै अस्पतालको गरिमा कायम छ।”
त्यसैगरी मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले चिकित्सक पेसालाई ‘दोस्रो भगवान’को उपमा दिँदै आफ्नो जिम्मेवारीप्रति सदैव सचेत रहन आग्रह गरे। उनले भने, “हामीले दिने सेवा केवल उपचार होइन, त्यो विश्वास र आशाको संरक्षण पनि हो।” अस्पतालप्रति जनताको भरोसा कायम राख्न कर्मचारीहरूको व्यवहार, सहानुभूति र अनुशासन महत्वपूर्ण हुने उनको भनाइ थियो।
उत्प्रेरणामूलक अभिमुखिकरणबाट के फाइदा?
कार्यक्रममा प्रमुख अतिथि, प्रमुख वक्ता तथा सहजकर्ता मानव सेवा आश्रमका संस्थापक र केन्द्रीय सदस्य रामजी अधिकारीले दिनभरि ६ घण्टा स्वास्थ्यकर्मीलाई मनोरञ्जनात्मक र शिक्षाप्रद तालिम प्रदान गरेका थिए ।
यस अन्तर्गत हसाउने-नचाउने खेल, ज्ञान् सीप, बोल्ने कला, तनाव व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। उनले मानव सेवा, जीवनको उद्देश्य, सामाजिक उत्तरदायित्व र आत्मसन्तुष्टिका विषयमा उदाहरणसहित व्याख्या गर्दै सहभागीहरूलाई सकारात्मक सोचतर्फ उन्मुख गराएका थिए।
उत्प्रेरणामूलक अभिमुखिकरणबाट निम्न प्रमुख फाइदा हुने अपेक्षा गरिएको छ
१. मानसिक तनाव व्यवस्थापनमा सहयोगः स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील र दबाबपूर्ण हुन्छ। दैनिक रूपमा बिरामीको चाप, आकस्मिक सेवा, प्रशासनिक दायित्व आदिले स्वास्थ्यकर्मीहरूमा मानसिक तनाव बढ्न सक्छ। यस्तो तालिमले तनाव व्यवस्थापनका उपाय सिकाउने भएकाले दीर्घकालीन रूपमा मानसिक स्वास्थ्य सुदृढ बनाउन मद्दत पुग्छ।
२. कार्यक्षमता र उत्पादकत्व वृद्धिः सकारात्मक सोच र स्पष्ट लक्ष्यले कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउँछ। उत्प्रेरणाले कामप्रति रुचि र उत्तरदायित्व बढाउँछ, जसले सेवा प्रवाह छिटो, प्रभावकारी र गुणस्तरीय बनाउँछ।
३. सेवाग्राहीसँगको व्यवहारमा सुधारः अस्पतालमा आउने बिरामी शारीरिक मात्र होइन, मानसिक रूपमा पनि कमजोर अवस्थामा हुन्छन्। स्वास्थ्यकर्मीको मुस्कान, सहानुभूति र मधुर व्यवहारले उपचार प्रक्रियामा सकारात्मक प्रभाव पार्छ। अभिमुखिकरणले यस्ता पक्षमा संवेदनशीलता बढाउँछ।
४. टिमवर्क र समन्वय सुदृढीकरणः अस्पतालजस्तो ठूलो संस्थामा चिकित्सक, नर्स, प्राविधिक र प्रशासनिक कर्मचारीबीच राम्रो समन्वय आवश्यक हुन्छ। उत्प्रेरणात्मक कार्यक्रमले आपसी विश्वास र सहकार्यको भावना मजबुत बनाउँछ।
५. संस्थाप्रति अपनत्वको भावना विकासः यस्ता कार्यक्रमले कर्मचारीहरूलाई संस्थासँग भावनात्मक रूपमा जोड्ने काम गर्छ। आफू काम गर्ने संस्थाको इतिहास, उपलब्धि र उद्देश्यप्रति गर्वको भावना विकास हुँदा दीर्घकालीन प्रतिबद्धता बढ्छ।
सप्ताहव्यापी कार्यक्रम
अस्पतालले हरेक वर्ष फागुन १५ गते वार्षिकोत्सव मनाउँदै आएको छ। यस वर्ष पनि सम्मान, रक्तदान, फलफूल वितरण, सरसफाइ तथा सचेतनामूलक कार्यक्रम, साथै स्वास्थ्यकर्मीहरूबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याडमिन्टन र म्याराथन प्रतियोगिता आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए।
करिब ९ सय जना कार्यरत रहेको यो अस्पताल लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल हो, जहाँ वार्षिक साढे तीन लाखभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेको अस्पतालको तथ्याकले जनाएको छ । अस्पताल प्रशासनका अनुसार आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइनेछ, जसले अस्पतालप्रति जनविश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
साथै, मानव सेवा आश्रमका लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले अस्पताल र मानव सेवा आश्रम बीचको सहकार्य र सेवा विषयमा जानकारी प्रस्तुत गरिन ।
कार्यक्रममा टीका थापा, निरज पटेल लगायत अन्य अभियान्ता तथा सदस्यहरूको पनि उपस्थिती रहेको कार्यक्रमको बिष्णु खनाल को स्वागत तथा उपसमिति सदस्य दया सागर पन्थीको संञ्चालनमा सम्पन्न कार्यक्रमका विकास समिति सदस्य लक्ष्मी खनाल भट्टराईले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।


प्रतिकया दिनुहोस्