स्वास्थ्यसेवा, उद्योग र समाजसेवामा असाधारण यात्रा :चुनप्रसाद पौडेल

स्वास्थ्यसमाचार/समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन्। त्यस्तै व्यक्तित्व हुन् चुन्नप्रसाद शर्मा पौडेल। बागलुङमा जन्मिएका, बागलुङमै हुर्किएका र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश–विदेशमा छुट्टै पहिचान बनाएका छन्।

शिक्षा पूरा गरी गाउँ फर्किएपछि २०३८ सालमा गाउँकै विद्यालयमा अध्यापन पेशाबाट आफ्नो यात्रा सुरु गरेका पौडेलले चार वर्ष शिक्षकको रूपमा समाजलाई साक्षर र सचेत बनाउने कार्य गरे। यसपछि २०४९ सालमा रुपन्देहीको संगमपथमा सानो पसलबाट सुरु गरेको उद्योग यात्रा आज बहुआयामिक व्यावसायिक समूहमा परिणत भएको छ।

उनले यशोदा फूड प्रोडक्स मार्फत विभिन्न नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएका छन्। साथै, बुटवल हस्पिटल प्रा.लि. मार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गरेका छन् र ह्यात प्यालेस जस्ता परियोजनाले पर्यटन विकासमा योगदान पुर्‍याएको छ। उनका उद्योगहरूले पाँच हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएको र हजारौं परिवारको चुलो बाल्ने आधार बनेको उल्लेखनीय उपलब्धि हो।

पौडेलको व्यक्तित्व केवल उद्योगीमा सीमित छैन। महामारी, प्राकृतिक विपत्ति र सामाजिक संकटका बेला उनी अग्रपंक्तिमा रहेर सहयोग पुर्‍याउँछन्। स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सहयोगदेखि राहत कार्यक्रमसम्मका पहलहरूले उनको मानवीय संवेदनशीलता देखाउँछ।

नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका पौडेल यसै वर्ष रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। उनी स्थानीय उत्पादन प्रवद्र्धन, स्वदेशमै रोजगारी सिर्जना, युवा उद्यमशीलता र पारदर्शी शासन व्यवस्था तर्फ कटिबद्ध छन्।

पौडेल भन्छन्, “उद्योगले हजारौंलाई रोजगारी दिन सक्छ, तर सही नीतिले सिंगो देशको भविष्य बदल्न सक्छ।” समाजसेवा, स्वास्थ्य, शिक्षा र उद्योगमा उनले देखाएको प्रतिबद्धता उनलाई जनता र व्यवसायिक समाजमा विश्वसनीय बनाएको छ।

सम्बन्धित शिर्षक :