१२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल निर्माण ४६ प्रतिशत, समय अगावै सक्ने लक्ष्य

स्वास्थ्यसमाचार/  बुटवलमा निर्माणाधीन १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ। १२ तले मुख्य भवनसहित क्यान्सर उपचार भवन निर्माण भइरहेको छ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलका अनुसार आयोजनाको वित्तीय प्रगति ४२ प्रतिशत छ। निर्माणको गति हेर्दा सम्झौता अवधिभन्दा अगावै आयोजना सम्पन्न हुने अवस्था रहेको उनले बताए।

‘प्राकृतिक विपत्ति वा आर्थिक संकट नआएमा आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न हुने देखिन्छ,’ पोखरेलले भने, ‘निर्माण कम्पनीले यही गतिमा काम गर्ने र सरकारले आवश्यक बजेट सुनिश्चित गर्ने हो भने भवन समयभन्दा अघि नै सकिन्छ।’

अस्पताल निर्माणको ठेक्का क्यापासिटी–आशिष–रेलिगेयर जेभीले ७ अर्ब १५ करोड ९४ लाख ७३ हजार रुपैयाँमा पाएको हो। २०८० पुस २६ मा भएको सम्झौताअनुसार २०८५ पुस २५ सम्ममा आयोजना हस्तान्तरण गर्नुपर्नेछ।

तर, आयोजनाले पर्याप्त बजेटको अभाव झेलिरहेको छ। चालु आर्थिक वर्षमा सरकारले १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। गत आर्थिक वर्षमा पेस भएको करिब १ अर्ब ८ करोड रुपैयाँको बिलमध्ये पेस्की कटाएर ८८ करोड रुपैयाँ भुक्तानी भएको छ। थप पेस भएको २४ करोड रुपैयाँको बिल भुक्तानीका लागि बजेट अपुग हुने देखिएको आयोजनाले जनाएको छ।

आयोजनाका साइट इन्चार्ज इन्जिनियर शंकर सुवेदीका अनुसार मुख्य भवनको दुई तला बेसमेन्ट र जमिनमाथि पाँच तलासम्मको बाहिरी संरचना निर्माण भइसकेको छ। अहिले छैटौं तलाको स्ल्याब र अन्य संरचनाको काम भइरहेको छ। क्यान्सर उपचार भवनमा पनि बेसमेन्टसहित चार तलासम्मको बाहिरी संरचना तयार भइसकेको छ।

निर्माणमा १० जना प्राविधिकसहित २१० भन्दा बढी कामदार खटिएका छन्। दुईवटा क्रेन प्रयोग गरेर निर्माण सामग्री ओसारपसारको काम भइरहेको छ।

करिब १ बिघा २ कट्ठा १४ धुर क्षेत्रफलमा निर्माण भइरहेको अस्पतालको मुख्य भवनमा ७ सय र क्यान्सर उपचार भवनमा १ सय शय्या रहनेछन्। समग्र अस्पताल १२ सय शय्या क्षमताको हुने गरी डिजाइन गरिएको छ। मुख्य भवनमा इमर्जेन्सी, ओपीडी, अपरेसन कक्ष, बिरामी वार्डलगायत सेवा रहनेछन्। भवनमा १० वटा लिफ्ट र छतमा हेलिप्याडसमेत निर्माण गर्ने योजना छ।

नयाँ अस्पतालबाट ग्यास्ट्रोएन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायत विशिष्टीकृत सेवा विस्तार गर्ने योजना छ। निर्माण कम्पनीले भवनसँगै आवश्यक उपकरण खरिद गरी ‘इन्टेरियर सोलुसन’सहित हस्तान्तरण गर्नुपर्ने सम्झौता छ।

११५ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ५३० शय्या सञ्चालनमा छन्। मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमका अनुसार दैनिक करिब दुई हजार पाँच सय बिरामीले सेवा लिइरहेका छन्। अस्पतालमा १७ भन्दा बढी विशिष्टीकृत सेवा सञ्चालनमा छन्।

नयाँ भवन निर्माण सम्पन्न भएपछि अत्याधुनिक पूर्वाधार र विशिष्टीकृत सेवा विस्तार हुने तथा उपचारका लागि बुटवलबाहिर जानुपर्ने बाध्यता कम हुने छ।

सम्बन्धित शिर्षक :