विपन्नका लागि भरोसाको केन्द्र लुम्बिनी प्रादेशिक अस्पताल बुटबल

दुई वर्षमै करिब ५ करोडको सहुलियत उपचार, १४ हजारभन्दा बढी लक्षित समूह लाभान्वित

स्वास्थ्यसमाचार/आपत्कालीन कक्ष, आइसीयू, एनआइसियू, सामान्य शल्यक्रियालगायतका सेवामा जहिल्यै थामिनसक्नुको भिडभाड छ । ओपिडीमा अझ भनौं स्वास्थ्य वीमामा टिकट काटेर लाइन लागेर पालो पर्खिन झन हम्मेहम्मे छ । बुटवल उपमहानगर, छिमेकका अन्य पालिकाहरुमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा उपलव्ध हुने स्वास्थ्य सेवाका लागि पनि बिरामीहरु प्रादेशिक अस्पतालमै पुग्ने गर्छन् ।

सामान्य प्राथमिक उपचार देखि विशेषज्ञहरु सम्मको सेवा लिन एउटै अस्पतालमा घुइँचो लाग्दा जहिल्यै अस्तव्यस्त जस्तो देखिन्छ । यद्यपि पछिल्ला केही समययता अस्पतालको स्वरुप र सेवा प्रवाह दुबैमा सुधार आएको छ ।

बन्दैछ जीवनरक्षक आधार
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकका लागि लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाइ पछिल्ला वर्षहरूमा जीवनरक्षक आधार बनेको छ । अस्पतालको सामाजिक सेवा इकाइले दुई वर्षमै झन्डै ५ करोड रुपैयाँ बराबरको सहुलियत उपचार उपलब्ध गराउनु राज्यको ‘स्वास्थ्य सेवा सबैको पहुँचमा’ भन्ने नीतिलाई व्यवहारमा उतार्ने प्रयास हो । ४ करोड ८८ लाख ९६ हजार ४ सय १३ रुपैयाँ भन्दा धेरैको उपचार सहायता प्रदान गरेको छ ।

दुई वर्षमा कतिले लिए सेवा ?
इकाइ प्रमुखले सार्वजनिक गरेको तथ्यांकअनुसार आ.व.२०७९/०८० र २०८०/०८१ मा मात्रै १४ हजार ७ सय ६४ जना विपन्न, जेष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति, कुपोषित बालबालिकालगायत लक्षित समूहले सहुलियत तथा निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

गरिब, जेष्ठ नागरिक, असाहय, अपाङ्गता भएका व्यक्ति, कुपोषित बालबालिका, महिला स्वास्थ्य स्वयम् सेविका, थुनुवा, प्रहरीद्वारा ल्याइएको घाइते, लैङ्गिक हिंसा प्रभावित, प्राकृतिक प्रभावित, शहिद परिवार तथा लोपन्मुख जाति र अन्य अस्पतालले स्थानियताको आधारमा लक्षित समूह निर्धारण गरी पठाएकाहरुलाई यो इकाइले सेवा प्रदान गर्दै आएको छ । लक्षित समूहमध्ये अति गरिब तथा विपन्नलाई शतप्रतिशत छुट साथै जेष्ठ नागरिकलाई निर्देशिकाले तोकेअनुसार छुट ८५ वर्ष माथि १०० प्रतिशत छुट, आकस्मिक बिरामीलाई अवस्थाअनुसार छुट अन्यलाई ५० प्रतिशत छुट साथै उपलब्ध औषधी निशुल्क वितरण गर्दै आएको छ ।

गरिब र जेष्ठ नागरिक मुख्य सेवाग्राही
तथ्यांकअनुसार दुवै वर्षमा सबैभन्दा धेरै सेवा लिने समूह गरिब र जेष्ठ नागरिक रहेका छन् । आ.व. २०७९÷०८० मा ७ हजार ६ सय ९७ जनाले सेवा लिँदा जाँच–उपचार र औषधीमा करिब २ करोड ६४ लाख ७६ हजार रुपैयाँ बराबरको सहुलियत प्रदान गरिएको छ । त्यसैगरी आ.व. २०८०÷०८१ मा ७ हजार ९७ जना लक्षित समूहका सेवाग्राहीले सेवा लिँदा २ करोड २४ लाख १९ हजार रुपैयाँभन्दा बढी रकम बराबरको जाँच, उपचार, शल्यक्रिया र औषधी खर्च अस्पतालले बेहोरेको छ ।

महिला र पुरुष दुवैको उल्लेखनीय सहभागिता
आ.व. २०७९/०८० मा महिला ३ हजार ५ सय ५९ र पुरुष ४ हजार १ सय ३८ जनाले सेवा लिएका छन् । आ.व. २०८०/०८१ मा महिला ३ हजार ९३ र पुरुष ४ हजार ४ जना सेवाग्राही रहेका छन् ।

निशुल्क औषधी, आइसियू र इमर्जेन्सी सेवा
सामाजिक सेवा इकाइले जाँच–उपचार मात्र नभई निशुल्क औषधी वितरण, आइसियू, इमर्जेन्सी, अन्तरङ्ग र बहिरङ्ग सेवा, जेरियाट्रिक (जेष्ठ नागरिक) उपचार, अपाङ्गता भएका व्यक्ति तथा कुपोषित बालबालिकाको विशेष सेवा निरन्तर उपलब्ध गराउँदै आएको छ । आव.२०८०/०८१ मा मात्रै आइसियू, इमर्जेन्सी, अन्तरङ्ग र बहिरङ्ग सेवाबाट हजारौँ विपन्न नागरिक लाभान्वित भएका छन् ।

बजेट प्रशस्त छैन: इकाइ प्रमुख
सामाजिक सेवा इकाइ प्रमुख नेत्रप्रसाद आचार्यले पर्याप्त बजेट, स्थायी जनशक्ति र संघ–प्रदेश–स्थानीय तहको साझा लगानी सुनिश्चित गर्न सकिएमा पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न सकिने बताए । यो इकाइबाट अति विपन्न कुरुवाका लागि खानाखाजा, अस्पतालबाट अन्यत्र रिफर गर्दा एम्बुलेन्स भाडा सहयोग, व्यवहारिसे बिरामीको व्यवस्थापनलगायतको सेवा उपलब्ध गराउँदै आएको छ ।

पाँच वर्षमा झण्डै २० लाख बिरामी
मुलुककै सबैभन्दा पुरानोमध्येको ११७ वर्षभन्दा पुरानो लुम्बिनी प्रादेशिक अस्पतालमा मुलुककै सबैभन्दा ठुलो अस्पताल भवन बनिरहेको छ । पुराना भवनहरु हटाएर सोही जग्गामा १२ सय शैयाको १२ तलाको नयाँ आधुनिक भवन निर्माण भइरहेको छ । यसको निर्माण सम्पन्न भएपछि सेवा प्रवाह पनि विस्तारित हुने बताइएको छ ।
अस्पतालमा पाँच वर्षमा १८ लाख ९१ हजार ८ सय ५० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालमा ट्रमा तथा आपत्कालीन सेवा, अर्थोपेडिक शल्यक्रिया, सामान्य शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग, बालरोग, आइसियू, एसएनसियू, एनआइसियू, डायलिसिस सेवा, रेडियोलोजी–एक्स–रे, यूएसजी, सीटी स्क्यान सेवा उपलव्ध छ ।

पछिल्लो समयमा डायलाइसिस युनिट, आइसीयू, एनआइसीयूको स्तरोन्नति, सीटी स्क्यान सेवालाई विस्तार र स्तरोन्नति गरिएको छ भने मानसिक स्वास्थ्य/मनोचिकित्साको पनि ओपिडी सेवा सञ्चालनमा ल्याइएको छ । यसका लागि अलग्गै विशेषज्ञको समेत दरबन्दी राखिएको छ ।

अस्पतालमा ओएसटी विभाग पनि सञ्चालनमा ल्याइएको छ । यो विभाग लागुपदार्थ तथा दुव्र्यसनीमा फसेकाहरुलाई पुनस्थापना गर्ने सेवाका लागि खोलिएको हो । यसमा हाल २३ जना बिरामीले नियमित रूपमा सेवा लिइरहेका छन् । यस विभागमा १ जना विशेषज्ञ कार्यरत छन् ।
साथै नसर्ने रोगको प्रमुख समस्याका रुपमा रहेको क्यान्सरसम्बन्धी उपचारका लागि पाँच तलाको अलग्गै भवन बनिरहेको छ । हाल यो अस्पतालमा उक्त रोगको कुनै चेकजाँच र उपचार नै छैन । करारको दरबन्दीमा रहेका विशेषज्ञ पनि विदा लिएर काठमाडौंतिरै गएका छन् । उनी २०८२ साउन १२ गतेदेखि निजामती अस्पतालमा सरुवा भई गएका छन् ।

नसर्ने रोग (एनसिडी) विभागको अलग्गै सेवा नभएका कारणले सेवा लिने पनि न्यून छन् । आव २०८१/८२ मा नसर्नेमध्येको उच्चरक्तचापका ४९ जना, मधुमेह मेलिट्सका १ सय २८ जना, दमका ७ सय ८९ जनाले मात्रै सेवा लिएको अस्पतालका सूचना अधिकारी डा.ज्ञानहरि मरासिनीले जानकारी दिए ।

‘सामाजिक उत्तरदायित्व बहन गरिरहेका छौं’
व्यवहारिसे बिरामीका लागि सहायता कक्ष सञ्चालन, मानवसेवा आश्रमसँगको सहकार्य, बहीरा तथा अपाङ्गता भएका व्यक्तिका लागि दोभाषेको व्यवस्था जस्ता कार्यले सामाजिक सेवा इकाइलाई केवल उपचार केन्द्र नभई मानवीय सेवाको भरोसायोग्य थलो बनाउने कोसिस गरिएको अस्पतालका मेसु डा.इन्द्र ढकालको भनाइ छ ।

मेसु डा.इन्द्र ढकाल

मेसु ढकालले संघीय सरकारबाट प्राप्त अनुदान क्रमशः घट्दै जानु, अस्पतालको आफ्नै आम्दानी स्रोत सीमित हुनु र जनशक्ति करारमै निर्भर हुनुपर्ने अवस्था सामाजिक सेवा इकाइका प्रमुख चुनौती बनेको उल्लेख गरे । यद्यपि सिमित साधन स्रोतबाटै भएपनि अस्पताललाई उपचार केन्द्र मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको संस्थाका रूपमा पनि स्थापित गर्ने प्रयास जारी रहेको मेसु ढकालको भनाइ छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :