अर्गानिका खेतीमा भरोसा : स्वास्थ्य र बचतका लागि आफ्नै करेसाबारी

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका–१० का घनसिंह पुनलाई बजारबाट तरकारी किन्नु नपरेको चार वर्ष भईसक्यो। बिहानको घामसँगै आफ्नो करेसाबारीमा हरियो लहरे बाली हेर्दै उनी भन्छन्, “स्वास्थ्यप्रति हामी आफैं सचेत हुनुपर्छ, बिरामी भएपछि लाखौं खर्च गर्न तयार छौं तर खानपानमा ध्यान दिँदैनौं।”

विगत ६–७ वर्षदेखि बोइलर कुखुरा खान छोडेका पुन अहिले ह्वाइट पेकिङ जातका हाँस पाल्छन्। घरकै गहुँ र मकै हाँसलाई खुवाउँछन्। उनका लागि करेसाबारी र हाँस पालन केवल आत्मनिर्भरता होइन, एक किसिमको सामाजिक अभियान हो।

टोलकै नारा – “अगाडि फूलबारी, प्रत्येक घरको पछाडि करेसाबारी र हरेक घरमा मौरी घार” – जीवनशैलीको अंग बनेको छ। स्थानीय पालिकाको सहयोगमा यस क्षेत्रलाई अग्र्यानिक जोन घोषणा गर्ने लक्ष्य लिइएको छ।

खेतमा गोडमेल गर्ने हाँस

यसै वडाका रामबहादुर पुनले करिब ६० वटा हाँस पालेका छन्। यी हाँस केवल मासु वा अन्डाका लागि होइनन्, उनीहरूको धान खेतमै गोडमेल गर्ने सशक्त श्रमिक हुन्।

“धान रोप्नु अघि चल्ला राख्छौं, धान बढ्दै जाँदा एक महिनामा खेतमा छोड्छौं, यसले झार खाइदिन्छ र किराफट्यांग्रा सफा गरिदिन्छ,” उनी बताउँछन्।गोडमेल खर्च बच्नुका साथै दानाको खपत पनि कम हुन्छ। खेतमा पानीको प्रवाह सही हुँदा हाँसले धानको गाज अझ हरियो र स्वस्थ बनाइदिन्छन्।

आर्थिक र पर्यावरणीय फाइदा

तिलोत्तमा–१० र १७ का करिब २०५ घरधुरीले यस्तो एकीकृत कृषि मोडेल अपनाएका छन्। धान खेत, करेसाबारी र हाँस पालनलाई जोडेर खाद्य सुरक्षा र नियमित आयको स्रोत बनाइएको छ।

फर्मकी अध्यक्ष विष्णु कँडेलका अनुसार, “यो मोडेल कम लागतमा गुणस्तरीय उत्पादन दिन्छ, माटो सुधार्छ र नियमित आम्दानीको भरपर्दो आधार बन्छ।”

विदेशको उदाहरण, देशको सम्भावना

अभियानका अगुवा डा. दामोदर भुसाल बङ्गलादेशको आर्थिक क्रान्तिको उदाहरण दिँदै भन्छन्, “एकीकृत अग्र्यानिक कृषि प्रणाली रुपन्देहीमा सुरु भइसकेको छ, यसको फाइदा बहुपक्षीय छ।”

उनका अनुसार, २५ वटा हाँस पाल्दा ३ महिनामा करिब ८ हजार रुपैयाँ खर्च हुन्छ र कम्तीमा २५ हजार रुपैयाँ आम्दानी हुन्छ। “दुई धुर जमिनमा पनि यो सम्भव छ,” भुसाल जोड दिन्छन्।

बजारमा अग्र्यानिक खाद्यान्नको माग बढिरहेका बेला यस्तो मोडेल किसानका लागि आशाको किरण हुनसक्ने उनीहरू विश्वास गर्छन्। तर, सरकारको प्राथमिकतामा हाँसलाई बहुबालीसँग जोड्ने अनुसन्धान अझै पर्न नसकेकोमा उनीहरूको गुनासो छ।

भविष्यको बाटो

सरकारले ह्याचरी केन्द्र र पेलेट फिड मेसिनमा सहयोग गरे, युवाहरूलाई “पढ्दै कमाउँदै” मोडेल र ज्येष्ठ नागरिकको भत्ता उत्पादनमा लगाउने योजनासहित परिचालन गरे, यसले कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सक्ने सरोकारवालाहरूको निष्कर्ष छ। तिलोत्तमा नगरपालिकामा सुरु भएको यो अभ्यास केवल कृषि उत्पादनको मोडेल मात्र होइन, अग्र्यानिक जीवनशैली, आर्थिक आत्मनिर्भरता र सामुदायिक एकताको पनि प्रतीक बन्दै गएको छ।

सम्बन्धित शिर्षक :