बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको सरसफाइ अभियानअन्तर्गत बुटवल–५ स्थित हाटबजार क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। शहरलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा विभिन्न निकाय तथा समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
सरसफाइ अभियानमा नेपाल आमी, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल नेपाल, विभिन्न क्याम्पस तथा विद्यालय परिवार, संघसंस्था, टोल विकास संस्था, जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले हाटबजार क्षेत्र तथा आसपासका सडक, नाला र सार्वजनिक स्थलहरूको सरसफाइ गरेका थिए।
कार्यक्रममा सहभागी हुँदै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय ले स्वच्छ शहर निर्माणमा नागरिक सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताए। उनले सरसफाइ अभियानलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई सामाजिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए।
मेयर पाण्डेयले आगामी ३ गतेदेखि ७ गतेसम्म मुख्य सडक क्षेत्रमा छाडा रूपमा रहेका गाईगोरुहरूलाई व्यवस्थापन गर्दै गौशालामा लैजाने विशेष अभियान सञ्चालन गरिने जानकारी पनि दिए। उक्त अभियानमा सहभागी हुन इच्छुक नागरिकलाई आफ्नो वडामा सम्पर्क गरी बिहान ५ बजे वडाले तोकेको स्थानमा उपस्थित हुन आग्रह गरिएको छ।
कार्यक्रममा उपमेयरसहित जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उपमहानगरपालिकाले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


प्रतिकया दिनुहोस्