पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ ।

जिल्लाका सातवटै पालिकाले पूर्ण खोप सुनिश्चितता मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री सारुले प्रदेशका १२ जिल्लामध्ये नवलपरासी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नवलपरासी अग्रस्थानमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभयो ।

१६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले विभिन्न १४ वटा रोगविरुद्धको खोप अनिवार्य रुपमा लगाएपछि पूर्ण खोप सुनिश्चितता भएको मानिने व्यवस्था छ । जिल्लामा उक्त उमेर समूहका सबै १८ हजार ३४९ जना बालबालिकाले आवश्यक खोप प्राप्त गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नवलपरासी जिल्लालाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको जिल्ला बन्नु खुसीको विषय भएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा जिल्लाले देखाएको उपलब्धि प्रशंसनीय रहेको उल्लेख गर्दै सुरक्षित मातृत्व र बाल स्वास्थ्यलाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। साथै उहाँले सबै स्थानीय तह, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको समन्वय र मेहनतका कारण यो सफलता सम्भव भएको बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् बैजनाथ कलवारले स्वास्थ्य सेवामा भएको प्रगतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोप कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सरकारी संयन्त्र र समुदायबीचको समन्वयले उपलब्धि सम्भव भएको बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य आपुर्ति ब्यबस्थान केन्द्रका निर्देशक डा रोजेन्द्र गिरी, बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकनाथ सुनार लगायतको सहगाीता रहेको खोप अधिकृत भेषराज शर्माले बताउनु भयो ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :