बिजौरी अस्पताल र सिंहदरबार वैद्यखानाबीच औषधि आपूर्ति सम्झौता

स्वास्थ्यसमाचार/ दाङस्थित प्रादेशिक आयुर्वेद अस्पताल बिजौरी ले गुणस्तरीय आयुर्वेदिक औषधि सेवा विस्तार गर्ने उद्देश्यसहित सिंहदरबार वैद्यखाना  सँग औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।

सरकारी–सरकारी (Government to Government–G2G) साझेदारीअन्तर्गत भएको उक्त सहकार्यले दाङमा आयुर्वेद स्वास्थ्य सेवाको विश्वसनीयता र पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार अब प्रादेशिक आयुर्वेद अस्पताल बिजौरीको सशुल्क फार्मेसीका लागि सिंहदरबार वैद्यखानाद्वारा उत्पादित गुणस्तरीय तथा प्रामाणिक आयुर्वेदिक औषधिहरू उपलब्ध गराइनेछ। यसबाट सेवाग्राहीले सरकारी स्तरमै उत्पादन भएका भरपर्दा आयुर्वेदिक औषधि सहज रूपमा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ।

नेपालकै पुरानो तथा प्रतिष्ठित सरकारी आयुर्वेद औषधि उत्पादन संस्थाका रूपमा परिचित सिंहदरबार वैद्यखानासँगको सहकार्यले सरकारी आयुर्वेद संस्थाहरूबीच समन्वय, औषधिको गुणस्तर सुनिश्चितता तथा सेवाको प्रभावकारिता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको अवस्थामा यस्तो सहकार्यलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।

अस्पतालका अनुसार यस साझेदारीले दाङ जिल्लाका नागरिकलाई विश्वसनीय, सुरक्षित र प्रभावकारी आयुर्वेदिक उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ। साथै आयुर्वेद स्वास्थ्य प्रणालीलाई संस्थागत रूपमा थप मजबुत बनाउने दिशामा पनि यो सम्झौता महत्वपूर्ण हुने बताइएको छ।

कार्यक्रममा सरकारी आयुर्वेद संस्थाको सुदृढीकरण, सेवा विस्तार र गुणस्तरीय व्यवस्थापनमा योगदान पुर्‍याएको भन्दै डा. प्रदीप केसीको नेतृत्व, सहयोग तथा दूरदर्शी सोचको विशेष प्रशंसा गरिएको थियो। सहभागीहरूले आयुर्वेद स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि सरकारी निकायबीचको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए।

सम्झौतापत्रमा प्रादेशिक आयुर्वेद अस्पताल बिजौरीका तर्फबाट डा. प्रवेश श्रीवास्तव तथा सिंहदरबार वैद्यखानाका तर्फबाट डा. प्रदीप केसीले हस्ताक्षर गरेका थिए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :