
गोकर्ण ज्ञवाली(प्रकाश), बुटवल | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले बजारमा बिक्री भइरहेका करेन्ट र लाली चाउचाउका केही ब्याच गुणस्तर परीक्षणमा अस्वच्छ देखिएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बिहीबार जारी गरेको आदेशअनुसार परीक्षणका क्रममा चाउचाउमा रहेको “एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु” नेपाल सरकारले तोकेको अनिवार्य मापदण्डअनुसार नपाइएको जनाएको हो।
विभागका अनुसार यसोधा फुड्सद्वारा उत्पादित: करेन्ट चाउचाउ (१०० ग्राम) — ब्याच नम्बर ०४ ए, लाली चाउचाउ (५० ग्राम) — ब्याच नम्बर ०२ ए मा गुणस्तर मापदण्ड विपरीत फ्याट एसिडको मात्रा भेटिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार ती ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री वितरण रोक्न उत्पादक कम्पनीलाई निर्देशन दिइएको विभागले जनाएको छ।
‘एसिड भ्यालु’ किन महत्वपूर्ण?
खाद्य विज्ञहरूका अनुसार तेल वा बोसोमा एसिड भ्यालु बढी हुनु भनेको खाद्य पदार्थ पुरानो, बिग्रिएको वा अस्वच्छ अवस्थामा हुन सक्ने संकेत हो। यस्तो अवस्थामा स्वाद, गुणस्तर र उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने जोखिम रहन्छ।
उपभोक्तालाई के सुझाव?
विभागले सम्बन्धित ब्याच नम्बरका चाउचाउ खरिद नगर्न तथा खरिद गरिसकेकाले प्रयोग नगर्न आग्रह गरेको छ। बजार अनुगमनलाई थप कडाइ गरिने पनि विभागले जनाएको छ।

प्रतिकया दिनुहोस्