स्वास्थ्यसमाचार/ ]राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रलाई सरकारको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा विस्तार, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, नसर्ने रोग नियन्त्रण, टेलिहेल्थ सेवा तथा अपांगता पुनःस्थापनाजस्ता विषयलाई विशेष महत्व दिइएको छ ।
सरकारले प्रत्येक नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने घोषणा गरेको छ । यस अन्तर्गत आवश्यक जनशक्ति, औषधि, उपकरण तथा पूर्वाधारसहितको एकीकृत सेवा मोडल कार्यान्वयन गरिने जनाइएको छ । स्थानीय तहसम्म आधारभूत अस्पतालको पहुँच विस्तार गरी स्वास्थ्य सेवालाई नागरिकमैत्री र लागत प्रभावकारी बनाइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत सामुदायिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता, संख्या र कार्यक्षेत्र विस्तार गरिने सरकारको योजना छ । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउन टेलिहेल्थ प्लेटफर्ममार्फत परामर्श सेवा विस्तार गरिने भएको छ ।
सरकारले लामो समयदेखि आलोचनामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनःसंरचना गर्ने घोषणा पनि गरेको छ । बीमा प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र नागरिकको पहुँचमा पुर्याउने उद्देश्य राखिएको छ ।
नीति तथा कार्यक्रममा रोग निगरानी तथा नियन्त्रण प्रणालीलाई सुदृढ गर्न “सेन्टर फर डिजिज कन्ट्रोल” स्थापना गर्ने उल्लेख गरिएको छ । साथै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ । जैविक जोखिम तथा अनुसन्धानलाई व्यवस्थित गर्न राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने योजना पनि अघि सारिएको छ ।
क्यान्सर, मधुमेह, उच्च रक्तचाप लगायतका नसर्ने रोग नियन्त्रणका लागि सरकारले उपचारभन्दा रोकथामलाई प्राथमिकतामा राख्ने नीति लिएको छ । जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने जनाइएको छ ।
मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगका रूपमा विकास गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिने भएको छ । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेका बेला सरकारले यसलाई प्राथमिकतामा राखेको हो ।
त्यस्तै, योग, ध्यान तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रम विस्तार गरिने उल्लेख गरिएको छ । आयुर्वेद, प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गर्दै प्रवर्द्धन गर्ने सरकारको योजना रहेको छ ।
अपांगता भएका व्यक्तिका लागि अत्याधुनिक पुनःस्थापना केन्द्र स्थापना गरिने तथा प्रोस्थेटिक, फिजियोथेरापी लगायत विशिष्टीकृत सेवा उपलब्ध गराइने नीति कार्यक्रममा समेटिएको छ । अपांगताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप तथा पुनःस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिने जनाइएको छ । साथै बौद्धिक अपांगता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाका लागि थेरापी सेवा, विशेष तालिम प्राप्त शिक्षक तथा शिक्षा सेवाको व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनका लागि एकीकृत मानव संसाधन प्रणाली विकास गरिने सरकारको योजना छ । साथै नेपाल औषधी लिमिडेटको स्तरवृद्धि गर्दै स्वदेशी औषधि उत्पादनलाई प्रवर्द्धन गरिने नीति पनि सरकारले अघि सारेको छ ।
यी हुन नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य विषयहरु:
-अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा र विशेष तालीम प्राप्त शिक्षक र शिक्षा सेवाको व्यवस्था मिलाइने छ ।
-आधारभूत स्वास्थ्य सेवामा न्युनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति औषधी उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गरिनेछ ।
-स्वास्थ्य सेवालाइ लागतप्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पताल सम्मको पहुँच सुनिश्चित गरिनेछ ।
-सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता संख्या एवं दायरा विस्तार गरिनेछ ।
-स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गरिनेछ ।
-टेलि हेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलव्ध गराइने छ ।
-रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल तथा स्वास्थ्य सेवाको गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ ।
-राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ ।
-क्यान्सर लगायतका नसर्ने रोग नियन्त्रणका लागि उपचार भन्दा रोकथाम जनचेतना नियमित परीक्षण र जीवन शैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ ।
-मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगको रुपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ ।
-योग ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्ररर्वदन गरिनेछ ।
-अत्याधुनिक अपांगतापुनस्थापना केन्द्रहरुको स्थापना गरी प्रोस्टेथिक फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरु उपलव्ध गराईनेछ।
-अपांगताको प्रारम्भिक पहिचान शिघ्र हस्तक्षेप र पुर्नस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसंग आवद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ ।
-वौदिक अपांगता भएका बालबालिकाका लागि सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
-स्वस्थ जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ ।
-आयुर्वेृद प्राकृतिक तथा बैकल्पिक चिकित्सा उपाचार पद्धतीलाई बैज्ञानिक आधारमा संस्थागत गरिनेछ ।
-नेपाल औषधी लिमिडेटको स्तरउन्नती गरनेछ।
-स्वदेशी औषधी उत्पादनदनलाई प्रर्वद्धन गरिनेछ ।
राष्ट्रपति पौडेलद्वारा प्रस्तुत १०० बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)

प्रतिकया दिनुहोस्