“आफ्नो संस्कारलाई जोगाउँदै, तीजलाई स्वास्थ्यप्रद र मर्यादित बनाऔं”

तीज पर्वमा हिन्दु नारीहरूको महत्त्वपूर्ण महिमा बोकेको चाडका रूपमा मानिन्छ । सानै उमेरमा पराइको घर अन्माएर जाँदा पराई घरको रहन सहन रितिरिवाज संस्कृति सँग घुलमिल भएर बस्नु पर्ने बाध्यता सँगै घरायसी कामकाजमा व्यस्त चेली, सवेरै उठी ढिकी, जाँतो, दैलो, कुचो पानी लगायत अन्य कार्यहरु मेलापात घाँस दाउरामा व्यस्त हुनु महिला दिदी बहिनीहरूको दिनचर्यामा नै बित्ने ईतिहास ताजा छ।

ति अप्ठ्यारा हरुलाई चिर्दै बर्षको एकपटक बिबाह गरेर टाढा रहेका चेलिबेटीहरुका लागि तीज पर्वमा माईत जान पाउनु नै शाैभाग्य नै हो ।माइतमा बुबा आमा दाजुभाई दिदीबहिनी र बालापनका साथीहरू सँग भेटघाट हुने रमाइलो गर्ने।,

मिठा परिकारका भोजन र गरगहना साथ रातो सारी र चुरा पोतेको पहिरनमा वर्ष दिन भरि भए गरेका सुख, दू:ख, पिरमर्का र मनका बिचारका बेदनाहरू गीतको माध्यमबाट प्रस्तुत गर्ने गरि तीज पर्व मनाउने गरिन्छ । पिरमर्का र बेदनाहरुलाई गीत मार्फत प्रस्तुतीकरण गरी नाच्ने गाउने चलन पनि हो ।

पराई घरमा लामो समय देखि माइत जान नपाइएको बेला वर्ष दिनभरि घरायसी कामकाजमा व्यस्त चेली वर्ष दिन भरि बिर्सिएको सम्बन्धलाई माईतीघर सँग जोड्न अनि सुख, दू:ख र मनका भावनाहरूलाई व्यक्त गर्नका लागि तीजमा भाई लिन आउने भाइका साथ खुसी सँगै माईत जाने तीज पर्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

धार्मिक दृष्टिकोणले हेर्नु पर्दा यसको आफ्नै महिमा छ । माइतमा तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट ब्रत बस्ने प्रचलन रहि आएको छ, यसरी ब्रत बस्दा अविवाहित चेलीबेटीले आफ्ना मनोकांक्षा पुरा हुन् भनी बस्ने र विवाहित चेलीबेटीले पतिदेवको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्ने प्रचलन चलि आएको छ ।

नारीलाई लक्ष्मीको रुपमा मानिने, नारी घरमा भित्र्याउँदा लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता पनि रहि आएको छ । नेपाली समाजमा अनेक विविधतामा एकताको सन्देश फैलाउने पर्व भएकाले गौरव बोकेको संस्कारको रुपमा पनि लिन सकिन्छ।यसरी कतिपय धार्मिक दृष्टिकोणमा नारीहरूको बारेमा सकारात्मक कुरा सँगै प्रकृति अनुसारको संस्कृति भएकाले नेपाली चाडपर्वहरु उल्लासमय हुनु त स्वभाविकै हो ।

माईतिघरमा दिदीबहिनिका साथ घरमा पकाएका अनेक परिकार, भोजनका साथ तीजका गीत गाउँदै नाच्ने चलन हो, अहिले लाग्छ, त्यो बेलाको तीज पर्व !!! चेलिबेटी हुने घरमा उल्लासमय वातावरणका साथ,घर, चोक चौतारामा नाचगान गरी रमाइलो गर्ने चलन छ ।वास्तवमा पछिल्लो समयमा सूचना र प्रविधिको उच्चतम विकास सँगै तीजको माहोल बढी भड्किलो, खर्चिलो र नकारात्मक दिशामा केन्द्रीत रहेको देखिन्छ । कतिपय कुरामा विकृति विसंगतिको स्वरुप पनि तीज पर्वमा झल्किरहेका छन् ।

महिनौं दिन अगाडी पार्टी प्यालेसमा तीज पर्व मनाउने प्रचलन हावी भएका छन् । एक सामाजिक महत्त्व बोकेको मुख्य पर्वलाई देखासिकी र नसाजन्य पदार्थमा लट्ठीएर मातेका गतिविधिहरु देख्न सुन्नमा आइरहेका छन् । तीजपर्व नजिकै गर्दा ,अनावश्यक देखासिकी ले गाउँ समाजमा चलिआएको संस्कार जोगाउन भन्दा पनि खर्चिलो र भट्किलो प्रवृत्ति तर्फ लागेको पाइन्छ ।अहिलेको सामाजिक संजालले नेपाली चेलीबेटीको मन, मस्तिष्कमा परम्परा धान्न र पचाउन नसक्ने उच्छृङ्खलता भरिदिएको देख्न सकिन्छ ।

अहिले आधुनिकताका नाममा नेपाली समाजमा सकारात्मक कुरामा भन्दा पनि नकारात्मक कुरा प्रयोग भईरहेका छन् । कतिपय महिलाहरुले महिलामा हुनुपर्ने , लज्जा अनि संयमता लाई बिर्सेर घरमा नभई पार्टी प्यालेसमा जम्मा भई नसालु पर्दा सेवन गरि नाचगानको नाममा जथाभावी तडक, भडक र भड्किला गीत तथा संगित हुने गरेका छन् । स्वतन्त्रताको नाममा दोहोरो अर्थ लाग्ने खालका गीतहरु गाउने, समाजमा अपाच्य नृत्य प्रदर्शन गर्ने प्रवृत्तिले गर्दा अहिलेको तीजको रौनकमा नै खलबल पुर्याइदिएको छ । कतिपय गीत बाबुआमा छोराछोरीले सँगै बसेर हेर्न सुन्न लायक छैनन् ।

तिजपर्वको नाममा विकृति हुन दिनु धर्म संस्कार भुल्नु आफैमा ठूलो विडम्बना हो ।हाम्रो संस्कृतिले गति छोडी पथभ्रष्ट भई नकारात्मकताको दिशामा अगाडि बढीरहेको छ जस्तो लाग्छ ।यसले समाजमा के सन्देश दिँदैछ त ? भन्ने कुरा हामी नेपाली जनताले बुझ्नु पर्ने र सुधार गर्नु पर्ने कुरा पनि हो ।तीज पर्वमा राम्रा कुरालाई अनुसरण गरी नराम्रा कुरालाई त्यागी पुन: हाम्रो नेपालको अनमोल पर्वको रुपमा मनाउन पाए हाम्रा पुर्खाहरूको सपना पनि साकार हुने थियो ।

अत:तीजबाट समाजमा पच्ने खालका सकरात्मक कुराहरूको अनुसरण गरि आफ्नो जिम्मेवारी नविर्सिएर अगाडी बढ्नु पर्ने देखिन्छ । नेपाल जस्तो संस्कृतिमा धनी देशमा कुनै पनि पर्व तडक भडकका साथ मनाउनु दु:खद पक्ष हो । संस्कृति भित्रका विकृतिलाई पन्छाउँदै लैजानु पर्ने र संस्कृतिलाई आत्मसाथ गरी अगाडी बढ्नु पर्ने देखिन्छ । यस्ता प्रवृत्तिले गर्दा क्षणिक लाभ हुने भन्दा पनि दीर्घकालिन रुपमा असर पारेको हुन्छ ।

यसरी हामीलाई पुर्खाले सुम्पिएका पर्वलाई विकृतिको स्वरुपमा लैजाँदा विसङ्गति बढेर विविध मूल्यमान्यतामा ह्रास आउने, अनुशासन, मर्यादा, संस्कारको लोप हुने खतरा पनि हुन् सक्छ।अहिलेको यो समयमा महिला, पुरुष दुवै आ–आफ्नो काममा व्यस्त रहेका हुन्छन् । यही व्यस्त समयलाई रमाइलो बनाउनका लागि हाम्रा चाडपर्व, रीतिसंस्कृतिहरुलाई बचाइरहनु अपरिहार्य रहेको छ ।

मानवमा कमी कमजोरी हुन्छन् नै, त्यस्ता कमी कमजोरीहरुलाई केलाउँदै सकारात्मक कुराहरुलाई बढावा दिने र नकारात्मक कुराहरुलाई जरैदेखि उखेल्नु पर्ने देखिन्छ । हाम्रो एक मात्र उद्देश्य भनेको मौलिकता नमेटियोस्, विकृति विसंगतिलाई मेटाउँदै लैजाने भन्ने हो । यस तीज पर्वको अवसरमा सबै दिदीबहिनीहरुलाई तीज पर्वको अवसरमा शुभकामना । लेखक नेपाल स्वास्थ्यकर्मी संघका नेता तथा स्वास्थ्यकर्मी हुन  ।

सम्बन्धित शिर्षक :