भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल

 

गुल्मीको गाउँबाट स्वास्थ्य सेवामा प्रवेश गरेका डा. कृष्ण खनालले हेल्थ असिस्टेन्ट हुँदै डाक्टर र सर्जनसम्मको यात्रा तय गरे। कर्णालीको विकट हेल्थपोस्टदेखि मुस्ताङ, लुम्बिनी अञ्चल अस्पताल हुँदै निजी अस्पतालको नेतृत्वसम्म आइपुगेका उनले पछिल्लो दुई दशकमा मात्रै ४० हजारभन्दा बढी मेजर शल्यक्रिया गरेका छन्। ६७ वर्षको उमेरमा पनि उनको दैनिकी अस्पताल र बिरामीकै वरिपरि घुमिरहेको छ।

गुल्मीको धुर्कोटमा जन्मिएका कृष्ण खनालले आगामी मंसिरमा ६८ वर्ष टेक्दैछन्। उमेरले उनलाई आराम गर्नुपर्ने बेला आएको संकेत गरे पनि उनको मन भने अझै अस्पतालमै रमाउँछ।

बिहान अस्पताल पुग्ने, बिरामी हेर्ने, शल्यक्रियामा सहभागी हुने र अस्पतालको प्रशासनिक जिम्मेवारी सम्हाल्ने उनको दैनिकी हो।

‘मलाई अस्पताल आउन जतिको खुसी केही लाग्दैन,’ उनी भन्छन्, ‘बिरामीलाई खुसी बनाएर पठाउँदा नै आनन्द आउँछ।’

सरकारी सेवाबाट निवृत्त भइसकेका खनाल अहिले पनि बुटवल अस्पताल प्रालिमा पूर्णकालीन रूपमा कार्यरत छन्। उनी त्यहाँ मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीसँगै सर्जरी सेवामा पनि सक्रिय छन्।

बीएस्सी पढ्न हिँडेका थिए, एचएमा पुगे

खनालको डाक्टर बन्ने यात्रा आजको जस्तो सहज थिएन।

२०३२ सालमा गुल्मीबाट एसएलसी पूरा गरेपछि उनले पाटनबाट आईएस्सी गरे। त्यसपछि बीएस्सी पढ्ने तयारीमा थिए। त्रिचन्द्र क्याम्पसतर्फ फाराम भर्न जाँदै गर्दा रणधीर सुब्बाका छोरासँग भेट भयो।

उनले आईएस्सी सकेको र बीएस्सी नगरी एचए पढेर पछि डाक्टर पढ्न पाउने नीति सरकारले ल्याउन लागेको सुनाए।

त्यो कुरा खनाललाई पनि चित्त बुझ्यो। उनी एचए अध्ययनतर्फ लागे।

तर उनले सुनेको योजना तत्काल कार्यान्वयन हुन सकेन। त्यसको मुख्य पात्रका रूपमा रहेका रणधीर सुब्बाका छोराको निधन भएपछि त्यो योजना पनि त्यत्तिकै हरायो।

तर त्यतिबेलासम्म खनाल एचएको यात्रामा अघि बढिसकेका थिए।

एचए पूरा गरेपछि २०३९ सालमा लोकसेवा उत्तीर्ण गरेर उनी कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोस्ट पुगे।

सात दिन हिँडेर पुगेको कालिकोट

आज सडक र यातायातले दुर्गम भनिएका ठाउँसमेत जोडिँदै गएका छन्। तर खनालले स्वास्थ्य सेवा सुरु गरेको समय कर्णाली पुग्नु आफैंमा एउटा चुनौती थियो।

नेपालगन्जबाट सुर्खेत हुँदै पैदल सात दिन लगाएर उनी कालिकोट पुगेका थिए।

‘सरकारी काम गर्ने भनेपछि जहाँ खटायो त्यहाँ पुग्नुपर्‍यो,’ उनी त्यो समय सम्झन्छन्, ‘कर्णालीमा अहिले त डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी जान मान्दैनन् भने त्यो समय कस्तो थियो होला।’

त्यतिबेला जिल्लाभरमा एकजना डाक्टर हुने र उनी पनि सधैं सदरमुकाममा नबस्ने अवस्था थियो। गाउँमा स्वास्थ्य सेवा धान्ने जिम्मेवारी एचए र सीएमएकै काँधमा हुन्थ्यो।

‘भीरमा बाबियो समातेर जानुपर्ने बाटा थिए,’ उनी भन्छन्, ‘नेपालगन्जबाट सुर्खेत हुँदै हिँडेर सात दिनमा कालिकोट पुगेको थिएँ।’

फुकोटमा चार वर्ष काम गर्दा उनले सामान्य शल्यक्रियासमेत गर्नुपरेको थियो।

बिरामीको अवस्था जटिल भए नेपालगन्ज लैजानुपर्ने अवस्था थियो। तर नेपालगन्ज पुग्नै सात दिन लाग्ने भएपछि धेरै बिरामीलाई स्थानीय तहमै उपचार गर्नुपर्ने बाध्यता थियो।

‘त्यहाँ अरू विकल्प थिएन,’ उनी भन्छन्, ‘हिँडेर नेपालगन्ज पुग्न सात दिन लाग्थ्यो। बिरामीलाई कसरी पुर्‍याउनु? त्यो बेलाको दिन सम्झँदा अहिले पनि अत्यास लाग्छ।’

दुर्गममै सरुवा, अनि डाक्टर पढ्ने अवसर

कालिकोटपछि २०४३ सालमा उनको सरुवा कञ्चनपुरको दहिजी हेल्थपोस्टमा भयो। दुर्गममा लामो समय बिताइसकेकाले उनले सहज ठाउँमा सरुवा मागे। तर उनलाई फेरि डडेलधुराको अजयमेरु हेल्थपोस्ट पठाइयो।

त्यहाँ पनि उनले स्वास्थ्य सेवा निरन्तरता दिए।

२०४५ सालमा डडेलधुराबाट सरुवा माग्न काठमाडौं आएका बेला एमबीबीएसको फारम खुलेको सूचना पाए। उनले फारम भरेर परीक्षा दिए। नाम निस्कियो।

त्यसैबीच उनको सरुवा अर्घाखाँचीको नरपानी हेल्थपोस्टमा भयो।

अध्ययनसँगै जागिरलाई अघि बढाउन पाउने भएपछि उनी उत्साहित भए।

‘उता अध्ययन बिदामा तलब पनि पाउने र पढ्न पनि पाउने भएपछि खुसीको सीमा रहेन,’ उनी सम्झन्छन्।

नरपानीमा करिब एक महिना हाजिर भएपछि सहकर्मी साथीको भूगोल मिलाउन गुल्मीको ह्वाङ्दी हुँदै पिपलधारा सरुवा भए। एमबीबीएस अध्ययन अवधिभर त्यहीँबाट उनले तलब पाए।

एचएको दरबन्दीबाट एमबीबीएस

२०५० सालमा एमबीबीएस पूरा गर्दा उनको सरुवा रुपन्देहीको लुम्बिनी पीएससीमा भएको थियो।

डाक्टर भए पनि उनको दरबन्दी एचएकै थियो। भीम अस्पतालमा जनशक्ति अभाव भएकाले उनलाई काजमा पठाइयो।

२०५२ सालको लोकसेवामा डाक्टरका रूपमा नाम निकालेपछि भने फेरि दुर्गमको यात्रा तय भयो—मुस्ताङ।

मुस्ताङ जानुको कारण पनि स्पष्ट थियो। थप अध्ययनका लागि सहजता र दुर्गममा काम गरेबापत प्राप्त हुने अवसर।

‘त्यो समय आफूले एमडी पढ्नका लागि सहज ठाउँ पनि खोज्नुपर्ने थियो,’ उनी भन्छन्, ‘दुर्गम गएपछि नम्बर थप गर्न पनि सहज हुन्थ्यो। सबैको सल्लाहले मुस्ताङ जाने निधो गरेँ।’

मुस्ताङ पुगेपछि त्यहाँका जिल्ला जनस्वास्थ्य प्रमुखले कामु दिएर हिँडे। प्रशासनिक जिम्मेवारीसँगै बिरामी हेर्ने काम पनि उनले सम्हाले।

चार वर्ष मुस्ताङ बसेपछि २०५६ सालमा लुम्बिनी अञ्चल अस्पतालमा सरुवा भए।

लुम्बिनीबाट सर्जनको नयाँ यात्रा

लुम्बिनी अञ्चल अस्पतालमा दुई वर्ष सेवा गरेपछि खनालले सर्जरीमा एमडी अध्ययनका लागि छात्रवृत्ति पाए।

अध्ययनका क्रममा केही समय बेतलबी बिदामा बस्नुपरे पनि अधिकांश समय तलबसहित अध्ययन गर्न पाए।

२०६० सालमा सर्जरीमा एमडी पूरा गरेपछि उनको यात्रा पूर्ण रूपमा सर्जनका रूपमा अघि बढ्यो।

अध्ययनकै क्रममा रुपन्देहीको धकधईमा सरुवा भएका उनी एमडी पूरा गरेपछि त्यहीँ हाजिर भए। त्यसपछि भैरहवाको भीम अस्पतालमा काजमा काम गरे।

लुम्बिनी अस्पतालमा सर्जनको आवश्यकता रहेको जानकारी पाएपछि २०६२ सालतिर उनको सरुवा त्यहाँ भयो। २०७६ मंसिरमा सरकारी सेवाबाट अवकाश नलिँदासम्म उनले त्यहीँ लामो समय सेवा गरे।

ऋणमा रहेको अस्पताललाई आर्थिक रूपमा बलियो बनाउने प्रयास

लुम्बिनी अस्पतालमा रहँदा खनालले सर्जरी मात्र गरेनन्, अस्पताल प्रशासनको जिम्मेवारीसमेत सम्हाले।

२७ महिना मेडिकल सुपरिन्टेन्डेन्ट बने।

उनका अनुसार आफू मेसु हुँदा अस्पताल एक करोड ३८ लाख रुपैयाँ ऋणमा थियो। तर २७ महिनाको अवधिमा अस्पतालको खातामा २३ करोड रुपैयाँ जम्मा गराउन सफल भए।

‘सामान्य सुधार र खर्च कटौतीका काम गरेर यो रकम जम्मा भएको थियो,’ उनी भन्छन्।

कर्मचारीको औषधिमा मात्रै वार्षिक ४४ लाख रुपैयाँ खर्च भइरहेको अवस्थामा १२ लाख रुपैयाँको बिमा गराएर २८ लाख रुपैयाँ बचत गरिएको उनले बताए।

त्यस्तै रोटरीसँगको सहकार्यमा अस्पतालमै अक्सिजन उत्पादनको व्यवस्था मिलाउँदा वार्षिक ३७ लाख रुपैयाँ बचत भएको उनको भनाइ छ।

पानी र शौचालय व्यवस्थापनमा समेत छुट्टै व्यवस्था गरेर वार्षिक १२ लाख रुपैयाँ बचत गरिएको उनले बताए।

तर आफ्नो कार्यकालमा इमरजेन्सी र ट्रमा भवन बनाउने सपना पूरा गर्न नसकेको उनको गुनासो छ। प्रदेशबाट ५२ करोड रुपैयाँको योजना पास भए पनि त्यो कार्यान्वयन हुन नसकेको उनले बताए।

४० हजारभन्दा बढी शल्यक्रिया

सर्जन बनेपछि खनालले हजारौं बिरामीको शल्यक्रिया गरेका छन्।

पछिल्लो दुई दशकमा मात्रै ४० हजारभन्दा बढी मेजर शल्यक्रिया गरेको उनको अनुमान छ। माइनर शल्यक्रियाको भने कुनै हिसाब नरहेको उनी बताउँछन्।

‘कतिजनाको मेजर अप्रेसन भयो भनेर एकिन तथ्य भन्न सक्दिनँ,’ उनी भन्छन्, ‘तर पछिल्लो दुई दशकमा मात्रै ४० हजारभन्दा बढी मेजर अप्रेसन भएको हुनुपर्छ। साना अप्रेसनको त हिसाब नै छैन।’

सर्जरीलाई उनी अत्यन्त जिम्मेवारी र जोखिमयुक्त पेसाका रूपमा लिन्छन्।

‘स्वास्थ्यकर्मीले कहिल्यै जानेर कमजोरी गर्नु हुँदैन,’ उनी भन्छन्, ‘थालेको काम पूरा नगरी हिँड्न पनि मिल्दैन।’

‘विज्ञानलाई पनि चुनौती भएको केस थियो’

लामो सर्जिकल यात्रामा उनले धेरै बिरामीलाई नयाँ जीवन दिएका छन्। तीमध्ये रोल्पाका एक किशोरको केस उनको स्मृतिमा अझै ताजा छ।

करिब १८ वर्षअघि रोल्पाका अन्तिम घर्तीमगर नाम गरेका करिब १७ वर्षीय युवक पेट दुखेर उपचारका लागि आएका थिए।

सामान्य समस्या होला भन्ने अनुमानमा शल्यक्रिया सुरु गरेका खनालले भित्रको अवस्था देखेपछि झस्किए।

आन्द्रा कुहिएको थियो। पिप बगिरहेको थियो। अवस्था अत्यन्त जटिल थियो।

‘मलाई सय प्रतिशत उसलाई बचाउन सकिन्छ भन्ने लागेकै थिएन,’ उनी भन्छन्।

आन्द्रा बाहिर निकालेर केही दिन उपचार गर्दै संक्रमण नियन्त्रण गर्ने प्रयास गरियो। तर बिरामी बिस्तारै सुधार हुँदै गए।

अन्ततः उनी निको भए।

उपचारपछि ती युवक कोशेली बोकेर आफूलाई भेट्न आएको क्षण खनालको चिकित्सकीय जीवनकै खुसीका क्षणमध्ये एक बन्यो।

‘कस्तो संयोग, उसलाई त बिस्तारै सुधार भएर अचम्मै भयो,’ उनी भन्छन्, ‘विज्ञानलाई पनि चुनौती भयो जस्तो लाग्यो। ठीक भएपछि कोशेली लिएर भेट्न आएको खुसी कहिल्यै बिर्सन सक्दिनँ।’

तर एउटा घटनाले आज पनि दुखाउँछ

हरेक उपचार सफल हुँदैन। चिकित्सकले आफ्नो तर्फबाट सक्दो प्रयास गर्दा पनि बिरामी गुमाउनुपर्ने अवस्था आउँछ।

लुम्बिनी अस्पतालमा पेट दुखेर आएका रुपन्देही चरङ्गेका एक बिरामीको उपचारका क्रममा भएको घटना उनलाई आज पनि नमिठो लाग्छ।

इमरजेन्सीमा आएका ती बिरामीलाई एपेन्डिक्सको आशंका गरिएको थियो। शल्यक्रिया सुरु गरेपछि भने अवस्था फरक देखियो। सानो आन्द्रा पूरै बिग्रिएर कालो भएको थियो।

‘जति काटेर आन्द्रा तान्दै गयो, सबै कुहिएर कालो भएको भेटिन्छ,’ उनी सम्झन्छन्।

उनले आफ्नो टोलीसँग छलफल गरे र बिरामीका आफन्तलाई पनि वास्तविक अवस्था बताए।

नौ दिनसम्म उपचार गर्दा पनि बिरामीलाई बचाउन सकिएन।

त्यसपछि आफन्तले अस्पतालमै हंगामा गरे। शल्यक्रियाका क्रममा कुकुरको आन्द्रा ल्याएर मिसाएको आरोपसमेत लगाए।

‘काम गर्दा कमजोरी गरेको भए, आफन्तलाई वास्तविकता नदिएको भए के भन्थे होलान्?’ उनी प्रश्न गर्छन्, ‘त्यति धेरै मेहनत गरेर समन्वयमा काम गर्दा पाएको अपजस सबैभन्दा नमिठो लाग्छ।’

श्रीमती, छोरा र छोरी पनि स्वास्थ्य सेवामै

खनालको परिवार नै स्वास्थ्य सेवासँग जोडिएको छ।

उनकी श्रीमती पुतला आचार्य एमएससी अध्ययन गरेकी नर्स हुन्। उनी लुम्बिनी अस्पतालमै नर्सिङ सेवामा कार्यरत छन्।

छोरा आशिष खनालले एमबीबीएस पूरा गरेर भर्खरै लुम्बिनी अस्पतालमा सेवा सुरु गरेका छन्। छोरी एलिना खनाल आँखाको चिकित्सक हुन्।

परिवारका चारै जना स्वास्थ्य सेवामा रहे पनि सबैको दैनिकी व्यस्त छ।

‘परिवारको मुख्य मान्छे जता भयो, अरूको पनि त्यसैमा चासो हुनेरहेछ,’ उनी भन्छन्, ‘मेरो पनि चाहना सबैले यही सेवा अपनाऊन् भन्ने थियो, संयोग पनि मिल्यो।’

सबै जना पूर्णकालीन रूपमा काम गर्ने भएकाले कहिलेकाहीँ धेरै दिनसम्म परिवारका सदस्यबीच भेटसमेत नहुने अवस्था आउँछ।

‘सबैको ड्युटी समय अलग हुन्छ,’ उनी भन्छन्, ‘सरकारी क्षेत्रसँगै सबैले निजीमा पनि काम गर्ने भएकाले खाली समय मिल्दैमिल्दैन।’

दुर्गमको पीडा अझै सम्झनामा

३७ वर्ष सरकारी सेवामा रहँदा खनालले दुर्गमदेखि सुगमसम्मको स्वास्थ्य प्रणाली नजिकबाट देखे।

उनले अवसरका साथै अन्यायका अनुभूति पनि गरेका छन्।

दुर्गममा काम गरेका स्वास्थ्यकर्मीलाई प्राथमिकता दिने योजनाअन्तर्गत थाइल्यान्डमा डर्माटोलोजी अध्ययनका लागि आफ्नो कोटा सुरक्षित भए पनि अन्तिममा हटाइएको घटना उनले अझै सम्झन्छन्।

तर यस्ता घटनाले उनलाई स्वास्थ्य सेवाबाट टाढा बनाएनन्।

‘अस्पताल नआउँदा केही बिराएजस्तो लाग्छ’

आगामी मंसिरमा ६८ वर्ष टेक्दै गरेका खनाल आफूलाई अझै बूढो भएको महसुस गर्दैनन्।

शुभेच्छुक र आफन्तले ‘अब आराम गर्नुस्’ भन्दा मात्रै आफ्नो उमेर सम्झिने गरेको उनी बताउँछन्।

‘म त फूलटाइम अस्पतालमै भेटिन्छु,’ उनी भन्छन्, ‘दैनिक सर्जनको काम गरिरहेको छु, प्रशासनिक जिम्मेवारी पनि छँदैछ।’

घरमा पनि उनी जमिन र बिरुवासँग रमाउँछन्। तर अस्पताल र बिरामीसँगको सम्बन्ध उनको पुरानो बानी बनिसकेको छ।

‘पहिलेदेखि बिरामीसँग बोल्ने, खेल्ने बानी परेको छ,’ उनी भन्छन्, ‘यहाँ नआउँदासम्म केही बिराएजस्तो लाग्छ।’

अहिले पनि काम छाड्ने सोचमा छैनन्।

‘कुनै बलियो रोग लागेको छैन,’ उनी ठट्यौली पारामा भन्छन्, ‘बिरामीसँग रमाउने बानी परेको छ। सक्ने बेलासम्म यही काममै खुसी हुने हो।’

उनका लागि स्वास्थ्य सेवा केवल जागिर होइन, जीवनको हिस्सा बनिसकेको छ।

‘पैसाभन्दा पनि सेवामा लाग्ने मान्छे हो पहिलेदेखि,’ उनी भन्छन्, ‘काम गरेपछि पैसा त आफैं आउँछ, खोज्दै।’

नयाँ पुस्तालाई ‘संघर्ष’को पाठ

चार दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा बिताएका खनाल नयाँ पुस्ताको काम गर्ने शैलीलाई पनि नजिकबाट हेरिरहेका छन्।

उनको बुझाइमा अहिलेका युवाले पहिलेको पुस्ताले जस्तो अभाव र संघर्ष भोग्नुपरेको छैन। त्यसैले कतिपयमा तत्काल ठूलो उपलब्धि हासिल गर्ने महत्वाकांक्षा देखिन्छ।

तर उनको सुझाव छ—सफलता क्रमिक रूपमा हासिल गर्नुपर्छ।

‘अहिले आएको पुस्तालाई कुनै ठूलो मेहनत गर्नुपरेको छैन,’ उनी भन्छन्, ‘स्रोत जुटाउन पनि समस्या झेल्नुपरेन। अभाव भन्ने नै अनुभूति भएन।’

उनका अनुसार त्यसैले धेरै युवा तुरुन्तै परिणाम खोजिरहेका छन्।

‘धेरै संख्यामा महत्वाकांक्षी देखिन्छन्,’ उनी भन्छन्, ‘तर त्यसलाई क्रमिक रूपमा सुधार गरेर लैजानुपर्छ। तुरुन्तै नतिजा खोज्नेहरूबाट दुःख पाउन सकिन्छ।’

उनको जीवनयात्राले भने यही कुरा देखाउँछ—गुल्मीको गाउँबाट सुरु भएको यात्रा, सात दिन हिँडेर पुगेको कर्णाली, दुर्गममा स्वास्थ्य सेवा, जागिरसँगै अध्ययन, एमबीबीएस, सर्जरीमा एमडी, हजारौं शल्यक्रिया र अस्पताल नेतृत्वसम्मको जिम्मेवारी।

त्यसैले नयाँ पुस्तालाई उनको अन्तिम सन्देश पनि आफ्नै जीवनसँग जोडिएको छ

सम्बन्धित शिर्षक :