स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा विभिन्न सचेतनामूलक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ भव्य रुपमा सम्पन्न गरिएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने स्तनपान सप्ताहको अवसरमा मातृ तथा शिशु स्वास्थ्यमा केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
अस्पतालका मेट्रोन नेहा थापाका अनुसार सप्ताहभरि हरेक दिन फरक–फरक गतिविधिहरू सञ्चालन गरिएका थिए। एक हजारभन्दा बढी आमाहरूलाई शिशु स्याहार, पोषण र स्तनपानका विषयमा अन्तरक्रियात्मक सत्रमा सहभागी गराइयो। साथै, स्तनपान सम्बन्धी सचेतनामूलक पम्प्लेट वितरण, भिडियो प्रस्तुति, र डेमो कार्यक्रमहरू पनि सञ्चालन गरिएको उनले जानकारी दिइन्।
कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीले पछिल्लो एक वर्षमा १२ हजार ९५ जनाले सेवा लिएको जानकारी दिए। तीमध्ये ८ हजार ५४८ जना आमाले सामान्य रूपमा शिशु जन्माएका थिए भने ४ हजार ५४७ केसमा शल्यक्रिया गरिएको थियो।
नवशिशुका लागि स्तनपान अमृतसरूप हो भन्ने सन्देश आमाबुवालाई पुर्याउन उद्देश्यले कार्यक्रम गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. इन्द्र ढकालले बताए।
अस्पतालमा प्रसूति सेवा थप प्रभावकारी बनाउन छुट्टै भवनमा सेवा विस्तार, छुट्टै शल्यक्रिया कक्षको व्यवस्था, ल्याप्रोस्कोपी प्रविधि लगायतका सुविधा थपिएको जानकारी डा. ढकालले दिए।
प्रतिकया दिनुहोस्