तिलोत्तमा नगरपालिका तीव्र गतिमा सहरीकरण भइरहेको स्थानीय तह हो। बढ्दो जनसंख्या, विस्तारिँदो बजार र शिक्षा तथा रोजगारीका अवसरसँगै यहाँ स्वास्थ्य सेवाको माग पनि बढिरहेको छ। नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अघि सारेका पछिल्ला कार्यक्रमले स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने संकेत गरेका छन्। अब त्यसलाई व्यवस्थित गर्दै नगर अस्पतालको दिगो संरचना निर्माणतर्फ अघि बढ्नु आवश्यक देखिन्छ।
नगरपालिकाले सञ्चालनमा ल्याएको ‘सुलभ फार्मेसी’ त्यसैको एउटा उदाहरण हो। नागरिकले औषधि सस्तो मूल्यमा पाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम सकारात्मक र अनुकरणीय छ। यससँगै सुलभ प्रयोगशाला र फिजियोथेरापी सेवा सञ्चालनको तयारीले सामान्य स्वास्थ्य सेवाका लागि निजी संस्थामा निर्भर नागरिकलाई केही राहत दिनेछ।
तर स्वास्थ्य सेवाको आवश्यकता औषधि, प्रयोगशाला र फिजियोथेरापीमा मात्र सीमित छैन। बिरामी पर्दा नजिकै उपचार पाउने, आकस्मिक अवस्थामा तत्काल सेवा प्राप्त गर्ने र स्वास्थ्य बीमामार्फत उपचार गराउने भरपर्दो अस्पताल आवश्यक हुन्छ। त्यसैले तिलोत्तमाको स्वास्थ्य यात्राको अर्को चरण नगर अस्पताल सञ्चालन हुनुपर्छ।
तिलोत्तमाको अनुमानित जनसंख्या करिब एक लाख ५५ हजार छ। तर नगरको स्थायी जनसंख्याभन्दा यहाँ स्वास्थ्य सेवा लिने नागरिकको संख्या बढी छ। भाडामा बस्ने, व्यापार–व्यवसाय गर्ने, अध्ययन तथा रोजगारीका लागि आउने र दैनिक रूपमा आवतजावत गर्नेको संख्या पनि ठूलो छ। बजार, शिक्षा र रोजगारीको केन्द्रका रूपमा विकास हुँदै जाँदा आसपासका क्षेत्रबाट उपचारका लागि आउने नागरिकको चापसमेत थपिँदै गएको छ।
त्यसैले तिलोत्तमाले आफ्नो जनसंख्या मात्र होइन, सेवा लिन आउने वास्तविक जनसंख्यालाई आधार बनाएर स्वास्थ्य पूर्वाधारको योजना बनाउनुपर्ने देखिन्छ।
एउटै अस्पतालले धान्दैन
तिलोत्तमाको भौगोलिक अवस्था र जनसंख्या वितरण हेर्दा एउटा मात्रै अस्पतालमा स्वास्थ्य सेवा केन्द्रित गर्नु व्यावहारिक नहुन सक्छ। नगरभित्र विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई क्रमशः स्तरोन्नति गर्दै बहुकेन्द्रित स्वास्थ्य सेवा प्रणाली विकास गर्न सकिन्छ।
शंकरनगर क्षेत्रलाई एउटा महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न सकिन्छ। तिलोत्तमा–१, २, ३, ४, ५ तथा ८ नम्बर वडाका नागरिकलाई लक्षित गरी हाल सञ्चालनमा रहेको शंकरनगर स्वास्थ्य चौकीलाई अस्पतालस्तरको सेवासहित स्तरोन्नति गर्न सकिन्छ।
त्यस्तै सेमरा बजार क्षेत्रलाई अर्को स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न सकिन्छ। तिलोत्तमा–७, ८, ९, १०, ११, १२ तथा १७ नम्बर वडाका नागरिकलाई लक्षित गरी सेमरा बजार स्वास्थ्य चौकीलाई आवश्यक पूर्वाधार र जनशक्तिसहित अस्पतालका रूपमा विकास गर्न सकिन्छ।
आनन्दवन क्षेत्रमा रहेको नगर अस्पताललाई पनि थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ। तिलोत्तमा–५, ६, १३, १४ र १५ नम्बर वडाका नागरिकलाई लक्षित गरी यसलाई आवश्यक सेवासहित विस्तार गर्न सकिन्छ।
यसरी तीनवटै क्षेत्रमा स्वास्थ्य सेवा केन्द्र विकास गर्न सके नागरिकले सामान्य उपचारका लागि टाढा जानुपर्ने अवस्था कम हुनेछ। एउटै अस्पतालमा बिरामीको अत्यधिक चाप पर्ने अवस्थासमेत घटाउन सकिन्छ।
अस्पताल नामको मात्रै होइन, सेवाको हुनुपर्छ
नगर अस्पताल सञ्चालन गर्नु आफैंमा उपलब्धि होइन। अस्पतालमा नागरिकले खोजेको सेवा उपलब्ध हुनु महत्वपूर्ण हो। त्यसका लागि स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्नुपर्छ। जन्मदर्ताकै क्रममा बालबालिकालाई स्वास्थ्य बीमामा आबद्ध गराउने वा त्यसका लागि सहजीकरण गर्ने व्यवस्था गर्न सकिन्छ।
आमा सुरक्षा कार्यक्रम, सुलभ फार्मेसी, गुणस्तरीय प्रयोगशाला, फिजियोथेरापी, आँखा उपचार, दन्त उपचार तथा आकस्मिक र प्राथमिक उपचार सेवा अस्पतालका आधारभूत सेवाका रूपमा विकास गर्न सकिन्छ।
आवश्यकताअनुसार विशेषज्ञ सेवा थप्दै लैजान सकिन्छ। यसका लागि नगरपालिकाले अस्पतालको भवन बनाउनेभन्दा अघि कुन सेवा, कति जनशक्ति र कस्ता उपकरण आवश्यक पर्छन् भन्ने स्पष्ट योजना बनाउनुपर्छ।
उपचारसँगै रोग रोकथाम
नगर अस्पतालको भूमिका बिरामीको उपचारमा मात्र सीमित हुनु हुँदैन। स्थानीय स्वास्थ्य संस्थालाई जनस्वास्थ्य कार्यक्रमसँग जोडेर रोग लाग्न नदिने अभियानसमेत अघि बढाउन आवश्यक छ।
खोप, पोषण, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन, नसर्ने रोग, क्षयरोग, स्वास्थ्य शिक्षा तथा नियमित स्वास्थ्य परीक्षणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सकिन्छ।
विशेषगरी उच्च रक्तचाप, मधुमेह, मोटोपनलगायत नसर्ने रोगको जोखिम बढिरहेका बेला समुदायमै परीक्षण र स्वास्थ्य सचेतना विस्तार गर्नुपर्ने आवश्यकता छ। अस्पतालले उपचारसँगै रोकथाम, स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा काम गर्न सक्नुपर्छ।
अब निर्णयको समय
तिलोत्तमाले स्वास्थ्य क्षेत्रमा सुरु गरेका कार्यक्रमलाई अब संस्थागत र दीर्घकालीन योजनासँग जोड्नुपर्ने बेला आएको छ। सुलभ फार्मेसी, प्रयोगशाला र फिजियोथेरापी सेवा तत्कालका आवश्यकता पूरा गर्ने प्रयास हुन्। त्यसलाई नगर अस्पतालको विस्तृत स्वास्थ्य प्रणालीसँग जोड्न सकियो भने यसको प्रभाव अझ फराकिलो हुनेछ।
शंकरनगर, सेमरा बजार र आनन्दवनलाई केन्द्र बनाएर स्वास्थ्य सेवा विस्तार गर्ने अवधारणाले तिलोत्तमाको स्वास्थ्य सेवाको पहुँचलाई नयाँ चरणमा पुर्याउन सक्छ। तर त्यसका लागि भवनसँगै दक्ष जनशक्ति, उपकरण, औषधि, स्वास्थ्य बीमा र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्छ।
समृद्ध तिलोत्तमा केवल राम्रो सडक, बजार र पूर्वाधारले बन्दैन। स्वस्थ नागरिक त्यसको पहिलो आधार हुन्। त्यसैले अब तिलोत्तमाको विकासको बहसमा स्वास्थ्यलाई केन्द्रमा राखेर नगर अस्पतालको यात्रालाई स्पष्ट नीति, पर्याप्त लगानी र दीर्घकालीन योजनासहित अघि बढाउन आवश्यक छ।‘जनताको स्वास्थ्यमा तिलोत्तमा’ भन्ने अवधारणा नारामा मात्र होइन, नागरिकले घरनजिकै पाउने गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा देखिनुपर्छ। लेखक पाण्डे सेमराबजार स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ।


प्रतिकया दिनुहोस्