स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डसहित विभिन्न अस्पतालमा १००० जना अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सो सङ्ख्याको जनशक्ति थप्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।
गत बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट बोर्डका लागि ४०२ जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव गरिएको थियो ।
हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्याङ्कन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ तथा डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।
यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरहेको कर्मचारी समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरूमा सहजता आउने विश्वास गरिएको छ,’ उहाँले भन्नुभयो ।
प्रतिकया दिनुहोस्