स्वास्थ्यसमाचार अनलाईन |नयाँ स्वास्थ्य बीमा दर्ता गर्न वा नवीकरण गर्न अब सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ आवद्धता, नवीकरण र केवाईसी अद्यावधिकको सुविधा अनलाइनबाटै उपलब्ध गराएको छ।
बोर्डले शुक्रबारदेखि eportal.hib.gov.np मार्फत सेवा सञ्चालनमा ल्याएसँगै घरमै बसेर स्वास्थ्य बीमासम्बन्धी काम गर्न सकिने भएको हो।
मोबाइलबाटै बीमा शुल्क तिर्न सकिने
नयाँ प्रणालीमार्फत स्वास्थ्य बीमाको प्रिमियमसमेत अनलाइन भुक्तानी गर्न सकिनेछ। ईसेवा, खल्ती र कनेक्ट आईपीएस बाट शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ।
परिवारको बीमा विवरण पनि अनलाइनबाटै
अब व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्न तथा नवीकरण गर्न सक्नेछन्। यसअघि नै बीमा गराएका परिवारले परिवारमूलीको बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र प्रणालीसँग समेत अनलाइन स्वास्थ्य बीमा प्रणालीलाई अन्तरआबद्ध गरिएको बोर्डले जनाएको छ। राष्ट्रिय परिचयपत्र नभएका सदस्यको विवरण भने डिजिटल प्रणालीमा म्यानुअल रूपमा प्रविष्ट गर्नुपर्नेछ।
डिजिटल स्वास्थ्य बीमा कार्ड
अनलाइनबाट विवरण पेश गरेपछि जिल्ला तथा प्रदेश तहबाट आवश्यक प्रमाणीकरण र स्वीकृति प्रक्रिया पूरा हुनेछ। त्यसपछि सेवाग्राहीलाई डिजिटल स्वास्थ्य बीमा कार्ड उपलब्ध गराइनेछ।
कार्यालय तथा संगठित क्षेत्रका लागि पनि बल्क इनरोलमेन्ट र बल्क रिन्युअल को सुविधा राखिएको छ।
स्वास्थ्य बीमा सेवामा गरिएको यो डिजिटल परिवर्तनले लामो लाइन, कार्यालय धाउने झन्झट र समयको बचत गर्ने अपेक्षा गरिएको छ। अब स्वास्थ्य बीमा सेवा कागजी प्रक्रियाबाट क्रमशः डिजिटल प्रणालीतर्फ अघि बढेको छ।


प्रतिकया दिनुहोस्