स्वास्थ्यसमाचार अर्बुद रोग निवारण संस्था, रुपन्देहीले किशोरीहरूलाई एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोपका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोपका बारेमा जानकारी गराउन नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले शनिबार बुटवलमा कार्यक्रमको आयोजना गरि विद्यालयका किशोरीहरुलाई अभिमुखिकरण गरिएको संस्थाका सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सभाहलमा आयोजना गरिएको अभिमुखिकरणमा प्रसुती तथा स्त्रीरोग (गाइनोक्लोजिक अन्कोलोजिस्ट) विशेषज्ञ डा. नारायणबहादुर जिसी पाठेघरको मुखको क्यान्सर, एच.पि.भि. खोप तथा जोखिम न्यूनीकरण र प्रभावका बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै जनस्वास्थ्य अधिकृत उमा थापाले पाठेघरको मुखमा हुने क्यान्सरका कारण हुने मृत्युलाई घटाउनको लागि सरकारले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको बताउँदै पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । उहाँले यो खोप कार्यक्रमबाट लाभ लिन पनि आग्रह गर्नुभयो ।
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीका सभापति खिमबहादुर हमालले पाठेघरको मुखमा हुने क्यान्सरका कारण धेरै महिलाहरुले अकालमा ज्यान गुमाइरहेको अवस्थामा सरकारले त्यस विरुद्धको खोप अभियान सञचालन गरेकोले अभियानलाई प्रभाकारी बनाउन किशोरीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको बताउनु भयो ।
यो खोप अभियान यहि माघको २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि सुरु हुदैछ । यो अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका युवतीहरुलाई सहभागी गराईदै छ ।१६ पालिका रहेको रुपन्देहीमा दुई चरणमा ५८ हजार ८सय ९८ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाउन लागिएको हो ।
पहिलो चरणमा माघको २२ देखि २९ गतेसम्म बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायाँदेवी गाउँपालिकाका ३१ हजार ९५६ जनालाई यो खोप लगाईने छ ।
त्यस्तै अभियानको दोस्रो चरणमा फागुन १ देखि ६ गतेसम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतीया गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाइ गाउँपालिका, सम्मरीमाइ गाउँपालिका र मर्चवारी गाउँपालिकाका २६ हजार ९४२ जना किशोरीलाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
अभियानका लागि रुपन्देहीमा ६८५ खोप केन्द्र तोकिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने गरेको छ ।
कार्यक्रममा लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य मधुसुधन गैरे लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा २ सय बढी युवती सहभागी रहेका थिए ।
प्रतिकया दिनुहोस्