स्वास्थ्यसमाचार /नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार महिलाहरुलाई १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । संघको लुम्बिनीमा बुधबार सम्पन्न २ दिने कार्ययोजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ आर्थिक रकम भत्ता स्वरुप उपलब्ध गराउने घोषणा गरेको हो ।
संघले उपलब्ध गराउने उक्त रकमध्ये ५ हजार रुपैया आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइने छ भने ५ हजार रुपैया नवजात बच्चाको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । नवजात बच्चाको नाममा जम्मा गरिने रकम पुरुष पत्रकारलाई समेत उपलब्ध गराइने उलने उल्लेख गरे ।
यही माघ १५ र १६ गते दुई दिनसम्म आयोजित कार्योजना निर्माण बैठकले पत्रकारहरुको क्षमता बिकास, आर्थिक सशक्तिकरण तथा सञ्चारगृहहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेको छ । महासंघले अँग्रेजी वर्ष २०२५ लाई आधार मनेर १ तत्कालिन र दिर्घकालिन योजनाहरु अघि सारेको छ ।
संघको कल्याणकारी कोषवृद्धि गरेर ४० लाख रुपैयाँ बढी पुर्याउने, लेखनवृत्ति सञ्चालनका लागि ३० लाख बढीको कोष स्थापना गर्ने, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यगरी क्षमता बिकासका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक संघ–संस्थाहरुसँग सम्बन्ध बिस्कारका लागि खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित बनाउने लगायतका एजेण्डाहरु पारित गरिएको सचिव सीपी खनालले जानकारी दिए ।
महासंघले ३ वर्षको अवधिमा कम्तिमा ३० लाख रुपैयाँको लेखनवृत्ति कोष स्थापना गरी पत्रकारको क्षमता बिकासमा लाग्ने योजना प्रस्तुत गरिएको कोषाध्यक्ष नरेश केसीले बताए ।
बैठकमा पारित भएका योजनाहरुलाई वार्षिक क्यालेन्डर बनाएर कार्यन्वयन गर्दै गरिने उपाध्यक्ष विश्वास ढकालले बताए । बैठकमा श्रमजीवी पत्रकारहरुको विगत, वर्तमान र भविष्यका बारेमा समीक्षा गरिएको थियो ।पत्रकारहरुको पेशागत हक–हित र उनीहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने विषयलाई महत्वकासाथ छलफल गरी योजनाहरु तयार पारिएको उपाध्यक्ष ढकालले बताए ।
यसैगरी पछिल्लो समय सामाजिक सञ्चालमा देखिएका विकृति, सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचरण तथा कानूनी प्रावधानहरुको बारेमा समेत गम्भिर रुपमा छलफल गरिएको उपाध्यक्ष अस्मिता पाण्डेले बताइन् ।
बैठकले पछिल्लो समय विभिन्न व्यक्तिहरुले सवारीका साधनहरुमा ‘प्रेस’ लेखेर हिड्ने, यसको दुरुपयोग गर्ने लगायतका गतिवधि बढेको बताउँदै उनले यस्ता गतिविधि रोक्न महासंघ कुनै पनि सदस्यले सवारीमा प्रेस नलेख्न र लेखिएको भए मेटाउनका लागि आह्वान गरिएको उनले जानकारी दिइन् ।
सञ्चारकर्मीको नाममा असम्बन्धित व्यक्तिहरुले समेत गतिविधि गर्ने र त्यसका कारण बास्तविक सञ्चारकर्मीको मर्यादामा आँच आउने गरेको बताउँदै उनले यस्ता गतिविधि रोक्नाका लागि सबैको साझा पहल आवश्यक रहेको उल्लेख गरिन् ।
निर्णयहरु :
१. पत्रकारहरुको क्षमता विकास तथा लेखनवृत्तिका लागि कोष स्थापना गर्ने ।
२. पत्रकार महिलाहरु सुत्केरी हुँदा सुत्केरीको पोषण तथा स्याहारका लागि सहयोग पुर्याउन सुत्केरी कोष स्थापना गर्ने ।
३. मल्टिमिडिया र डिजिटल मिडिया लक्षित भिडियोग्राफी, फोटोग्राफी, सम्बन्धविच्छेदको प्राविधिक तालिमहरु सञ्चालन गर्ने।
४. सञ्चारसम्बन्धि अध्ययन अनुसन्धान र पत्रकारिताको अनुभवमा आधारित प्रकाशनका कार्यहरु गर्ने।
५. खोजमूलक पत्रकारिता र लेखनमा सघाउ पुर्याउने गरी मासिक रुपमा नलेज सिरिज सञ्चालन गर्ने।
६. नेपाल पत्रकार महासंघ रुपन्देहीको मुखपत्र ‘मोफसल’लाई ६-६ महिनामा प्रकाशन गर्ने।
७. नेपाल पत्रकार महासंघ रुपन्देहीको वेबसाइटलाई पत्रकारिताको अध्ययन सामग्रीहरुको संग्रहका रुपमा विकास गर्ने।
८. पत्रकार कल्याणकारी कोष वृद्धि गर्दै जटिल रोग उपचार र दुर्घटनासम्बन्धी उपचारलाई थप प्रभावकारी बनाउन आवश्यकताअनुसार संसोधन गर्ने।
९. पत्रकार आचारसंहिता पालनाका सन्दर्भमा केही जटिलताहरु देखिएको, सामाजिक सञ्जालहरुमा पत्रकारहरुले व्यक्तिगत र संस्थागत आक्षेप लगाएर टिका टिप्पणीहरु गर्ने क्रम बढेको र यसले पत्रकारितालाई नै अमर्यादित बनाउने भएकाले पत्रकारहरुलाई थप जिम्मेवार बनाउन आवश्यक अनुगमन गर्ने र आचारसंहिता पालनाका लागि कडाइ गर्ने। गैर पत्रकार तथा सञ्चार संस्थासँग असम्बन्धित व्यक्तिहरुले सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्ने क्रम बढेको पाइएकाले पत्रकार र सञ्चार संस्थाहरुलाई स्थायी रुपमा प्रेस नलेख्न अपील गर्ने र सुरक्षा निकायलाई प्रेस लेखेर दुरुपयोग गर्नेहरुको निगरानी गर्न आग्रह गर्ने।
१०. सञ्चारमाध्यमहरूमा पत्रकारहरुले पारिश्रमिक पाए नपाएको अनुगमन गर्ने र समयमा पारिश्रमिक प्रदान गर्नका लागि सञ्चारकर्मीहरुलाई अनुरोध गर्ने।
११. सञ्चार संस्थाहरु सञ्चालनमा देखिएका समस्या र चुनौतीका सन्दर्भमा सञ्चालक र सरोकार वालाबीच छलफल सञ्चालन गर्ने र आवश्यक सहजीकरण गर्ने।
१२. रुपन्देहीभन्दा अन्यत्र जिल्लामा कार्यरत रहेका नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्यहरुलाई आफु कार्यरत रहेको जिल्लामै सदस्यता स्थानान्तरण गर्नका लागि आग्रह गर्ने।
१३. नेपाल पत्रकार महासंघ रुपन्देहीका नियमित गतिविधिहरुलाई व्यवस्थित गर्नका लागि निम्नानुसारका विषयगत समितिहरु गठन गर्ने।
क) संस्थागत समन्वय समिति
अध्यक्ष, पूर्वअध्यक्षहरु, सचिव र कोषाध्यक्ष ।
ख) पत्रकार कल्याणकारी कोष व्यवस्थापन समिति
संयोजक: विश्वास ढकाल, सदस्यहरु: नरेश केसी र दिनेश श्रेष्ठ
ग) भौतिक पूर्वाधार व्यवस्थापन समिति
संयोजक: विश्वास ढकाल, सदस्यहरु: भुवन जिसी र नरेश चौधरी
घ) अनुशासन समिति
संयोजक: अस्मिता पाण्डे
सदस्यहरु: सी.पी. खनाल, झविन्द्र देवकोटा, अनिता चौधरी र रविन्द्र गुप्ता
ङ) लैंगिक तथा समावेशी समिति
संयोजक: अस्मिता पाण्डे, सदस्यहरु: अनिता चौधरी र हृदयराम गुप्ता
च) तालिम तथा प्रकाशन समिति
संयोजक: सी.पी. खनाल
सदस्यहरु: ललित पाण्डे, कल्पना डुम्रे र डीबी सुस्लिङ
छ) अन्तरक्रिया तथा पुरस्कार व्यवस्थापन समिति
संयोजक: झविन्द्र देवकोटा, सदस्यहरु: कृष्ण रणपाल र सुमित्रा चापागाइँ
ज) अतिरिक्त क्रियाकलाप समिति
संयोजक: सुमन रश्मि श्रेष्ठ, सदस्यहरु: दिनेश श्रेष्ठ र गोविन्द बहादुर घर्ती
झ) आर्थिक समिति
संयोजक: नरेश केसी, सदस्यहरु: रविन्द्र गुप्ता र राम प्रसाद भण्डारी ।
प्रतिकया दिनुहोस्