गुल्मी जिल्लाका ११ हजार ३ सय किशोरीलाई एच.पि.भी.खोप लगाइने

स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका ११ हजार ३ सय किशोरीलाई उक्त खोप लगाइने भएको छ।

आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन गरिने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका १२ स्थानीय तहका विद्यालयमा अध्ययनरत ११ हजार ४४ छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका २ सय ४४ गरि ११ हजार २ सय ८८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने जानकारी स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले दिनुभयो।

अभियान अन्तर्गत दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा रहेका सामुदायिक विद्यालयतर्फ १ सय ८५ र संस्थागत तर्फ २५ गरी २ सय १० विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु एच.पि.भी.खोप कार्यक्रममा सहभागी हुने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

एच.पि.भी.खोप अभियान देशभर एकैसाथ यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियानलाई सफल र फलदायी बनाउन गुल्मी जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान एकैसाथ सञ्चालन गर्न लागिएको जानकारी कार्यालयले दिएको छ।

जनस्वास्थ्य अधिकृत आचार्यले दिनुभएको जानकारी अनुसार जिल्लाको रेसुङ्गा नगरपालिकाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत एक हजार ५ सय ५ छात्रा र विद्यालय बाहिर रहेका १३ जना,मुसिकोट नगरपालिकाका विद्यालयका एक हजार १ सय ५२ जना र विद्यालय बाहिर रहेका ७४ जना,कालीगण्डकी गाउँपालिकाका विद्यालयका ५ सय ४४ जना ,सत्यवती गाउँपालिकाका विद्यालयका ७ सय ६९ जना र चन्द्रकोट गाउँपालिकाका विद्यालयका ६ सय ९० जना र विद्यालय बाहिर रहेका किशोरीहरू पाँच जनालाई एच.पि.भी.खोप लगाइनेछ।

यसैगरी इस्मा गाउँपालिकाका विद्यालयका ९ सय २ जना र विद्यालय बाहिर रहेका ३५ जना,मालिका गाउँपालिकाका विद्यालयका एक हजार ५ सय ५६ जना,मदाने गाउँपालिकाका विद्यालयका ९ सय ८२ जना र विद्यालय बाहिर रहेका २५ जना,धुर्कोट गाउँपालिकाका विद्यालयका ८ सय ७३ जना र विद्यालय बाहिर रहेका किशोरीहरू ४६ जना, गुल्मीदरबार गाउँपालिकाका विद्यालयका ६ सय ४३ जना र विद्यालय बाहिर रहेका किशोरीहरू पाँच जना रहेका छन ।

यस्तै छत्रकोट गाउँपालिकाका विद्यालयका ७ सय ५२ जना र विद्यालय बाहिर रहेका किशोरीहरू २६ जना र रुरुक्षेत्र गाउँपालिकाका विद्यालयका ६ सय ७६ जना र विद्यालय बाहिर रहेका १५ जना किशोरीलाई एच.पि.भी. खोप लगाइने जानकारी अधिकृत आचार्यले दिनुभयो।

यो अभियान सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जिल्लामा १ सय ८६ जना स्वास्थ्यकर्मी र ३ सय ७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने जनाएको छ।

सम्बन्धित शिर्षक :