प्रदेश ५मा सुरक्षित गर्भपतन गराउनेको संख्या कोरोनाले घटायो

स्वास्थ्यसमाचार/ कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासको कारण सुरक्षित गर्भपतन सेवा लिने सेवाग्राहीको संख्या घटेको छ । सरकारी तथ्याकले गतवर्षको तुलनामा २६ प्रतिशतले सेवाग्राही घटेको जनाएको हो । केन्द्रमा सेवाग्राही घटेपछि प्रदेश ५ मा रहेका सरोकारवाला सेवाप्रदायकहरु टोलफ्रि र घरदैलो कार्यक्रम शुरु गरेका छन ।

प्रदेश ५ मा पछिल्लो ३ वर्षको तथ्याक केलाउदा सर्जिकल सेवा लिने सेवाग्राही १० प्रतिशतले घटेको स्वास्थ्य निर्देशनालयका प्रजनन् स्वस्थ्य सेवाका फोकलपर्सन कौशल भण्डारीले बताए । आर्थिक वर्ष २०७४ /२०७५ मा ८ हजार ३ सय २५ जनाले सर्जिकल तथा १० हजार १ सय ३८ जनाले मेडिकल गर्भपतन गराएका छन ।
यसैगरि आर्थिक वर्ष २०७५/२०७६ मा ७ हजार १ सय ८६ जनाले सर्जिकल तथा १० हजार १ सय २७ जनाले मेडिकल गर्भपतन सेवा लिएका छन ।

पछिल्लो आर्थिक वर्षमा कोभिडका कारण मेडिकल गर्भपतन गराउनेको संख्या बढेको छ भने सर्जिकल सेवा लिनेको संख्या घटेको छ । गत आर्थिक वर्ष २०७६/२०७७ मा सर्जिकल सेवा ६ हजार ८ सय २५ जनाले लिएका थिए भने ११ हजार ९ सय ३५ जनाले मेडिकल सेवा दिएका छन ।

छैटौ सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा मंगलबार बुटवलमा प्रदेश ५ स्वस्थ्य निर्देशनालय, नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा, आईपास नेपाल, मेरि स्टोप्स ईन्टरनेश्नल, पिएसआईको सहकार्यमा सरोकारवालाका बिचमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै फोकलपर्सन भण्डारीले यो वर्ष ‘सुरक्षित गर्भपतन प्रतिको हाम्रो प्रतिवद्घताः कोभिड–१९ को महामारीमा सेवाको सुनिश्चितता’ भन्ने नारा तय भएको बताए ।

सुरक्षित गर्भपतनका लागि ४ वटा मुख्य कुरा आवश्यक पर्ने भन्दै उनले हरेक सेवाग्राही सुचिकृत सेवा प्रदायक, स्वस्थ्य संस्था, गोपनियता, कानुनी दायराभित्र रहेर सेवा लिनुपर्ने बताए । नेपालमा करीब ५० प्रतिशत महिलाको विवाह १८ वर्षभन्दा कम उमेरमा हुने, ५० प्रतिशत महिलाले १८ वर्ष वा योभन्दा कम उमेरमा प्रथम पटक यौन सम्पर्क राख्ने, ४ प्रतिशत किशोरीहरुले १५ वर्ष वा सो भन्दा कम उमेरमा प्रथम पटक यौन सम्पर्क राख्ने तथा १५ देखि १९ वर्ष उमेर समुहका विवाहित महिलामध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका साधनहरु प्रयोग गर्ने तथ्याकले देखाएको छ ।

यसकारण पनि किशोरीहरुलाई सहज र पुर्ण गोप्यमैत्री प्रजनन तथा सुरक्षित गर्भपतन सेवाको आवश्यकता रहेको उनको भनाइ छ । नेपालमा प्रति घण्टा २१ जना, प्रतिदिन ५ सय २० जना, प्रति महिना १५ हजार ५ सय १२ तथा प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित गर्भपतन गराउने एक तथ्याकले देखाएको उनले बताए ।

विश्व स्वस्थ्य संगठनका अनुसार प्रतिवर्ष करीब २० करोड ८ लाख महिलाहरु गर्भवतीमध्ये करीब ४ करोड ५० लाख तथा २२ प्रतिशतले गर्भपतन गराउने जनाएको छ । जसमा ५१ प्रतिशतलेमात्र सुरक्षित गर्भपतन गराउने गर्दछन । प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुने गर्दछन । परिवार नियोजन सेवा लिदालिदै समस्या भएमात्र सुरक्षित गर्भपतन सेवा लिनुपर्ने उनको तर्क छ ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वस्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालले सबै सरोकारवाला पक्ष एक भएर लाग्न जरुरी रहेको बताए । गर्भपतनलाई बढावा दिनेभन्दा पनि सुरक्षित गर्भपतनमार्फत महिलाको स्वस्थ्य प्रति सचेत गराउने अभियान भएको बताए ।

नेपाल परिवार नियोजन शाखा कार्यालय शाखा प्रबन्धक मोहन बश्यालले कोभिड–१९ को संक्रमण हुने त्रासका कारण सेवाग्राहीहरु नआएको बताए । बिकल्पका रुपमा नजिकको औषधी पसलबाट असुरक्षित रुपमा गर्भपतन गराउने दर बढेको छ । आफुहरु टोल फ्रि टेलिफोनमार्फत र घरदैलो कार्यक्रम गर्ने तयारी गरेको उनले बताए । परिवार स्वस्थ्य महाशाखाको नया गाइडलाईनले स्वस्थ्य संस्था सुचिकृत नभएपनि ब्यक्ति सुचिकृत भए हुने भनेकाले यसलाई सहजता ल्याएको उनले बताए ।

नेपाल परिवार नियोजनका सिनियर स्टाफ नर्स बिष्णु गुरुङले अझै पनि परिवार नियोजन र सुरक्षित गर्भपतनबारे सचेतना जगाउने कार्यक्रमहरु चलाउन आवश्यक रहेको बताईन । नेपालमा सुरक्षित गर्भपतनबारे केवल ४१ प्रतिशतलाई जानकारी भएको तथा परिवार नियोजन सेवा ४२ प्रतिशत महिलाहरुले लिदै आएको तथ्याकबाट पुष्टि भएको बताईन ।

सम्बन्धित शिर्षक :