लाजको पर्दा कि सत्यको उज्यालो? : किशोर मस्तिष्क र समग्र यौन शिक्षा

मेरो कार्यक्षेत्रको OPD (बहिराङ्ग विभाग) को झ्यालबाट बाहिर हेर्दा शहरका सडकहरूमा रंगीचंगी पोसाक लगाएका किशोर-किशोरीहरू हाँस्दै, कुद्दै गरेको देखिन्छ।भविश्यका ति कर्णधारहरूको त्यो अवोध र चञ्चल हाँसो देख्दा मन आनन्दित हुन्छ।

तर, जब साँझपख शहरका गल्लीहरूमा विभिन्न क्याफे र विभिन्न सेन्टर का नाममा चम्किला नियोन साइनबोर्डहरू बल्न थाल्छन्, तब मेरो मनभित्र एउटा मनोचिकित्सकको हैसियतले चिसो पस्छ।

ती कृत्रिम बत्तीहरूको चमकमुनि एउटा यस्तो अदृश्य सामाजिक र मानसिक चक्रव्यूह लुकेको छ, जसमा हाम्रा कयौँ किशोर-किशोरीहरू (Teenagers) बिस्तारै निसासिइरहेका छन्।

यो आलेख केवल कुनै साहित्यिक कल्पना होइन, न त यो समाजलाई सराप्ने कुनै उपदेश नै हो।यो त मेरो क्लिनिकल डायरीका पानाहरूमा कोरिएका ती आँसु, अलमलता र आघातहरूको निचोड हो, जसलाई आज समुदाय (Community), अभिभावक (Parents) र शिक्षक (Teachers) मिलेर चिर्नु ढिला भइसकेको छ।

हामीले बुझ्नैपर्छ कि आजको युवापुस्ता जुन Psychological Vulnerability (मनोवैज्ञानिक संवेदनशीलता) र Identity Crisis (पहिचानको संकट) बाट गुज्रिरहेको छ, त्यसको स्थायी उपचार कक्षाकोठा र घरको बैठक कोठाको बलियो सहकार्य बिना सम्भव छैन।

१. डिजिटल सहरको भ्रम र भित्री रित्तोपन (The Digital Illusion)
आजको समाज एउटा संक्रमणकालीन चरणबाट गुज्रिरहेको छ। हाम्रा किशोर-किशोरीहरू भौतिक रूपमा घरमै भए पनि मानसिक रूपमा एउटा यस्तो अन्तर्राष्ट्रिय डिजिटल संसारमा बाँचिरहेका छन्, जहाँ हरेक कुरा Instant Gratification (तत्काल सन्तुष्टि) मा आधारित छ। टिकटक वा इन्स्टाग्रामको स्क्रिनमा देखिने ‘फिल्टर्ड’ जीवनशैली, ब्रान्डेड लुगा, महँगा मोबाइल र विलासी क्याफे संस्कृतिले उनीहरूको कच्चा मस्तिष्कमा एउटा कृत्रिम ‘सफलता’ र ‘सौन्दर्य’को मापदण्ड स्थापित गरिदिएको छ।

यसले मस्तिष्कको Reward Center (पुरस्कार केन्द्र) लाई यसरी उत्तेजित बनाउँछ कि युवाहरूमा FOMO – Fear of Missing Out (छुट्ने डर) पैदा हुन्छ। जब उनीहरू आफ्नो पारिवारिक यथार्थ र सोसल मिडियाको त्यो चम्किलो संसारबीच ठूलो खाडल देख्छन्, तब उनीहरूको Self-Esteem (आत्मसम्मान) भत्किन थाल्छ। यही विन्दुबाट सुरु हुन्छ- Chronic Feelings of Emptiness (दीर्घकालीन खालीपन)।

यो मानसिक रित्तोपनलाई भर्न उनीहरू जोखिमपूर्ण व्यवहार रोज्न पुग्छन्, जसलाई क्लिनिकल भाषामा Risk-taking Behavior भनिन्छ। सुरुमा कौतुहलता, pocket money (पकेट खर्च) का लागि वा साथीभाइको दबाब (Peer Pressure) का कारण “पार्ट-टाइम जब” भन्दै वा लिभिङ् टुगेदर को संसारमा छिर्ने कतिपय युवतीहरू पछि बिस्तारै Dehumanization (अमानवीकरण) को सिकार हुन्छन्, जहाँ उनीहरूले आफैंलाई एउटा मानिस होइन, बजारमा बिक्ने उपभोग्य वस्तुको रूपमा हेर्न थाल्छन्। यो ‘डबल लाईफ’ (दोहोरो जीवन) ले उनीहरूको मानसपटलमा Cognitive Dissonance (मानसिक द्वन्द्व) पैदा गर्छ, जसले अन्ततः गम्भीर अवसाद र आत्महत्याको सोचतर्फ धकेल्छ।

२. किशोर-किशोरीको भित्री यौन मनोविज्ञान (The Inner Psyche of Teenagers in Sex)
यस दलदललाई अझ गहिराइबाट बुझ्नका लागि हामीले किशोर-किशोरीहरूको त्यो अनौठो र उथलपुथलपूर्ण Inner Psyche (भित्री मनोविज्ञान) को चिरफार गर्नैपर्छ।

किशोरावस्थामा यौनप्रतिको आकर्षण केवल शारीरिक हर्मोनको खेल मात्र होइन, यो उनीहरूको मस्तिष्क र संवेगको एउटा अत्यन्तै जटिल अवस्था हो, जसलाई निम्न चारवटा पाटोबाट हेर्न सकिन्छ:

क) कौतुहलता र जैविक अनिश्चितता (The Curiosity Engine):किशोरावस्थामा प्रवेश गर्दा शरीरमा Estrogen र Testosterone जस्ता हर्मोनहरूको बाढी आउँछ।यो समयमा किशोर मस्तिष्कको Prefrontal Cortex (निर्णय लिने र तर्क गर्ने केन्द्र) पूर्ण रूपमा विकसित भइसकेको हुँदैन, तर Amygdala (संवेग र उत्तेजनाको केन्द्र) अत्यधिक सक्रिय हुन्छ।

उनीहरूको भित्री मानसपटलमा आफ्नो बदलिँदो शरीरलाई लिएर एकैपटक कौतुहलता, डर, र Body Shaming (शारीरिक बनावटलाई लिएर हुने हीनताबोध) चल्छ।”के म सामान्य छु?”, “अरूले मेरो शरीरलाई कसरी हेरिरहेका छन्?” भन्ने प्रश्नले उनीहरूको भित्री अस्तित्वलाई दिनहुँ गिजोलिरहेको हुन्छ।

ख) पहिचानको खोजी र सामाजिक स्वीकृति (Validation & Acceptance):
मनोवैज्ञानिक एरिक एरिक्सनका अनुसार किशोरावस्था भनेको Identity vs. Role Confusion (पहिचान र भूमिकाबीचको अलमलता) को समय हो।

किशोर-किशोरीहरूको भित्री मनोविज्ञानमा यौनिक आकर्षण केवल शारीरिक सुखका लागि हुँदैन, बरु त्यो आफ्नो ‘पहिचान’ (Identity) स्थापित गर्ने माध्यम बन्छ।
साथीभाइको समुहमा “कूल” देखिन वा कसैको नजरमा विशेष बन्न उनीहरू यौनिक व्यवहारको सहारा लिन्छन्। यदि समूहमा अरू कोही सम्बन्धमा (Relationship) छ भने, आफू पनि त्यसमा पस्नुपर्छ भन्ने एउटा नदेखिने मानसिक दबाबले उनीहरूको आत्मसम्मानलाई नियन्त्रण गरिरहेको हुन्छ।

ग) काल्पनिक संसार र भिडीयोको प्रभाव (The Filtered Reality): जब घर वा विद्यालयले यौनका विषयमा मौनता साध्छ, तब किशोर मस्तिष्कले इन्टरनेट र युट्युबलाई नै आफ्नो ‘शिक्षक’ मान्छ। यसले उनीहरूको मानसपटलमा यौनलाई लिएर अत्यन्तै विकृत र हिंस्रक चित्रहरू बनाइदिन्छ। उनीहरूको भित्री मनोविज्ञानमा “यौन भनेको केवल प्रदर्शन (Performance) र उपभोग हो” भन्ने भ्रम बस्छ।
वास्तविक जीवनको स्वस्थ, आदरयुक्त र भावनात्मक सामीप्यता (Emotional Intimacy) को ज्ञान उनीहरूले पाउनै सक्दैनन्।

घ) आवेगशीलता र तत्कालै चाहिने सन्तुष्टिको पासो (Impulsivity & Dopamine Loop):
कुनै पनि निर्णय लिनुअघि त्यसको दीर्घकालीन परिणाम के हुन्छ (जस्तै: अनिच्छित गर्भधारण, STDs वा मानसिक आघात) भन्ने सोच्ने क्षमता उनीहरूको भित्री मानसपटलमा कमजोर हुन्छ।

विशेष गरी Borderline Personality [सीमावर्ती व्यक्तित्व- सम्बन्धमा अस्थिरता, एक्लोपनको तीव्र डर, आत्म-हानि (Self-harm), आफ्नो पहिचानमा अन्योल, खालीपनको महसुस] प्रवृत्तिका लक्षण भएका किशोर-किशोरीहरू आफ्नो भित्री खालीपन र एक्लोपनलाई मेटाउन असुरक्षित यौनिक निर्णयहरूमा चाँडै हाम्फाल्छन्।
उनीहरूका लागि यौन एउटा यस्तो Emotional Rollercoaster (भावनाको उतारचढाव) बन्न पुग्छ, जहाँ उनीहरू डर र कौतुहलताको दोसाँधमा बाँचिरहेका हुन्छन्।

३. त्रिकोणात्मक संकट: शक्तिको भ्रम र हनी ट्र्यापयो सामाजिक विसङ्गतिको अर्को पाटो पुरुषहरूको मनोविज्ञानसँग जोडिएको छ।स्पाका नाममा बन्द कोठाहरू धाउने पाको उमेरका पुरुषहरूमा केवल शारीरिक चाहना मात्र हुँदैन, बरु एउटा गहिरो Emotional Loneliness (भावनात्मक एक्लोपन) र Mid-life Crisis (मध्य-उमेरको मानसिक संकट) लुकेको हुन्छ।

हाम्रो समाजमा पुरुषलाई भावना व्यक्त गर्न निषेध गरिँदा उनीहरू भित्रभित्रै मरुभूमि जस्ता सुख्खा भएका हुन्छन्। उनीहरू पैसाको बलमा बन्द कोठाहरूमा ध्यान, प्रशंसा र कृत्रिम आदर किनिरहेका हुन्छन्।यसलाई मनोविज्ञानमा Power Dynamics (शक्तिको खेल) भनिन्छ, जहाँ पैसाको आडमा कसैको शरीर र समयमाथि पूर्ण Control (नियन्त्रण) पाउँदा उनीहरूको अहंकारले क्षणिक तृप्ति पाउँछ।

यही कमजोरीको फाइदा उठाएर तेस्रो क्रूर कोण सक्रिय हुन्छ—Honey Trap (रूपजाल)। यो जाल बुन्ने मास्टरमाइन्डहरूमा अक्सर Antisocial Personality Disorder – ASPD (अशामजिक व्यक्तित्व विकार- पछुतो वा दया नहुनु, नियम र कानुनको उल्लंघन, धोकाधडी र झुट, आवेगी व्यवहार) का लक्षणहरू हुन्छन्। उनीहरूमा Lack of Empathy (समानुभूतिको पूर्ण शून्यता) र Lack of Remorse (पछुतोको अभाव) हुन्छ।

उनीहरू मानिसको Fear of Social Disgrace (प्रतिष्ठा गुम्ने भय) लाई हतियार बनाएर ब्ल्याकमेलिङ गर्छन्।सिकार भएका व्यक्तिहरू एउटा भयानक Trauma Bonding (आघातजन्य मानसिक बन्धन) मा फस्छन्, जहाँ उनीहरू डर र लाजका कारण न त प्रहरीकहाँ जान सक्छन्, न त परिवारलाई भन्न सक्छन्।

४. समुदाय, शिक्षक र अभिभावकका लागि शिक्षामुलक निर्देशिका

यो सामाजिक र मानसिक क्यान्सरलाई निको पार्न अब हामीले आरोपित गर्ने (Blaming) र लाज मान्ने (Shaming) परम्परागत शैलीलाई पूर्णतः त्याग्नैपर्छ।विद्यालय र घर नै ती प्राथमिक पाटाहरू हुन् जहाँ किशोर मस्तिष्कलाई सही दिशा दिन सकिन्छ।शिक्षक र अभिभावकलाई केन्द्रमा राखेर तयार पारिएका मुख्य शिक्षामुलक बुँदाहरू यस प्रकार छन्:

क) अभिभावकका लागि गृह-पाठ (Home Assignment for Parents)
घर नै पहिलो पाठशाला हो, जहाँ बच्चाको व्यक्तित्वको जग बस्छ।
अभिभावकहरूले केवल भौतिक सुविधाहरू दिनुलाई नै आफ्नो कर्तव्य ठान्नु हुँदैन।

१. Active Listening र Safe Space (सक्रिय श्रवण र सुरक्षित वातावरण):
आफ्ना किशोर सन्तानहरूसँग दिनको कम्तीमा आधा घण्टा बिनाकुनै मोबाइल वा टिभी, आँखामा आँखा जुधाएर कुराकानी गर्ने बानी बसाल्नुस्।

उनीहरूका कुरागर्न नसिकाई, आलोचना नगरी (Non-judgmental) सुनिदिनुस्।
घर यस्तो सुरक्षित आश्रय हुनुपर्छ, जहाँ बच्चाले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती वा समस्या पनि आमाबाबुसँग ढुक्कले भन्न सकोस्।

२. Unconditional Love (शर्तरहित प्रेम):
बच्चालाई उसको परीक्षाको नम्बर, उसको रूप वा उसले आर्जन गरेको सफलताका आधारमा मात्र माया नगर्नुस्। “तिमी जस्तो छौ, मेरो सन्तान हौ र म तिमीलाई सधैँ माया गर्छु” भन्ने भरोसा दिनुस्।
जब बच्चाले घरमा प्रेम र गहिरो Emotional Intimacy (भावनात्मक सामीप्यता) पाउँछ, तब ऊ बाहिर कृत्रिम सामीप्यता वा भौतिक आकर्षणको खोजीमा भौँतारिँदैन।

३. Monitoring without Spying (जासुसी बिनाको निगरानी):
बच्चाको इन्टरनेट प्रयोग, सामाजिक सञ्जालका गतिविधि र साथीभाइको सर्कलका बारेमा सचेत रहनुस्। तर, उसको कोठाको खानतलास गर्ने वा म्यासेजहरू चोरी-चोरी पढ्ने जस्ता जासुसी काम नगर्नुस्।
यसले सम्बन्धमा अविश्वास पैदा गर्छ। बरु, उसलाई डिजिटल माध्यमका जोखिमहरूका बारेमा खुलेर बुझाउनुस्।

४. Modeling Healthy Behaviors (अनुकरणीय व्यवहार):
किशोर-किशोरीहरूले अर्ती उपदेशबाट भन्दा पनि आमाबाबुको व्यवहारबाट धेरै सिक्छन्।
यदि तपाई आफैँ दिनभरि सामाजिक सञ्जालमा व्यस्त रहनुहुन्छ वा पैसा र प्रतिष्ठालाई मात्र जीवनको सर्वस्व ठान्नुहुन्छ भने, बच्चाले त्यही सिक्छ।
घरमा स्वस्थ जीवनशैली, पुस्तक पढ्ने संस्कृति र मानवीय मूल्यहरूको अभ्यास गर्नुस्।

ख) शिक्षक र विद्यालयका लागि शैक्षिक रणनीति (Strategies for Educators)
शिक्षकहरू केवल पाठ्यक्रम रटाउने यन्त्र होइनन्, उनीहरू किशोर मस्तिष्कका शिल्पकार हुन्।
१. Early Detection of Red Flags (चेतावनीका सङ्केतहरूको पहिचान):

विद्यालयमा कुनै विद्यार्थी अचानक एकान्तप्रिय हुन थाल्यो, शैक्षिक स्तर (Academic Performance) खस्कियो, ऊ बारम्बार गयल हुन थाल्यो वा उसको व्यवहारमा आक्रामकतातर्फ परिवर्तन आयो भने त्यसलाई केवल “अनुशासनहीनता” को आरोप नलगाउनुस्।
यी लक्षणहरू कुनै भित्री मानसिक आघात वा डिप्रेसनका सङ्केत हुन सक्छन्। विद्यालयमा तत्काल Mental Health Screening (मानसिक स्वास्थ्य परीक्षण) वा परामर्शको व्यवस्था गर्नुपर्छ।
२. Life Skills Training (जीवन उपयोगी सीपहरू): पाठ्यक्रममा केवल सैद्धान्तिक ज्ञान मात्र होइन, Problem Solving (समस्या समाधान),Critical Thinking (आलोचनात्मक चेत) र
Stress Management (तनाव व्यवस्थापन)जस्ता सीपहरू अनिवार्य रूपमा समावेश गरिनुपर्छ।

विद्यार्थीहरूलाई परीक्षाको तनाव, सम्बन्धको उतारचढाव र विफलतालाई कसरी सहज रूपमा लिने (Resilience) भन्ने कुरा सिकाउनु पर्छ।

३. Neutralizing Peer Pressure (साथीभाइको दबाबको न्यूनीकरण):
विद्यालयमा यस्तो वातावरण सिर्जना गरिनुपर्छ जहाँ सादगी, इमानदारिता र रचनात्मकतालाई सम्मान गरियोस्।
विद्यार्थीहरूबीच महँगा ग्याजेट्स वा ब्रान्डेड सामान प्रदर्शन गर्ने होडबाजीलाई निरुत्साहित गरिनुपर्छ, ताकि विपन्न वा मध्यमवर्गीय विद्यार्थीमा हीनताबोध पैदा नहोस्।

४. Peer Support Groups (सहपाठी सहयोग समूह):
विद्यालयमा विद्यार्थीहरूकै नेतृत्वमा एउटा समूह बनाउन सकिन्छ, जहाँ उनीहरूले आफ्ना उमेरका समस्याहरू एकआपसमा बाँड्न सकून्।कतिपय कुराहरू किशोर-किशोरीहरू शिक्षक वा अभिभावकलाई भन्न डराउँछन्, तर आफ्ना साथीहरूलाई सहजै भन्छन्।यसले मानसिक समस्याहरूलाई सुरुवाती चरणमै पहिचान गर्न मद्दत गर्छ।

ग) समग्र यौन शिक्षाका चार स्तम्भ (The 4 Pillars of Holistic Sex Education)
यौन शिक्षा भनेको केवल नौ कक्षाको स्वास्थ्य पुस्तकमा भएको प्रजनन प्रणालीको चित्र होइन।
विद्यालयस्तरदेखि नै शिक्षक र अभिभावकको रोहवरमा यसलाई जीवनको अनिवार्य अङ्गका रूपमा Holistic Sex Education (समग्र यौन शिक्षा) को रूपमा सिकाउनुपर्छ।

यसका चारवटा मुख्य स्तम्भहरू निम्न छन्:

१. Consent & Boundaries (सहमति र सम्बन्धको सीमा):
बालबालिकालाई बाल्यकालदेखि नै ‘गुड टच’ र ‘ब्याड टच’ मात्र होइन, किशोरावस्थामा पुगेपछि Consent (सहमति) को कानुनी र नैतिक गहिराइ सिकाउनु पर्छ। ‘नाइँ’ (No) भन्नु र अरूको ‘नाइँ’ लाई बिनाकुनै प्रतिशोध वा इगो सम्मान गर्नु नै सभ्य नागरिकको पहिलो सर्त हो।यो सहमति भौतिक जीवनमा मात्र होइन, डिजिटल स्पेसमा कसैको फोटो खिच्ने, सेयर गर्ने वा व्यक्तिगत म्यासेज पठाउने कुरामा पनि उत्तिकै लागू हुन्छ।

२. Body Autonomy & Self-Worth (आफ्नो शरीरमाथिको अधिकार र आत्म-मूल्य):
मेरो शरीर मेरो आफ्नो साम्राज्य हो र यसमाथि मेरो मात्र अधिकार चल्छ भन्ने दृढ चेतना किशोर-किशोरीमा हुनुपर्छ।
सोसल मिडियाले तय गरिदिएको कृत्रिम शारीरिक सौन्दर्यको मापदण्डका आधारमा होइन, बल्कि आफ्नो मौलिक अस्तित्वका आधारमा आफ्नो मूल्य तोक्न उनीहरूलाई सिकाउनुपर्छ।
यसले उनीहरूलाई आर्थिक प्रलोभन वा सामाजिक दबाबमा परेर आफ्नो आत्मसम्मान कौडीको भाउमा लिलाम नगर्ने मानसिक शक्ति दिन्छ।

३. Emotion Regulation (भावना र संवेगहरूको व्यवस्थापन):
किशोरावस्थामा हर्मोनल परिवर्तनका कारण मस्तिष्कमा आउने तीव्र आवेगशीलता (High Impulsivity) लाई कसरी रचनात्मक र सुरक्षित माध्यम (जस्तै: खेलकुद, साहित्य, कला) बाट व्यवस्थापन गर्ने भन्ने कला सिकाउनु पर्छ।

जब युवाहरूले आफ्नो भित्री खालीपन वा तनावलाई लुकाउन जोखिमपूर्ण व्यवहार रोज्नुको सट्टा मानसिक दृढता र स्वस्थ भावनात्मक अभिव्यक्ति सिक्छन्, तब उनीहरू क्षणिक सन्तुष्टिका लागि आफ्नो भविष्य दाउमा लगाउँदैनन्।

४. Cyber-Sexuality & Media Literacy (डिजिटल यौनिकता र मिडिया साक्षरता):इन्टरनेट र पोर्नोग्राफीले देखाउने विकृत, अवास्तविक र व्यावसायिक संसार र वास्तविक जीवनको स्वस्थ, आदरयुक्त र भावनात्मक सम्बन्धबीचको आकाश-जमिनको भिन्नता बुझाउनु यसको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो।
डिजिटल माध्यममा आफ्नो गोपनीयता (Privacy) कसरी सुरक्षित राख्ने, Sexting (डिजिटल माध्यममा यौनजन्य सन्देश आदानप्रदान) का अदृश्य कानुनी र मनोवैज्ञानिक जोखिमहरू के-के हुन्,

‘स्क्रिनसट’ कसरी ब्ल्याकमेलिङको हतियार बन्न सक्छ र साइबर स्पेसमा कसरी ‘हनी ट्र्याप’को सिकार हुनबाट बच्ने भन्ने प्राविधिक र मानसिक सचेतता यसै स्तम्भले दिन्छ। चिकित्सकीय अन्तर्दृष्टि: समग्र यौन शिक्षा अब कुनै विलासिता वा आधुनिकताको गफ होइन, यो त आजको युवापुस्तालाई मानसिक र सामाजिक रूपमा अपाङ्ग हुनबाट बचाउने एउटा Vaccine (खोप) हो।
जब युवा मस्तिष्कहरू भावनात्मक, कानुनी र वैज्ञानिक रूपमा साक्षर हुन्छन्, तब मात्र समाजमा मौलाएका हनी ट्र्याप र यौनिक शोषण जस्ता कुरुप खेलहरूको अन्त्य सम्भव छ।

५. समुदायको भूमिका र कानुनी उपचार (Community and Legal Approach)
यो समस्या केवल घर र विद्यालयको घेराभित्र मात्र सीमित छैन, यसको समाधानका लागि समग्र समुदाय र राज्यको संरचना पनि जाग्नुपर्छ।

१. Non-stigmatizing Community (कलङ्कमुक्त समाज):
यदि कोही किशोर वा किशोरी झुक्यानमा परेर वा परिस्थितिको बाध्यताले यो दलदलमा फसेको छ वा हनी ट्र्यापको सिकार भएको छ भने, समाजले उसलाई अपराधी जस्तो व्यवहार गर्नु हुँदैन।
हाम्रो समाजको आलोचनात्मक र बहिष्कार गर्ने प्रवृत्तिले गर्दा कतिपय पीडितहरू कानुनी उपचार खोज्नुको सट्टा आत्महत्याको बाटो रोज्छन्।
समुदायले उनीहरूलाई पुनर्स्थापना (Rehabilitation) र स्वीकार्यता प्रदान गर्नुपर्छ।

२. Institutional Accountability (संस्थागत जबाफदेहिता):
सहरमा सञ्चालित थेरापीका नाममा चलेका सेन्टरहरूको कडा नियमन र अनुगमन हुनुपर्छ। आवरणमा एउटा पेसा र भित्र अर्को अवैध धन्दा चलाउने सञ्चालकहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ। यस्ता ठाउँहरूमा नाबालक वा किशोर-किशोरीहरूको श्रम शोषण भइरहेको छ कि छैन भन्ने कुरा स्थानीय प्रशासनले नियमित हेर्नुपर्छ।

३. Strict Privacy in Legal Remedies (कानुनी उपचारमा कडा गोपनीयता):
हनी ट्र्याप वा ब्ल्याकमेलिङमा परेका व्यक्तिहरू लोकलाजका कारण प्रहरीकहाँ जाँदैनन्।
राज्यले यस्ता पीडितहरूको पहिचान पूर्ण रूपमा गोप्य रहने र द्रुत गतिमा कारबाही हुने विशेष कानुनी प्रणालीको ग्यारेन्टी गर्नुपर्छ, जसले गर्दा अपराधीहरूको मनोबल टुटोस् र पीडितहरूले न्याय पाउन्।

अन्तिममा: रोगको उपचार कि लक्षणको संहार?

जब म मेरो क्लिनिकको परामर्श कुर्चीमा बस्छु, तब मलाई महसुस हुन्छ—यो चक्रव्यूहमा परेका हाम्रा किशोर-किशोरीहरू कोही पनि मौलिक रूपमा अपराधी वा खराब होइनन्।यी त एउटा गम्भीर रूपमा बिरामी परेको समाजका बाह्य लक्षणहरू मात्र हुन्।जब शरीरमा कुनै गम्भीर इन्फेक्सन हुन्छ, तब ज्वरो आउँछ। ज्वरो आफैंमा रोग होइन, त्यो त भित्र लुकेको खराबीको सङ्केत मात्र हो।

ठीक त्यसैगरी, विकृत स्संस्कृति, किशोर-किशोरीहरूको भटकाव र हनी ट्र्याप यो समाजको भित्री मनोवैज्ञानिक, सामाजिक र आर्थिक इन्फेक्सनका बाह्य लक्षणहरू हुन्। रोग तो हाम्रो कपटी सामाजिक संरचना, हाम्रो अपूर्ण शिक्षा प्रणाली र पैसालाई नै सफलताको एकमात्र कसी मान्ने उपभोक्तावादी संस्कृतिमा छ।

यदि हामी यो भुमरीबाट हाम्रा छोराछोरी र आउने पुस्तालाई बचाउन चाहन्छौँ भने, हामीले आरोपित गर्ने बानी छोडेर यसको मनोवैज्ञानिक र संरचनात्मक व्यवस्थापन खोज्नुपर्छ।हामीले लक्षणलाई दबाउने होइन, रोगको जरैदेखि उपचार गर्ने आँट गर्नुपर्छ।

घरमा आमाबाबुको अँगालोको न्यानोपन, विद्यालयमा शिक्षकको मार्गदर्शक आँखा र समाजको समानुभूतिपूर्ण व्यवहार नै त्यो वास्तविक Vaccine (खोप) हो, जसले हाम्रा किशोर-किशोरीहरूलाई यो नियोन बत्तीमुनिको अँध्यारो चक्रव्यूहबाट सदाका लागि जोगाउन सक्छ।अब मौनता तोडेर सत्यको यो तीतो ऐनासँग समाज, राज्य र परिवारले आँखा जुधाउनै पर्छ।

– मनको गोठालो
बुटवल

सम्बन्धित शिर्षक :