बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

स्वस्थ समाज निर्माणका लागि खोप अभियान अनिवार्य : स्वास्थ्य मन्त्री घिमिरे

स्वास्थ्यसमाचार/ बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा शनिबार नेपालगन्ज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा समितिका सदस्य सचिव सुनिता पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिन् ।प्रतिवेदन अनुसार घरधुरी सर्वेक्षणका क्रममा बाँकेमा १६ देखि २३ महिनासम्मका ११ हजार ५ सय ६४ जना बालबालिकाको खोप अवस्था यकिन गरिएको थियो ।

तीमध्ये १० हजार ७ सय ९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो । बाँकी ७६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रपआउट बालबालिका पहिचान भएका थिए ।

ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार आवश्यक खोप प्रदान गरिएको र बाँकेका आठ वटै स्थानीय तहका सबै ११ हजार ५ सय ६४ जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले व्यक्ति स्वस्थ रहन खोप अभियान अनिवार्य रहेको बताए । खोप लगाएर बालबालिकालाई जटिल रोगहरुबाट बचाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले एउटा स्वस्थ व्यक्तिले मात्र परिवार, समाज र राष्ट्रको निमित्त ठोस योगदान पुर्‍याउन सक्ने बताए ।

कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्नु सबै तहको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वयलाई निरन्तर सुदृढ गर्नुपर्नेमा जोड दिए ।

मन्त्री घिमिरेले खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट जोगाउने भएकाले अभिभावकलाई समयमै आफ्ना बालबालिकालाई सबै खोप लगाउन आग्रह गरे ।

उनले नसर्ने रोगको प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । फेरिदो जीवनशैलीका कारण नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिदै गएको भन्दै उनले नियन्त्रणमा प्रदेश सरकारले प्राथमिकता दिएपनि स्रोत साधनको अभावले नसकिएको बताए । उनले रोग लाग्नु भन्दा रोगै लाग्न नदिने गरि प्रदेश सरकार लागि परेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरीले स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण खम्बा महिला स्वास्थ्य स्वयंसेविका भएको बताइन् । उनले पूर्ण खोप सुनिश्चितता तथा दिगो घोषणाका निमित्त महिला स्वास्थ्य स्वयंसेविकाको भुमिका सबैभन्दा बढी रहेको बताइन् । उनले राज्यबाट उपेक्षामा परेपनि महिला स्वास्थ्य स्वयंसेविकाहरुले समुदायमा स्वास्थ्य जागरण फैलाउन अहम् भुमिका खेलेको बताइन् ।

स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि खोप अनिवार्य रहेको बताइन् । लुम्बिनी प्रदेश खोप समन्वय समितिका अध्यक्ष समेत रहेकी उनले लुम्बिनी प्रदेशमा शिशु मृत्युदर पनि बढी रहेकाले सबै बालबालिकालाई खोपको दायरामा ल्याएर मृत्युदर घटाउन पनि खोप कार्यक्रम उपयोगीपूर्ण रहेको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले बाँके खुल्ला सिमाना भएको र तीब्र बसाइँसराइका कारण सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन चुनौतीपूर्ण रहेको बताए । महिला स्वास्थ्य स्वयंसेविका संघ बाँकेका अध्यक्ष प्रेमा शाहीले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले उचित सेवा सुबिधा नदिएपनि आफ्नो दायित्व पूर्णरुपमा निर्वाह गरेको बताइन् ।

जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख सीता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादु बम, जिल्ला खोप समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, साझेदार संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय बाँकेमा खोप फाकल पर्सन देवनारायण उपाध्यायले गरेका थिए ।

सम्बन्धित शिर्षक :