एमबीबीएस पढ्दै रुपन्देही कांग्रेसको क्षेत्रीय प्रतिनिधि बने १९ वर्षीय प्रधुम्न

स्वास्थ्यसमाचार/ पुराना राजनीतिक दलप्रति युवा पुस्ताको वितृष्णा बढ्दो रहेको र नयाँ दलहरूतर्फ आकर्षण देखिएको बहस चलिरहेका बेला रुपन्देहीमा एक १९ वर्षीय एमबीबीएस छात्र नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी प्रधुम्न घिमिरे कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका हुन्।

देवदह मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत घिमिरेले कुनै दबाब वा लहडमा नभई विचार र सिद्धान्त बुझेर कांग्रेस रोजेको बताएका छन्।

विद्यालय तहको शिक्षा नमस्ते एकेडेमी र प्लस टु तिलोत्तमा क्याम्पसबाट पूरा गरेका उनी निजी शिक्षण संस्थामा पढे पनि सानै उमेरदेखि राजनीतिक अध्ययन र बहसमा रुचि राख्थे।

आफ्नो उमेर समूहका धेरै साथीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ धारतर्फ आकर्षित भइरहेका बेला आफूले भने वैचारिक स्पष्टताका आधारमा कांग्रेस रोजेको उनको भनाइ छ।

“म ११–१२ वर्षको छँदा बुवा कांग्रेसमा भएकाले नेताहरू घरमा आउँदा राजनीतिक छलफल हुन्थ्यो। त्यहीँबाट कौतूहल जागेपछि मैले बीपीको आत्मवृत्तान्त पढेँ,” प्रधुम्न भन्छन्, “मैले कांग्रेसको मात्र होइन; मार्क्सवाद, माओवाद र समाजवाद सबैका पुस्तक खोजेर पढेँ।

तीमध्ये मलाई कांग्रेसले अँगालेको प्रजातान्त्रिक समाजवाद नै सबैभन्दा उत्तम लाग्यो।”

समकक्षीहरू वैकल्पिक धारतर्फ लागिरहँदा पनि आफू विचलित नभएको उनी बताउँछन्। पार्टीमा गगन थापाको नेतृत्व र सक्रियताले आफूजस्ता युवालाई झन् ठूलो ऊर्जा दिएको उनको भनाइ छ।

“गगन थापाको विषयवस्तुप्रतिको अध्ययन, प्रस्तुति र समन्वयकारी भूमिका निकै मन पर्छ। जेनजी पुस्ताको मनोविज्ञान बुझेर राजनीतिमा परिवर्तन ल्याउन सक्ने नेतृत्व उहाँ नै हो भन्ने मलाई लाग्छ,” उनले भने, “हो, अहिले पार्टीको सिट सङ्ख्या केही कम होला, तर कांग्रेसलाई नयाँ ढङ्गले रूपान्तरण गरेर अघि बढाउने विचार र भिजन उहाँसँग छ।”

विद्यार्थीले राजनीतिमा चासो राख्न हुँदैन, त्यसमाथि चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गर्नेले राजनीति सोच्नै सक्दैन भन्ने भाष्यलाई उनी अस्वीकार गर्छन्।

“जसले समय व्यवस्थापन गर्न सक्दैन, उसैले यस्ता कुरा गर्छ जस्तो लाग्छ। इच्छाशक्ति भए अध्ययन र राजनीति सँगै अघि बढाउन सकिन्छ । मैले स्कुल–कलेजमा कुनै कमिटीमा बसेर होइन, अध्ययन गरेरै राजनीति बुझेको हुँ। अध्ययनलाई असर नपर्ने गरी नै राजनीतिलाई अघि बढाउँछु”, उनको आत्मविश्वास छ ।

देशमा भविष्य नदेखेर विदेशिने युवाहरूप्रति टिप्पणी गर्दै उनले थपे, “सिक्न र विशिष्ट अध्ययनका लागि विदेश जानु स्वाभाविक हो, तर ‘नेपालमा केही छैन’ भनेर भाग्नु सही होइन। म विचारमा प्रतिबद्ध भएर लागेको हुँ, लहडमा होइन। युवाका चाहना र सोचलाई मूलधारको राजनीतिबाटै सम्बोधन गर्न सकिन्छ।”

प्रधुम्नका बुवा लक्ष्मण घिमिरे र आमा शर्मिला घिमिरे स्थानीय व्यवसायी हुन्। नयाँ पुस्ता राजनीतिबाट टाढिँदै गएको समयमा छोराले डाक्टरी पढाइसँगै वैचारिक राजनीति रोजेकोमा बुवा लक्ष्मण खुसी व्यक्त गर्छन् ।

“बाबु सानैदेखि राजनीतिक विषयमा टाठो थियो। २०७० सालको चुनावमै घरमा मत माग्न आएका एमाले नेता विष्णु पौडेललाई ‘हामी कांग्रेस हौँ, भोट दिन मिल्दैन’ भनेर निर्धक्क भनेको थियो,” लक्ष्मण सम्झन्छन्, “अध्ययनमा पनि अब्बल छ, एमबीबीएस पहिलो वर्ष उत्तीर्ण गरिसक्यो। छोराको अध्ययन र राजनीतिक चेत देखेर हामीलाई गर्व लाग्छ।”

१९ वर्षको उमेरमै कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएपछि यतिबेला प्रधुम्नको चर्चा सामाजिक सञ्जालमा पनि चुलिएको छ। कांग्रेस निकट मात्र नभई अन्य दल सम्बद्ध युवा तथा बुद्धिजीवीहरूले समेत उनको वैचारिक स्पष्टता र आँटको प्रशंसा गरिरहेका छन्।

नयाँ पुस्ताले पुराना दलभित्रै हस्तक्षेप गरेर रूपान्तरण खोज्नु सकारात्मक भएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ।

सम्बन्धित शिर्षक :