स्वास्थ्यसमाचार/महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण र हेरचाहलाई प्राथमिकतामा राख्दै उनीहरूको ज्ञान र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले बदलिँदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या, सामाजिक एक्लोपन तथा हेरचाहका चुनौती बढ्दै गएको बताइन्।
उनका अनुसार ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाह आवश्यक पर्ने समूहका रूपमा नभई ज्ञान, सीप, अनुभव र सामाजिक सम्पदाका रूपमा हेर्न आवश्यक छ। उनीहरूको सक्रिय सहभागिताले परिवार, समाज र राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने उनले बताइन्।
मन्त्री बादीले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने तयारी भइरहेको जानकारी दिइन्। डिजिटल प्रविधिमार्फत उनीहरूको अनुभव अभिलेखीकरण गरी सामाजिक तथा राष्ट्रिय विकासमा उपयोग गर्ने अवधारणा अघि सारिएको उनले बताइन्।
सरकारले संविधान तथा प्रचलित कानुनअनुसार ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्री बादीले उल्लेख गरिन्।
यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा विपद्मा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेकी छन्। प्रभावित तथा घाइते ज्येष्ठ नागरिकको उद्धार, राहत, संरक्षण र पुनःस्थापनाका लागि मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले बताइन्।
‘ज्येष्ठ नागरिकलाई केवल संरक्षणको विषयका रूपमा नभई ज्ञान, अनुभव र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो,’ मन्त्री बादीले भनेकी छन्।
यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘दीर्घायुको युग: दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ रहेको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हरेक वर्ष अक्टोबर १ मा मनाइन्छ।



प्रतिकया दिनुहोस्