स्वास्थ्यसमाचार/ चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सर्पदंशका बिरामीको व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
स्वास्थ्य तालिम केन्द्र दाङको आयोजनामा तथा प्रेरणा परियोजना, फेयरमेड फाउन्डेसन नेपाललगायत संस्थाको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।तालिममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बागलुङ र रुकुमपूर्वका २० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।
सर्पदंशका बिरामीको समयमै पहिचान, प्राथमिक उपचार, एन्टिभेनमको प्रयोग तथा थप उपचारका लागि उपयुक्त स्वास्थ्य संस्थामा रिफर गर्ने विषयमा तालिम दिइएको आयोजकले जनाएको छ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलका प्रमुख डा. राजेन्द्र गिरीले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा सर्पदंश उपचारका लागि आवश्यक एन्टिभेनमको अभाव नरहेको बताउनुभयो।

सर्पदंशका सबै बिरामीलाई आवश्यकताअनुसार चिकित्सकीय परीक्षण गरी उपचार गर्नुपर्ने बताउँदै उहाँले उपचारसम्बन्धी प्रोटोकलअनुसार मात्रै एन्टिभेनम प्रयोग गर्न आग्रह गर्नुभयो।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले चालु वर्षमा मात्रै अस्पतालमा एक सयभन्दा बढी सर्पदंशका बिरामीको उपचार भएको जानकारी दिनुभयो। बाहिरबाट समयमै अस्पताल ल्याइएका सर्पदंशका बिरामीको उपचारका क्रममा मृत्यु नभएको उहाँले बताउनुभयो।

उहाँले अस्पतालमा सर्पदंशका ३९ जना बालबालिकाको उपचार गरिएको जानकारी दिनुभयो। सर्पदंशका बिरामीलाई समयमै अस्पताल ल्याए उपचारबाट निको पार्न सकिने भएकाले ढिला नगरी स्वास्थ्य संस्थामा ल्याउनुपर्ने बताउनुभयो।
तालिमका प्रमुख प्रशिक्षक तथा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. सुरेन्द्र कुँवरले समयमै अस्पताल ल्याइएका सर्पदंशका बिरामी उपचारपछि निको हुने गरेको बताउनुभयो।

सर्पदंशका बिरामीको प्रारम्भिक व्यवस्थापनदेखि जटिल अवस्थाको पहिचान र उपचारसम्मका विषयमा तालिमले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उहाँले बताउनुभयो।
फेयरमेड फाउन्डेसन नेपालका टिम लिडर शोभाराम भण्डारीले स्वास्थ्य क्षेत्रमा सरकारसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।

स्थानीय तहदेखि अस्पतालसम्म सर्पदंशको उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
तालिममा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. सुरेन्द्र कुँवर, बालरोग विशेषज्ञ डा. नेत्र राना, एनेस्थेसियोलोजिस्ट डा. शमिर आचार्य, फिजिसियन डा. हरि पन्थी, फिजिसियन डा. प्रकाश भट्टराई तथा सर्प उद्धारकर्ता विशाल पाण्डेले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी मेट्रोन नेहा थापा, स्वास्थ्य तालिम केन्द्रका लेखा अधिकृत उपज ज्ञवाली, फेयरमेडका जिल्ला संयोजक किरण श्रेष्ठ, फेयरमेड फाउन्डेसन नेपालका अधिकृत तुलसीराम खनाल, मञ्जु घिमिरेलगायतको सहभागिता थियो।
स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवन कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन केन्द्रका जनस्वास्थ्य अधिकृत विभव रानाले गर्नुभएको थियो।




प्रतिकया दिनुहोस्