स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले अस्पताललाई सबै नागरिकले भरोसा गर्न सक्ने बनाउने र आवश्यक सेवा विस्तार गर्ने योजना रहेको बताउँदै सरोकारवाला सबैसँग सहयोगको आग्रह गरेका छन्।
नेपाल नियमित रक्तदाता संघ बुटवलद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले अस्पतालको रक्तसञ्चार केन्द्रलाई व्यवस्थित बनाइ रगतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
उनले सरकारले अघि सारेको सुशासन, छिटो सेवा प्रवाह, प्रविधिमैत्री सेवा र योग्य व्यक्तिलाई जिम्मेवारी दिने नीतिअनुसार आफू अगाडि बढ्ने बताए। साथै, अस्पतालभित्र जनशक्ति व्यवस्थापन र आवश्यक सुधार गर्ने योजना पनि रहेको उनले उल्लेख गरे।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, नेपाल नियमित रक्तदाता संघका कार्यवाहक अध्यक्ष लेखनाथ भण्डारी, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान लगायतले रक्तसञ्चार केन्द्र सञ्चालन र अस्पताल सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिकया दिनुहोस्