कसैका लागि रगत केही थोपा रातो तरल पदार्थ मात्र हुन सक्छ। तर अस्पतालको शय्यामा जीवन र मृत्युबीच संघर्ष गरिरहेको बिरामीका लागि त्यही रगत जीवनको अन्तिम आशा बन्न सक्छ। यही मानवीय संवेदनालाई जीवनको उद्देश्य बनाएका छन् कृष्ण चौहान क्षेत्रीले।
आफ्नो शरीरबाट रगत दिएर अरूको जीवन बचाउन सकिन्छ भन्ने विश्वासले सुरु भएको उनको यात्रा अहिले ९२ पटक रक्तदानसम्म आइपुगेको छ। रक्तदानलाई सामान्य सामाजिक गतिविधिका रूपमा सुरु गरेका क्षेत्रीका लागि अहिले यो जीवनको अभिन्न हिस्सा बनेको छ।
उनी रक्तदान गर्ने स्वयंसेवी रक्तदाता मात्र होइनन्, रक्तदाता अभियानलाई संस्थागत र व्यवस्थित बनाउने अभियानका अगुवासमेत हुन्। उनको बुझाइमा ९२ पटक रक्तदान गर्नु व्यक्तिगत उपलब्धि मात्रै होइन, हजारौँ बिरामी र तिनका परिवारसँग जोडिएको आशा, विश्वास र मानवताको यात्रा हो।
रक्तदानपछि कुनै बिरामीले नयाँ जीवन पाएको खबर सुन्दा आफूले गरेको कामको वास्तविक अर्थ महसुस हुने उनी बताउँछन्। विशेषगरी आकस्मिक अवस्थामा रगत नपाएर छटपटाइरहेका बिरामीका आफन्तले रगत उपलब्ध भएपछि व्यक्त गर्ने खुसी र धन्यवादका शब्द नै आफ्नो सबैभन्दा ठूलो पुरस्कार भएको उनको अनुभव छ।
तर क्षेत्रीका लागि रक्तदानको उपलब्धि आफूले कति पटक रगत दियो भन्ने तथ्याङ्क मा मात्र सीमित छैन। उनी भन्छन्, ‘रक्तदानको वास्तविक उपलब्धि आफूले कति पटक रक्तदान गरियो भन्ने होइन, आफूले कति मानिसलाई रक्तदान गर्न प्रेरित गर्न सकियो भन्ने हो।’
व्यक्तिगत सेवाबाट संस्थागत नेतृत्व सम्म
कृष्ण चौहान क्षेत्रीको सामाजिक सेवाको यात्रा पद र प्रतिष्ठा प्राप्त गर्ने उद्देश्यबाट सुरु भएको होइन। रक्तदाताको सेवामा निरन्तर सक्रिय रहँदै जाँदा जिम्मेवारी थपिँदै गएको हो।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाको स्थापना तथा सञ्चालन मा सक्रिय भूमिका निर्वाह गरेका उनी जिल्ला अध्यक्षको जिम्मेवारी हुँदै केन्द्रीय सदस्य बने।
अहिले उनी संस्थाको केन्द्रीय महासचिवको जिम्मेवारीमा छन्।जिल्ला देखि केन्द्र सम्मको यो यात्रालाई उनी व्यक्तिगत सफलता नभई रक्तदाता र समाजले दिएको विश्वासका रूपमा लिन्छन्।
रुपन्देहीमा संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। रक्तदान अभियानमा पुर्याएको योगदानका कारण नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबाट विभिन्न वर्षमा सम्मानित हुने अवसर पनि उनले पाएका छन्।
रक्तदाताको सहभागिता र सहकार्यमा रक्तदाता सहकारी संस्था स्थापना गरी रक्तसञ्चार सेवा सञ्चालन गर्ने उद्देश्यले समेत उनीहरू काम गरिरहेका छन्। यसले रक्तदान अभियानलाई कार्यक्रममुखी गतिविधिबाट दिगो संस्थागत संरचनातर्फ लैजाने प्रयासलाई संकेत गर्छ।
केन्द्रीय महासचिवका रूपमा उनको प्राथमिकता देशभरका स्वयंसेवी रक्तदातालाई एउटै अभियानमा जोड्नु, नयाँ रक्तदाता उत्पादन गर्नु, जिल्लास्तरका शाखाबीच समन्वय बढाउनु र रगतको अभाव भएका बेला तत्काल रक्तदाता परिचालन गर्न सक्ने राष्ट्रिय सञ्जाल निर्माण गर्नु हो।
रक्तदानमा अझै छन् भ्रम र व्यवस्थापनका चुनौती
नेपालमा रक्तदान अभियानले पछिल्ला वर्षमा सकारात्मक गति लिएको क्षेत्रीको मूल्याङ्कन छ। नेपाल रेडक्रस सोसाइटी, विभिन्न सामाजिक संघसंस्था, युवा, विद्यार्थी तथा स्वयंसेवी रक्तदाताको योगदानले रक्तदानप्रति जनचेतना बढेको छ।
तर आवश्यक परेको समयमा बिरामीले सहजै रगत पाउने अवस्था अझै पूर्ण रूपमा सुनिश्चित हुन सकेको छैन।
उनका अनुसार समस्या रक्तदान गर्ने मानिसको सङ्ख्यामा मात्र सीमित छैन। नियमित रक्तदानको व्यवस्थापन, रक्तसञ्चार सेवाको पहुँच, रगत सङ्कलन तथा वितरण प्रणाली र जनचेतनामा सुधार गर्नुपर्ने आवश्यकता छ।
समाजमा रक्तदान गरेपछि शरीर कमजोर हुन्छ, स्वास्थ्य बिग्रन्छ भन्ने भ्रम अझै कायम छ। यस्ता गलत धारणाले सम्भावित रक्तदातालाई रक्तदानबाट टाढा राखेको उनको अनुभव छ।
त्यसैगरी दुर्लभ रक्तसमूह भएका बिरामी, आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूति सेवाका बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउनु अर्को चुनौती हो।
यस्ता समस्या समाधानका लागि रक्तदानलाई कुनै विशेष दिवस वा औपचारिक कार्यक्रमसँग मात्र सीमित नराखी नियमित सामाजिक अभियान बनाउनुपर्ने उनी बताउँछन्।
रगतको अभाव हटाउन व्यवस्थापनमा सुधार आवश्यक
नेपालमा रगतको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न रक्तसञ्चार सेवाको व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने क्षेत्रीको धारणा छ।
आगामी दिनमा प्रत्येक जिल्लामा आवश्यकताअनुसार नियमित रक्तसङ्कलन कार्यक्र म सञ्चालन, स्वयंसेवी रक्तदाताको डिजिटल अभिलेख निर्माण, दुर्लभ रक्त समूह भएका रक्तदाताको छुट्टै विवरण तयार तथा अस्पताल, स्थानीय तह, विद्यालय, कलेज र सामाजिक संस्थाबीच सहकार्य विस्तार गर्नुपर्ने उनको सुझाव छ।
आकस्मिक अवस्थामा तत्काल रक्तदाता परिचालन गर्न सक्ने प्रभावकारी समन्वय प्रणाली विकास गर्नु पनि उत्तिकै आवश्यक छ।रगतको गुणस्तर, परीक्षण र सुरक्षित रक्तसञ्चार सेवालाई विशेष प्राथमिकता दिनुपर्ने उनको जोड छ।
यसका साथै नेपालमा रक्तसञ्चार सेवाको नियमन, नियन्त्रण र व्यवस्थापनको जिम्मेवारी पाएका निकायले विद्यमान नियम तथा कार्यविधिलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता पनि उनी औँल्याउँछन्।
उनका अनुसार रक्त अभाव हटाउने जिम्मेवारी कुनै एउटा संस्थाको मात्र होइन। नेपाल रेडक्रस सोसाइटी, स्वयंसेवी रक्तदाता समाज, अस्पताल, स्थानीय सरकार, शैक्षिक संस्था र आम नागरिक सबैको साझा दायित्व हो।
व्यक्तिगत समयभन्दा बिरामीको आवश्यकता ठूलो
सामाजिक सेवामा लाग्दा व्यक्तिगत र पारिवारिक जीवनमा समय व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको क्षेत्री बताउँछन्।
बिरामीलाई रगत आवश्यक परेको अवस्थामा उनी दिनभरि ब्लड बैंकमा बसेर सेवा गर्ने गर्छन्। कहिलेकाहीँ पारिवारिक तथा व्यक्तिगत कामभन्दा बिरामीको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने अवस्था आउँछ।
तर कसैको जीवन बचाउन सहयोग गर्न पाउँदा आफूले दिएको समयको सदुपयोग भएको महसुस हुने उनी बताउँछन्।
उनको विचारमा सामाजिक सेवा गर्न ठूलो आर्थिक हैसियत आवश्यक पर्दैन। इच्छाशक्ति, इमानदारी र सेवाभाव भएमा हरेक व्यक्तिले समाजमा योगदान गर्न सक्छ।
रक्तदानले अरूको जीवन बचाउन सहयोग गर्ने मात्र होइन, रक्तदान गर्ने व्यक्तिको जीवनलाई पनि उद्देश्यपूर्ण बनाउने उनको अनुभव छ।
नयाँ पुस्तालाई रक्तदानमा जोड्नुपर्ने
रक्तदान अभियानलाई दिगो बनाउन नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको क्षेत्रीको धारणा छ।१८ वर्ष पुगेका युवायुवतीले रक्तदानबारे सही जानकारी लिनुपर्ने र स्वास्थ्यका दृष्टिले योग्य भएपछि चिकित्सकीय मापदण्डअनुसार रक्तदान गर्नुपर्ने उनको आग्रह छ।
रक्तदान गर्न नसक्ने व्यक्तिले पनि रक्तदान कार्यक्रम आयोजना गरेर, रक्तदाता खोजेर वा जनचेतना फैलाएर अभियानमा योगदान गर्न सक्ने उनी बताउँछन्।
‘रक्तदानलाई डरको विषय होइन, गर्वको विषय बनाऔँ,’ नयाँ पुस्तालाई उनको सन्देश छ।
कुनै पनि बिरामीले रगत नपाएर ज्यान गुमाउन नपरोस्
क्षेत्रीको सपना स्पष्ट छ– कुनै पनि बिरामीले रगत नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस्। यसका लागि प्रत्येक स्वस्थ र योग्य नागरिकलाई नियमित रक्तदान गर्ने वातावरण निर्माण गर्नुपर्ने, जिल्लास्तरमा रक्तसञ्चार सेवा विस्तार गर्नुपर्ने तथा रक्तदाताको व्यवस्थित अभिलेख र अस्पतालबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ छ।
९२ पटक रक्तदान गरिसकेका क्षेत्रीले आफूले रक्तदान गरेका सबै बिरामी वा परिवारसँग प्रत्यक्ष सम्पर्क राख्न सम्भव नभएको बताउँछन्। तर कसैले रगत पाएर जीवन पाएको खबर सुन्दा उनलाई मिल्ने सन्तुष्टि नै निरन्तर सेवामा लाग्ने प्रेरणा बनेको छ।
रक्तदानले उनलाई मानवता, अनुशासन, सेवाभाव र सामाजिक जिम्मेवारी सिकाएको छ। यही यात्राले उनलाई व्यक्तिगत रक्तदाताबाट संस्थागत नेतृत्वसम्म पुर्याएको छ।
उनको ९२ पटकको रक्तदान केवल एउटा व्यक्तिगत कीर्तिमान होइन, समाजमा स्वयंसेवी रक्तदानको संस्कार विकास गर्नुपर्ने आवश्यकताको सन्देश पनि हो।
किनकि, कुनै व्यक्तिले दिएको रगत अर्को व्यक्तिका लागि जीवनको अन्तिम आशा बन्न सक्छ। रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भन्ने अभियानमा कृष्ण चौहान क्षेत्रीको यात्रा अझै जारी छ। कुराकानीमा आधारीत


प्रतिकया दिनुहोस्