एन्टिमाइक्रोबियल प्रतिरोध : समयमै सचेत बनौँ, औषधिको प्रभावकारिता जोगाऔँ

हामी मध्ये धेरैले सामान्य ज्वरो, रुघाखोकी वा अन्य स्वास्थ्य समस्या हुँदा छिटो निको हुने आशामा एन्टिबायोटिक औषधि प्रयोग गर्ने गर्छौँ।

कहिलेकाहीँ चिकित्सकको सल्लाहबिना नै औषधि किनेर खाने, अरूले प्रयोग गरेको औषधि प्रयोग गर्ने वा आफूलाई निको भएको महसुस भएपछि औषधि बीचमै छोड्ने बानी पनि हुन्छ।

यस्ता सामान्य देखिने लापरबाहीले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। यही विषयमा जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर १८ देखि २४ गतेसम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह मनाइन्छ।

एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) भनेको ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीजस्ता सूक्ष्मजीवहरूले आफूविरुद्ध प्रयोग गरिने औषधिको प्रभाव सहन सक्ने क्षमता विकास गर्नु हो।

यस्तो अवस्था आउँदा पहिले प्रभावकारी रहेका औषधिले पनि संक्रमण निको पार्न नसक्ने हुन सक्छन्। यसले सामान्य संक्रमणको उपचारसमेत कठिन बनाउँदै लैजान्छ।

यस समस्याको एउटा प्रमुख कारण एन्टिबायोटिकको अनावश्यक र गलत प्रयोग हो। सामान्य रुघाखोकी तथा भाइरल संक्रमणमा एन्टिबायोटिक प्रयोग गर्नु, चिकित्सक को सल्लाहबिना औषधि सेवन गर्नु र औषधिको मात्रा वा समय आफूखुसी परिवर्तन गर्नुले प्रतिरोधी ब्याक्टेरिया विकास हुन सहयोग पुर्‍याउँछ।

मानिसमा मात्र नभई पशुपन्छीमा औषधिको अनुचित प्रयोग र वातावरणमा औषधिजन्य फोहोरको गलत व्यवस्थापनले पनि यो समस्या बढाउन सक्छ।

AMR बढ्दै जाँदा निमोनिया, पिसाबको संक्रमण, घाउमा हुने संक्रमणलगायत विभिन्न रोगको उपचार चुनौतीपूर्ण बन्न सक्छ। बिरामी लामो समय अस्पताल बस्नुपर्ने, उपचार खर्च बढ्ने र प्रभावकारी औषधि उपलब्ध गराउन कठिन हुने अवस्था आउन सक्छ। यसले स्वास्थ्य सेवा प्रणालीमा समेत थप दबाब सिर्जना गर्छ।

यसको नियन्त्रणका लागि हामी सबैले आफ्नो व्यवहारमा केही सुधार गर्न आवश्यक छ। एन्टिबायोटिक चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्ने, अरूको औषधि आफूले नखाने, बाँकी रहेको औषधि पुनः प्रयोग नगर्ने र निर्धारित मात्रा तथा समय पालना गर्ने बानी बसाल्नुपर्छ।

साथै नियमित हात धुने, सरसफाइमा ध्यान दिने, खोप लगाउने र संक्रमण फैलिन नदिने उपाय अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। AMR नियन्त्रणमा स्वास्थ्य संस्थाको भूमिका पनि महत्त्वपूर्ण हुन्छ।

विशेषगरी प्रयोगशालामा गरिने कल्चर तथा एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षणले संक्रमण गराउने ब्याक्टेरिया पहिचान गर्न र कुन औषधि प्रभावकारी हुन सक्छ भन्ने जानकारी दिन मद्दत गर्छ।

त्यसैले सही नमुना संकलन, गुणस्तरीय परीक्षण र समयमै सही रिपोर्ट उपलब्ध गराउनु प्रयोगशालाको महत्त्वपूर्ण जिम्मेवारी हो। एन्टिमाइक्रोबियल प्रतिरोध कुनै एक व्यक्ति, अस्पताल वा देशको मात्र समस्या होइन।

मानिस, पशुपन्छी, वनस्पति र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएको हुन्छ। त्यसैले यसको नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक छ।

अन्त्यमा, एन्टिबायोटिक आजको उपचारका लागि मात्र होइन, भोलिका पुस्ताको स्वास्थ्य सुरक्षाका लागि पनि महत्त्वपूर्ण औषधि हो।

यसको प्रभावकारिता जोगाउने जिम्मेवारी चिकित्सक र स्वास्थ्यकर्मीको मात्र नभई हामी प्रत्येक नागरिकको पनि हो। सानो सावधानी र सही व्यवहारले भविष्यमा ठूलो स्वास्थ्य समस्याबाट बचाउन सक्छ।

आजैदेखि एन्टिबायोटिकको सही प्रयोग गरौँ, अनावश्यक औषधि सेवन रोकौँ र भावी पुस्ताका लागि प्रभावकारी औषधि जोगाऔँ।

सम्बन्धित शिर्षक :