लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० शय्याको एचडीयू सेवा सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० शय्या क्षमताको उच्च निर्भरता एकाइ (एचडीयू) सेवा सुरु भएको छ। शुक्रबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको सेवाबाट पहिलो दिन पाँच जना बिरामीले उपचार पाएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको शुभारम्भ गर्दै एचडीयू सञ्चालनले उपचार सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार दशैँपछि सेवा पूर्ण क्षमतामा सञ्चालन गरिनेछ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले एचडीयू सेवा सञ्चालनले बिरामीलाई गुणस्तरीय उपचार उपलब्ध गराउनुका साथै सघन उपचार कक्ष (आईसीयू) मा बिरामीको चाप घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले विशेष निगरानी आवश्यक पर्ने बिरामीलाई समयमै उपचार उपलब्ध गराउन एचडीयू सेवाले सहयोग गर्ने र अन्यत्र बिरामी पठाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको बताउनुभयो।

मेडिसिन विभागका प्रमुख डा. पुष्पराज जोशीका अनुसार आईसीयूमा राख्नुपर्ने अवस्था नभए पनि विशेष निगरानी र उपचार आवश्यक पर्ने बिरामीलाई एचडीयूमा राखेर उपचार गर्न सकिन्छ। यसले आईसीयूको चाप घटाउनुका साथै गम्भीर अवस्थाका बिरामीलाई आईसीयूमा उपचारको अवसर उपलब्ध गराउन मद्दत गर्नेछ।

कार्यक्रममा चिकित्सक, विभागीय प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको मेट्रोन नेहा थापाले जानकारी दिनुभयो।

 

सम्बन्धित शिर्षक :