स्वास्थ्यसमाचार/उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने गरी प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले नवलपरासीका दुई पानी उद्योगको उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ।
कार्यालयले २०८३ मंसिर ३ गते गरेको अनुगमनका क्रममा सुनवल नगरपालिका–७ स्थित एभरेष्ट वाटर इन्डस्ट्रिज र सुनवल–४ स्थित स्वस्तिक प्रोसेस्ड वाटर उद्योगमा गम्भीर लापरबाही भेटिएपछि उत्पादन तथा बिक्री वितरण रोक्का गरेको हो।
एभरेष्ट वाटर इन्डस्ट्रिजमा पानी प्रशोधनका लागि अनुपयुक्त भण्डारण सामग्री प्रयोग गरिएको, जार भर्ने स्थान र पाइप खुला तथा अस्वच्छ अवस्थामा राखिएको र पानी निसंक्रमणका लागि उपयुक्त विधि नअपनाइएको पाइएको कार्यालयले जनाएको छ।
उद्योगले अत्यन्त पुराना, कुच्चिएका र थोत्रा जार प्रयोग गरेको समेत भेटिएको थियो। अनुगमन टोलीले त्यस्ता अनुपयुक्त जार नष्ट गर्नुका साथै कमजोरी सुधार नगरेसम्म उत्पादन तथा बिक्री वितरण बन्द गर्न निर्देशन दिएको छ।
त्यस्तै, सुनवल–४ स्थित स्वस्तिक प्रोसेस्ड वाटर उद्योगमा पनि पानी निसंक्रमणका उपयुक्त विधि नअपनाइएको तथा जार भर्ने र सफा गर्ने स्थान एवं उपकरण उपयुक्त नभएको पाइएको छ। कार्यालयले कमजोरी सुधार नगरेसम्म उत्पादन तथा बिक्री वितरण रोक्का गरेको छ। उक्त उद्योगबाट प्रयोगशाला परीक्षणका लागि बोतलमा रहेको प्रशोधित पिउने पानीको नमुनासमेत संकलन गरिएको छ।
यसैबीच, रूपन्देहीको देवदह नगरपालिका–४ स्थित देवदह पेयजल उद्योगमा पनि कुच्चिएका, पुराना र कोत्रिएका अनुपयुक्त जार प्रयोग भएको भेटिएको छ। अनुगमन टोलीले त्यस्ता जार नष्ट गरी प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७५ बमोजिम उत्पादन तथा प्रशोधन गर्न निर्देशन दिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अनुसार अनुगमनका क्रममा उद्योगहरूमा पानी प्रशोधन, निसंक्रमण, सरसफाइ तथा भण्डारणसम्बन्धी मापदण्ड पालना नभएको पाइएको हो।
पिउने पानीको गुणस्तर र स्वच्छतामा लापरबाही हुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले उद्योगहरूले निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्ने कार्यालयले जनाएको छ।




प्रतिकया दिनुहोस्