समुदायमै एचआईभी परीक्षणको पहुँच बढाउन ६ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम

स्वास्थ्यसमाचार /एचआईभी संक्रमणको समयमै पहिचान, रोकथाम तथा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले बुटवलमा समुदायको नेतृत्वमा गरिने एचआईभी परीक्षण (कम्युनिटी लेड टेस्टिङ–सीएलटी) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ।

नागार्जुन डेभलपमेन्ट कम्युनिटी (एनडीसी) को आयोजना तथा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा सुरु भएको तालिमको अध्यक्षता प्रयोगशालाका निमित्त निर्देशक डा. सुवर्ण आचार्यले गर्नुभएको थियो।

एनडीसीका कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टको प्रमुख आतिथ्य तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापा, क्षयरोग तथा कुष्ठरोग वरिष्ठ अधिकृत टीकाराम अधिकारी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका फोकल पर्सन परशुराम पोखरेल र बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको आतिथ्यमा तालिम उद्घाटन गरिएको हो।

आप्रवासी तथा उनीहरूका परिवारलाई लक्षित एचआईभी रोकथाम कार्यक्रमअन्तर्गत समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका २८ जनाभन्दा बढी स्वास्थ्यकर्मी तथा कार्यक्रमसँग सम्बन्धित कर्मचारी सहभागी छन्। आउटरीच वर्कर, सामुदायिक स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, कार्यक्रम अधिकृत तथा अनुगमन र मूल्याङ्कनमा संलग्न कर्मचारीको सहभागिता रहेको छ।

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. सुवर्ण आचार्यले एचआईभी संक्रमणको समयमै पहिचान र रोकथामका लागि समुदायस्तरमै परीक्षण सेवाको पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा परीक्षण तथा सचेतना अभियान प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले एचआईभी संक्रमणबारे समाजमा अझै पनि लाञ्छना, विभेद र भ्रम कायम रहेकाले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो।

“एचआईभी संक्रमणलाई समयमै पहिचान गर्न सके संक्रमित व्यक्तिलाई आवश्यक परामर्श, उपचार र स्वास्थ्य सेवासँग जोड्न सहज हुन्छ। सामाजिक लाञ्छना र पर्याप्त जानकारीको अभावका कारण कतिपय व्यक्ति परीक्षणको पहुँचमा आउन सकेका छैनन्,” उहाँले भन्नुभयो।
थापाले समुदायमै पुगेर जनचेतना अभिवृद्धि गर्ने र परीक्षण सेवामा सबैको पहुँच सुनिश्चित गर्ने काममा स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

जिल्ला परियोजना अधिकृत अनिता तिमिल्सिनाले स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने वा परीक्षण गर्न हिचकिचाउने व्यक्तिसम्म समुदायमै पुगेर सूचना, परामर्श र परीक्षण सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो।

तालिममा एचआईभी तथा एड्सका आधारभूत तथ्य, राष्ट्रिय समुदायमा आधारित परीक्षण निर्देशिका, सेवाग्राहीको सहभागिता, प्रभावकारी सञ्चार सीप र समुदायमा परीक्षणका लागि सहज वातावरण निर्माण गर्ने विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी एचआईभी परीक्षण रणनीति तथा विधि, प्रारम्भिक परीक्षण र संक्रमण पुष्टि गर्ने परीक्षणबीचको भिन्नता, औँलाबाट रगतको नमुना सङ्कलन तथा द्रुत परीक्षण किटको प्रयोगबारे व्यावहारिक अभ्यास गराइनेछ।

परीक्षण सामग्रीको व्यवस्थापन, संक्रमण नियन्त्रण, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन, पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस (पीईपी), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन तयारीका विषय पनि तालिममा समेटिएका छन्। अन्तिम दिन एचआईभी स्वपरीक्षणसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइने आयोजकले जनाएको छ।

तालिमले समुदायस्तरमै परीक्षण सेवाको पहुँच विस्तार गर्दै एचआईभी संक्रमणबारेको भ्रम र सामाजिक लाञ्छना न्यूनीकरण गर्न तथा जोखिममा रहेका व्यक्तिलाई समयमै परीक्षण, परामर्श र उपचार सेवासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेशमा अनुमानित ६ हजार ४८८ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकले देखाएको छ।

सम्बन्धित शिर्षक :