एन्टिमाइक्रोबियल प्रतिरोध (Antimicrobial Resistance–AMR) आज विश्वव्यापी जनस्वास्थ्यका क्षेत्रमा देखा परेको गम्भीर चुनौतीमध्ये एक हो। संक्रमणजन्य रोगको उपचारमा प्रयोग हुने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल तथा एन्टिप्यारासाइटिकजस्ता औषधिहरूको प्रभावकारिता क्रमशः घट्दै जानु र सूक्ष्मजीवहरूले ती औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्नु नै एन्टिमाइक्रोबियल प्रतिरोध हो। यसले सामान्य संक्रमणको उपचारसमेत जटिल बनाउनुका साथै उपचार अवधि लम्ब्याउने, स्वास्थ्य सेवाको लागत बढाउने र बिरामीको मृत्युदरसमेत वृद्धि गर्ने जोखिम सिर्जना गर्दछ।
आधुनिक चिकित्साशास्त्रमा एन्टिमाइक्रोबियल औषधिहरूको विकासले संक्रमणजन्य रोगको उपचारमा अभूतपूर्व सफलता हासिल गरेको छ। शल्यक्रिया, अंग प्रत्यारोपण, क्यान्सर उपचार, सघन उपचार सेवा तथा गम्भीर चोटपटकको व्यवस्थापनलाई सुरक्षित बनाउन यी औषधिहरूको महत्वपूर्ण योगदान रहेको छ। तर, यिनै औषधिहरूको अनावश्यक, अव्यवस्थित र अनुचित प्रयोगले तिनको प्रभावकारितामाथि चुनौती थपिरहेको छ। यदि समयमै प्रभावकारी कदम चालिएन भने आज उपचारयोग्य मानिएका संक्रमणहरू भविष्यमा पुनः जटिल र जोखिमपूर्ण बन्न सक्नेछन्।
प्रतिजैविक औषधिको दुरुपयोग : प्रतिरोध विकासको प्रमुख कारक
एन्टिमाइक्रोबियल प्रतिरोध विकास हुनुको एउटा प्रमुख कारण औषधिको अनुचित प्रयोग हो। चिकित्सकीय परामर्शबिना एन्टिबायोटिक सेवन गर्ने, भाइरल संक्रमणमा समेत एन्टिबायोटिक प्रयोग गर्ने, आवश्यकताभन्दा फरक औषधि वा मात्रा प्रयोग गर्ने तथा उपचार अवधि चिकित्सकीय निर्देशनविपरीत परिवर्तन गर्ने अभ्यासले प्रतिरोध विकासलाई प्रोत्साहन गर्न सक्छ।
त्यसैगरी, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा संक्रमणको पहिचान र उपचारका लागि उपयुक्त परीक्षण नगरी व्यापक प्रभाव क्षेत्र भएका एन्टिबायोटिक प्रयोग गर्ने, औषधिको छनोटमा स्थानीय प्रतिरोधको अवस्थालाई बेवास्ता गर्ने तथा उपचारको नियमित समीक्षा नगर्ने प्रवृत्तिले पनि समस्या बढाउन सक्छ। अर्कोतर्फ, पशुपालन तथा कृषि क्षेत्रमा उत्पादन वृद्धि वा रोग नियन्त्रणका नाममा एन्टिमाइक्रोबियल एजेन्टहरूको अनावश्यक प्रयोगले प्रतिरोधी सूक्ष्मजीव तथा तिनका जीनको प्रसारलाई थप सहज बनाउँछ।
एन्टिमाइक्रोबियल प्रतिरोध कुनै एक बिरामी वा स्वास्थ्य संस्थामा सीमित रहने समस्या होइन। प्रतिरोधी सूक्ष्मजीव मानिस, जनावर, खाद्य पदार्थ, पानी, माटो तथा वातावरणमार्फत फैलिन सक्छन्। त्यसैले यसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको प्रयास मात्र पर्याप्त हुँदैन।
अस्पतालमा एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रमको आवश्यकता
एन्टिमाइक्रोबियल प्रतिरोध न्यूनीकरणका लागि स्वास्थ्य संस्थाहरूमा एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रम (Antimicrobial Stewardship Program–ASP) प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक छ। यस कार्यक्रमको मूल उद्देश्य बिरामीलाई आवश्यकताअनुसार उपयुक्त एन्टिमाइक्रोबियल औषधि, सही मात्रा, सही प्रयोग मार्ग र उपयुक्त अवधिका लागि उपलब्ध गराउनु हो।
अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगलाई व्यवस्थित बनाउन चिकित्सक, फार्मासिस्ट, नर्स, माइक्रोबायोलोजिस्ट, संक्रमण रोकथाम तथा नियन्त्रण टोली र अस्पताल प्रशासनबीच समन्वय आवश्यक हुन्छ। संक्रमणको प्रकृति, कल्चर तथा सेन्सिटिभिटी परीक्षणको नतिजा, स्थानीय एन्टिबायोग्राम, बिरामीको अवस्था र औषधिको सुरक्षा पक्षलाई आधार मानेर उपचार निर्णय लिनुपर्छ। उपचार सुरु गरेपछि बिरामीको अवस्थाअनुसार औषधिको प्रभावकारिता समीक्षा गर्ने, आवश्यक परे औषधि परिवर्तन वा साँघुरो प्रभाव क्षेत्र भएको औषधिमा रूपान्तरण गर्ने तथा उपचार अवधि निर्धारण गर्ने अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ।
विशेषगरी सघन उपचार कक्ष, आकस्मिक सेवा, शल्यक्रिया तथा गम्भीर संक्रमणको उपचार हुने अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग अझ महत्वपूर्ण हुन्छ। संक्रमण रोकथाम तथा नियन्त्रणका मापदण्ड, हातको स्वच्छता, सुरक्षित उपकरण प्रयोग, वातावरणीय सरसफाइ र बिरामीको उचित आइसोलेसनजस्ता उपायहरूले संक्रमणको प्रसार कम गरी एन्टिमाइक्रोबियल औषधिको आवश्यकतालाई समेत घटाउन सहयोग पुर्याउँछन्।
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणमा फार्मासिस्टको भूमिका
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणमा फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित छैन। औषधिको छनोट, उपलब्धता, गुणस्तर, भण्डारण, वितरण, प्रयोगको निगरानी तथा बिरामी परामर्शसम्म फार्मेसी सेवाको महत्वपूर्ण योगदान रहन्छ।
फार्मासिस्टले चिकित्सकसँग सहकार्य गरी एन्टिमाइक्रोबियल औषधिको उचित प्रयोग सुनिश्चित गर्न, औषधिको मात्रा तथा उपचार अवधिसम्बन्धी त्रुटि पहिचान गर्न र औषधिको प्रयोगसम्बन्धी तथ्याङ्क संकलन तथा विश्लेषण गर्न सक्छन्। त्यस्तै, बिरामी तथा सेवाग्राहीलाई चिकित्सकीय निर्देशनअनुसार औषधि सेवन गर्न, आफैँ औषधि सुरु वा परिवर्तन नगर्न र बाँकी रहेको एन्टिबायोटिक अरूलाई प्रयोग गर्न नदिन आवश्यक परामर्श दिनुपर्छ।
अस्पतालको फार्मेसी विभागले एन्टिमाइक्रोबियल औषधिको खरिद तथा मौज्दात व्यवस्थापन गर्दा आवश्यकताको मूल्याङ्कन, औषधिको खपत विश्लेषण, म्याद समाप्त हुने अवस्थाको निगरानी र औषधिको नियमित उपलब्धता सुनिश्चित गर्नुपर्छ। औषधिको प्रयोगसम्बन्धी अभिलेख तथा तथ्याङ्कको विश्लेषणले अनावश्यक प्रयोग पहिचान गर्न र सुधारका उपाय तय गर्न सहयोग पुर्याउँछ। यसका साथै, औषधि प्रयोग मूल्याङ्कन (Drug Utilization Evaluation–DUE) तथा एन्टिमाइक्रोबियल स्टेवार्डसिप गतिविधिमा फार्मासिस्टको सक्रिय सहभागिता आवश्यक छ।
यसर्थ, सक्षम र सक्रिय फार्मेसी सेवा प्रभावकारी एन्टिमाइक्रोबियल स्टेवार्डसिपको महत्वपूर्ण आधार हो। चिकित्सक, फार्मासिस्ट र अन्य स्वास्थ्यकर्मीबीचको सहकार्यले मात्र बिरामीको उपचार परिणाम सुधार गर्नुका साथै उपलब्ध एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता दीर्घकालसम्म संरक्षण गर्न सकिन्छ।
‘वन हेल्थ’ अवधारणा: साझा समस्याको साझा समाधान
एन्टिमाइक्रोबियल प्रतिरोधको नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणलाई एकीकृत रूपमा हेर्ने ‘वन हेल्थ’ (One Health) अवधारणा अत्यन्त महत्वपूर्ण छ। मानिस र जनावरमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधि, कृषि उत्पादनमा हुने प्रयोग तथा वातावरणमा पुग्ने औषधिजन्य अवशेषले प्रतिरोध विकास र प्रसारमा योगदान पुर्याउन सक्छन्।
पशुपालनमा पशु चिकित्सकको सल्लाहबिना एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्ने, कृषि तथा खाद्य उत्पादनमा अनुचित प्रयोग गर्ने र औषधिजन्य अवशेष तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अभ्यासलाई नियन्त्रण गर्न आवश्यक छ। यसका लागि स्वास्थ्य, पशु सेवा, कृषि, वातावरण तथा औषधि नियमनसम्बन्धी निकायबीच नीतिगत समन्वय, नियमित निगरानी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।
‘वन हेल्थ’ अवधारणाले एन्टिमाइक्रोबियल प्रतिरोध कुनै एक क्षेत्रको मात्र जिम्मेवारी नभई सबै क्षेत्रको साझा चुनौती हो भन्ने सन्देश दिन्छ। त्यसैले यसको नियन्त्रणका लागि सरकार, स्वास्थ्य संस्था, औषधि व्यवसायी, पशु चिकित्सक, किसान, अनुसन्धानकर्ता तथा सर्वसाधारण सबैको सहभागिता अपरिहार्य छ।
अबको आवश्यकता : नीतिगत प्रतिबद्धतादेखि व्यवहार परिवर्तनसम्म
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणका लागि जनचेतना अभिवृद्धि मात्र पर्याप्त हुँदैन; प्रभावकारी नीति, नियमन, निगरानी, अनुसन्धान र कार्यान्वयन पनि आवश्यक छन्। स्वास्थ्य संस्थामा एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रमलाई संस्थागत गर्ने, प्रयोगसम्बन्धी तथ्याङ्क संकलन गर्ने, प्रतिरोधको अवस्थाको नियमित निगरानी गर्ने, प्रयोगशाला सेवाको क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्यकर्मीको निरन्तर व्यावसायिक क्षमता विकास गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ।
त्यसैगरी, औषधि बिक्री तथा वितरणमा विद्यमान कानुनी व्यवस्थाको पालना, चिकित्सकीय सल्लाहबिना एन्टिमाइक्रोबियल औषधिको प्रयोग निरुत्साहन र समुदायस्तरमा औषधिको जिम्मेवार प्रयोगसम्बन्धी शिक्षा विस्तार गर्नुपर्छ। शैक्षिक संस्था, सञ्चारमाध्यम तथा स्थानीय समुदायको सहभागिताले यस अभियानलाई थप प्रभावकारी बनाउन सक्छ।
विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह २०२६ (१८–२४ नोभेम्बर) ले यसै साझा जिम्मेवारीलाई पुनः स्मरण गराउँछ। यस वर्षको ‘एक स्वास्थ्य, एक अभियान’ भन्ने सन्देशले मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणबीचको अन्तरसम्बन्धलाई आत्मसात् गर्दै सामूहिक प्रयासमार्फत प्रतिरोधको रोकथाम गर्न आह्वान गर्दछ।
अन्ततः एन्टिमाइक्रोबियल औषधि केवल आजको उपचारका साधन मात्र होइनन्, भविष्यका पुस्ताका लागि पनि सुरक्षित राख्नुपर्ने अमूल्य स्वास्थ्य सम्पत्ति हुन्। यसको प्रभावकारिता संरक्षण गर्नु स्वास्थ्यकर्मीको व्यावसायिक दायित्व, स्वास्थ्य संस्थाको संस्थागत जिम्मेवारी र प्रत्येक नागरिकको सामाजिक उत्तरदायित्व हो। जिम्मेवार प्रयोग, प्रभावकारी निगरानी र बहुक्षेत्रीय सहकार्यबाट मात्र एन्टिमाइक्रोबियल प्रतिरोधको चुनौतीलाई न्यूनीकरण गर्न सकिन्छ।
आजको जिम्मेवार प्रयोग, भोलिको प्रभावकारी उपचार!
(फार्मेसी विभाग प्रमुख) राष्ट्रिय ट्रमा सेन्टर, महांकाल काठमाडौं


प्रतिकया दिनुहोस्