कांग्रेस लुम्बिनीको महिला महामन्त्रीमा स्वास्थ्यकर्मी अन्जना पाण्डेको उम्मेदवारी

स्वास्थ्यसमाचार/ नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्री पदका लागि अन्जना पाण्डेले उम्मेदवारी प्रस्तुत गरेकी छन्। विद्यार्थी राजनीतिदेखि स्वास्थ्य सेवा, शिक्षण र सामाजिक क्षेत्रमा अनुभव हासिल गरेकी पाण्डेले पार्टीमा नयाँ पुस्ताको प्रतिनिधित्व, महिला नेतृत्वको सशक्तीकरण र संगठनको रूपान्तरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी अघि सारेकी हुन्।

राजनीतिक परिवारमा हुर्किएकी पाण्डे कक्षा ९ मा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय भएकी हुन्। बालकुमारी नर्सिङ क्याम्पसमा नेविसंघको जिम्मेवारी सम्हाल्दै विद्यार्थी नेतृत्वमा सक्रिय भूमिका निर्वाह गरेकी उनले त्यसपछि ब्याचलर इन नर्सिङ पूरा गरिन्।

नर्सिङ सुपरभाइजरका रूपमा काम गरेकी पाण्डेले शिक्षण क्षेत्रमा समेत अनुभव हासिल गरेकी छन्। उच्च शिक्षाका लागि बेलायत पुगेकी उनी करिब सात वर्ष त्यहाँ रहिन्। सोही क्रममा बेलायतस्थित एज हिल विश्वविद्यालयबाट पब्लिक हेल्थ म्यानेजमेन्टमा स्नातकोत्तर पूरा गरिन्।

नेपाल फर्किएपछि समाजशास्त्रमा समेत स्नातकोत्तर गरेकी उनी हाल कानून विषयमा एलएलबी अध्ययनरत छिन्। स्वास्थ्य, समाजशास्त्र र कानूनको अध्ययन तथा अन्तर्राष्ट्रिय अनुभवले सामाजिक समस्या, सार्वजनिक सेवा र नीतिगत विषयलाई फराकिलो दृष्टिकोणबाट बुझ्न सहयोग पुगेको उनको भनाइ छ।

राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकी पाण्डेले प्रदेशको स्वास्थ्य विभाग प्रमुखका रूपमा समेत काम गरेकी छन्। उक्त जिम्मेवारीमा रहँदा प्रदेशस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम तथा गतिविधिको योजना, समन्वय र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।

विद्यार्थी राजनीति, स्वास्थ्य क्षेत्रको व्यावसायिक अनुभव, शिक्षण, सामाजिक सेवा र अन्तर्राष्ट्रिय शैक्षिक तथा सामाजिक वातावरणमा हासिल गरेको अनुभवलाई अब पार्टी संगठनको नेतृत्वमा उपयोग गर्ने उनको लक्ष्य छ।

नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्न शिक्षित तथा बौद्धिक युवाको सहभागिता बढाउनुपर्ने र महिलालाई पार्टीको नेतृत्व तहमा अर्थपूर्ण स्थान दिनुपर्ने उनको धारणा छ। पार्टी संगठनलाई थप गतिशील, जिम्मेवार र जनतासँग जोडिएको बनाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको पाण्डे बताउँछिन्।

नयाँ पुस्ताको सोच, अनुभव र क्षमतालाई पार्टीको संगठनात्मक संरचनामा स्थापित गर्दै कांग्रेसलाई थप सशक्त बनाउने संकल्पसहित पाण्डे लुम्बिनी प्रदेशको महिला महामन्त्री पदको प्रतिस्पर्धामा उत्रिएकी छन्।

सम्बन्धित शिर्षक :